५० प्रतिशत नेपाली आवेदक पर्यटक भिसामा अमेरिका, कागजीप्रकृया घटेपछि झन् मुस्किल


प्रकाशित मिति : माघ ८, २०७३ शनिबार

-किशोर पन्थी

अमेरिकाको पर्यटक भिसाका लागि कागजपत्र वा निमन्त्रणापत्र नचाहिने भन्दै काठमाडौंस्थीत अमेरिकी दूतावासले नयाँ व्यवस्था गरेपछि अमेरिकाको पयर्टक भिसाका लागि आवेदन दिने नेपालीहरु ह्वात्तै बढेका छन् । कागजी प्रकृया घटेपछि नेपालीहरुलाई भिसा प्रकृया सहज भएको र भिसा पाउन सहज भएको भन्दै कतिपय संचारमाध्यमहरुमा समाचार आउन थालेपछि भिसाका लागि आवेदन दिने नेपालीहरुको दर बढेको थियो । तर उच्चदरमा नेपालीहरुले पर्यटक भिसाका लागि आवेदन दिएपनि भिसा पाउने नेपालीहरुको दर भने विगतको तुलनामा ह्वात्तै घटेको छ ।

नेपालीहरुले नक्कली भिसाका लागि नक्कली कागजात बनाएर दूतावासमा पेश गर्ने क्रम तीब्र बनेपछि काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक र विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाएको थियो । कन्सल्टेन्सीहरुमार्फत नक्कली कागजात बनाउने र पर्यटक भिसाका लागि अमेरिकाबाट मोटो रकममा निमन्त्रणापत्र पठाएर क्रम तीब्र भएपछि कागजी पक्रिया घटाइएपछि पर्यटक भिसाका लागि आवेदन दिनेहरु बढेका हुन् । तर आर्थिक बर्ष २०१६ मा आवेदक नेपालीहरुमध्ये जम्मा ५० दशमलव ४६ प्रतिशत नेपालीहरुलेमात्र पर्यटक भिसा प्राप्त गरेका छन् ।

अमेरिकाको भिसाका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस्

गत जेठ १९ गतेबाट लागु हुने गरी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदका लागि कागजी प्रकृया घटाएको थियो । आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउन भन्दै दूतावासले बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु नपर्ने व्यवस्था गरेपछि ठूलो संख्यामा नेपालीहरुले उत्साहित हुँदै पर्यटक भिसाका लागि आवेदन दिएका थिए । पर्यटक भिसाको तुलनामा अमेरिकाको विद्यार्थी भिसा पाउनेहरुको दर अझ न्यून रहेको छ । कागजी प्रकृया घटेपछि भिसा पाउन सहज होइन, झन् मुस्किल तथ्य अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा अस्वीकृत दर तथ्यांकले पुष्टी गरेको छ ।

आर्थिक बर्ष सन् २०१६ मा अमेरिकाको भिजिटर अर्थात् बी भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये भिसा पाउने नेपालीहरुको प्रतिशत दर विगत पाँचबर्षकै कम हो । आर्थिक बर्ष २०१५ मा पर्यटक भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये ५७ दशमलव ८१ प्रतिशत र २०१४ मा ६१ दशमलव ८ प्रतिशतले भिसा प्राप्त गरेका थिए । त्यस्तै सन् २०१३ मा भने ५३ दशमलव ६ प्रतिशत आवेदकले पर्यटक भिसा प्राप्त गरेका थिए । सन् २०१२ मा ५० दशमलव ६ प्रतिशतले अमेरिकाको पर्यटक भिसा प्राप्त गरेका थिए, जुन सन् २०१६ भन्दा थोरैले बढी हो । सन् २०११ मा भने ४० दशमलव १ प्रतिशत आवेदकलेमात्र अमेरिकी दूतावासबाट पर्यटक भिसा प्राप्त गरेका थिए । त्यस्तै सन् २०१० मा ४१ दशमलव ७ प्रतिशतले, सन् २००९ मा ४० दशमलव ९ प्रतिशतले, सन् २००८ मा ४८ दशमलव ८ प्रतिशतले, सन् २००७ मा ४४ दशमलव ९ प्रतिशतले र सन् २००६ मा ४४ दशमलव ७ प्रतिशत नेपाली आवेदकहरुलेमात्र अमेरिकाको पर्यटक भिसा पाएका थिए ।

यसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा

बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै आवेदकहरु विज्ञ नै छन् । दोश्रो चरणमा आवेदकका लागि दूतावास वा कन्सुलेट कार्यालयमा अन्तरवार्ताको मिति तय गरिन्छ । यही चरणमा आवेदकले भिसा शुल्क पनि बुझाउनुपर्छ । विश्वका ६ वटा देशमा आवेदकले औंठाछाप दिनका लागि छुट्टै ठाउमा अप्वाइन्टमेन्ट तय गर्नुपर्ने भएपनि नेपाल लगायतका अधिकांश देशमा भने अन्तरवार्ताकै बेलामा औंठाछाप लिइन्छ ।

तेश्रो चरणमा आवेदक अन्तरवार्ताका लागि दूतावास वा कन्सुलेटमा उपस्थीत हुनुपर्छ । त्यसक्रममा आवेदकको औंठाछाप र पूरै अनुहारको तस्विर लिइन्छ । यो लिने अधिकारी स्पष्ट रुपमा अमेरिकी नागरिक हुन्छन् । त्यसपछिको चरणमा कन्सुलर अधिकारीले आवेदकको अन्तरवार्ता लिन्छन् । अन्तरवार्ता लिइरहदा कन्सुलर अधिकारीले त्यो भन्दा पनि महत्वपूर्ण अर्को काम समेत गरिरहेका हुन्छन् । अमेरिकी सरकारले तयार गरेको विभिन्न खालका डाटाबेसहरुमा कन्सुलर अधिकारीले आवेदकको नाम, औंठाछाप र तस्विर भिडाउँछन् ।

यसरी भिंडाउँदा अमेरिकी सरकारसँग भएका डाटाहरुमा आवेदकको नाम, तस्विर वा औंठाछाप मिलेमा कुन आधारमा मिलेको छ त्यसै आधारमा आवेदकको भिसा अस्वीकार गरिन्छ । त्यो प्रणालीमा उत्तिर्ण हुनेलाई कन्सुलर अधिकारीले अन्तरवार्ताका आधारमा भिसा जारी गर्ने निर्णय गर्छन् । डाटाबेसमा भिडाउँदा कुनै समस्या नभएपनि कन्सुलर अधिकारीले अन्तरवार्ताका आधारमा भिसा अस्वीकार गर्न पनि सक्छन् । भिसा अस्वीकार गरेमा अस्वीकार हुनुको कारणसहित पासपोर्ट फिर्ता दिइन्छ । भिसा पाउने भएमा कन्सुलर अधिकारीले पासपोर्ट राख्छन् र भिसा प्रिन्ट गरेर पासपोर्टमा टाँसेपछि केही दिनमा पासपोर्ट आवेदकलाई फिर्ता दिइन्छ ।

यदि डाटाबेसमा भिडाउने क्रममा थप आशंका लागेमा त्यस्ता आवेदकहरुलाई प्रशासकीय प्रकृया वा फ्रड आशंकामा लगिन्छ । प्रशासकीय प्रकृयामा लगिएका आवेदनहरुउपर अधिकारीहरुले पृष्ठभूमी परिक्षणका थप अनुसन्धानहरु गर्छन् । फ्रडको आशंकामा लगिएका आवेदनहरुउपर भने फ्रड नियन्त्रण युनिटले थप अनुसन्धान गर्नुका साथै आवेदकको थप पृष्ठभूमी परिक्षण समेत गर्छन् । त्यसपछि कतिपयलाई भिसा जारी गरिन्छ भने कतिपयको भिसा अस्वीकृत हुन्छ ।
काठमाडौं दूतावासबाट सन् २०१५ सम्म जारी गैरआप्रवासी भिसा

आर्थिक वर्ष सन् २०१५ मा १९ हजार ४९ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट गैरआप्रवासी भिसा पाएका थिए । त्यस्तै सन् २०१४ मा १२ हजार ४ सय ४२ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट गैर आप्रवासी भिसा पाएका थिए । सन् २०१३ मा ९ हजार २ सय ४७ जनाले काठमाडौंबाट अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए भने सन् २०१२ मा ८ हजार ४ सय ३८ जनाले गैरआप्रवासी भिसा पाए । सन् २०११ मा ८ हजार ३७, सन् २०१० मा ८ हजार २ सय ७७ र सन् २००९ मा ९ हजार १ सय ६७ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको गैर आप्रवासी भिसा पाए । सन् २००८ मा १४ हजार २ सय २७ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको गैर आप्रवासी भिसा पाए, जुन संख्या सन् २०१५ पछि सबैभन्दा उच्च हो । त्यस्तै सन् २००७ मा १० हजार ९ सय ७३ जना र सन् २००६ मा ९ हजार ८ सय ९० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए ।

काठमाडौं दूतावासबाट जारी आप्रवासी भिसा

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट गैरआप्रवासी भिसाका तुलनामा आप्रवासी भिसा भने निकै कम जारी हुने गरेको छ । अमेरिकामा स्थायी रुपमा नै बसोबास गर्न आउनेहरुका लागि दूतावासले आप्रवासी भिसा जारी गर्दै आएको छ । डिभी लोटरी परेर आउनेहरुदेखि अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुका आफन्तहरु लगायतले आप्रवासी भिसा पाउने गरेका छन् ।

आर्थिक बर्ष सन् २०१६ मा ६ हजार ४ सय ४४ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमध्ये नजिकको नातेदार भएको आधारमा अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीहरु २१६७ जना छन् भने डिभी लोटरी परेर भिसा पाउनेहरु ३२१० जना रहेका छन् । सन् २०१५ मा ५ हजार ७ सय ११ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका थिए जसमध्ये काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट ५ हजार ६ सय ६१ जनाले आप्रवासी भिसा पाएका थिए ।

अमेरिकी दूतावासबाट जारी आप्रवासी भिसा संख्या हेर्दा हरेक वर्ष अमेरिकामा स्थायी रुपमा बसोबास गर्नेगरी नेपालबाट अमेरिका आउनेहरुको संख्या बढ्दो रहेको छ । आर्थिक वर्ष सन् २०१४ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासले ४ हजार ९ सय ९६ जनाका लागि आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै सन् २०१३ मा ४ हजार ८ सय ७०, सन् २०१२ मा ३ हजार २ सय ३१, सन् २०११ मा ३ हजार २ सय ६३ र सन् २०१० मा ३ हजार ५९ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै सन् २००९ मा २ हजार २ सय १०, सन् २००८ मा २ हजार ४ सय ७८, सन् २००७ मा १ हजार ७ सय ८२ र सन् २००६ मा २ हजार ५ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेको थियो । यसरी हेर्दा नेपालबाटै अमेरिकाको स्थायी बासिन्दा हुनेगरी आप्रवासी भिसामा अमेरिका आउनेहरुको संख्या १० वर्षमा ३३ हजार ५ सय ५५ रहेको छ ।

कति नेपालीहरु घुम्न आउछन् अमेरिका ?

सन् १९९७ देखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा हरेक वर्ष ३५ सय देखि १५ हजारसम्मको हाराहारीमा नेपालीहरु भिजिटर भिसामा अमेरिका आउने गरेका छन् । गैर आप्रवासी भिसामा अमेरिका आउने नेपालीहरुको तथ्यांक अनुसार सबैभन्दा बढी नेपालीहरु अमेरिकामा भिजिटर भिसामा नै आउने गरेका छन् । त्यसपछि विद्यार्थी्भिसामा नेपालीहरु अमेरिकामा आउने गरेका छन् । सन् १९९७ मा ३५ सय ५१ जना नेपालीहरु अमेरिकामा भिजिटर भिसामा घुम्न आएका थिए ।

सन् १९९८ मा ८ हजार २ सय ८ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै नेपालीहरु पर्यटक भिसामा अमेरिकामा आएको सन् १९९८ मा नै हो । सन् १९९९ मा ३६ सय ८४ जना नेपालीहरु भिजिटर भिसामा अमेरिकामा आएका थिए । त्यस्तै सन् २००० मा ३९ सय ५७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिकामा आए भने सन् २००१ मा ३ हजार ९ सय २५ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आए ।

त्यस्तै सन् २००२ मा ३८ सय ६७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । सन् २००३ मा यो संख्या घटेर ३४ सय २१ मा झरेको थियो । त्यसपछि सन् २००४ मा भिजिटर भिसामा अझ थोरै अर्थात् जम्मा ३१ सय ७१ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । सन् २००५ मा भने ३७ सय ७७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आए । यसरी ठूलो संख्यामा भिजिटर भिसामा अमेरिकामा आउनेहरुमध्ये नफर्कने नेपालीहरुको संख्या पनि निकै ठूलो रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com