विद्यार्थी भिसामा नेपाल गएका जापानी दम्पती धर्म प्रचारको आरोपमा पक्राउ


प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार

भिसा प्रयोजन विपरीत काम गरेको र क्रिश्चियन धर्मको प्रचारप्रसार गरेकाे आराेपमा दुईजना विदेशी नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जापानका ४१ वर्षीय मेर्सिया माशाहिरो (राहदानी नम्बर ‘टिके २४८५६००) र ३६ वर्षीया युकारी हासीमोटो (राहदानी नम्बर ‘टिके ९७३२५२) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। माशाहिरो र हासिमोतो श्रीमान श्रीमती हुन्।

पोखरास्थित शिवशक्ति क्याम्पसको बिए प्रथम वर्षमा अध्ययनका लागि भन्दै विद्यार्थी भिसामा जापानबाट नेपाल आएका उनीहरु रुपन्देहीको सालझण्डीस्थित घरभाडामा बस्दै आएका थिए। भिसा प्रयोजन विपरीत बसेर क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेको जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।

यसअघि पनि उनीहरुले धर्म प्रचारप्रसार गर्न नेपाल आएको खुलेको छ। तर पक्राउ भने परेका थिएनन्। प्रहरीले सैनामैना नपा १० सालझण्डीस्थित उनीहरु बस्दै आएको घरभाडाका घरधनी धुव्र नारायण भट्टराईलाई पनि पक्राउ गरेको छ।

घरको माथिल्लो तल्लामा पक्राउ परेका जापानी नागरिक बस्दै आएको र तल्लो तल्लामा क्रिश्चियन धर्मसम्बन्धी प्रवचन गरिँदै आएको छ। पक्राउ परेका विदेशी नागरिकको कोठाबाट क्रिश्चियन धर्मको प्रचारप्रसारका लागि आवश्यक पर्चा पम्पेलटलगायतका कागजपत्र बरामद भएको एसपी थापाले बताए। पक्राउ परेका भट्टराईमाथि अभद्र व्यवहार मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर अन्नपूर्ण पोष्टका लागि सलमान खानले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com