फेसबुक चलाउन प्रतिबन्ध


प्रकाशित मिति : माघ ७, २०७३ शुक्रबार

पछिल्लो समय नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या निकै बढेको छ । नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाउने हो भने सानोतिनो आन्दोलन नहोला भन्न सकिन्न । तर, विश्वमा त्यस्ता देश छन् जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । केही त्यस्ता देशमा फेसबुकमाथि लागेको प्रतिबन्ध केही समयमा हटाइएको पनि छ । तर, अझै पनि केही देश छन् जहाँ फेसबुक चलाउनै पाइँदैन ।

दक्षिण एसियाली देश पाकिस्तानमा पनि फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । सन् २०१० मा जब फेसबुकमा धार्मिक गुरु पैगम्बर मोहम्मदको नाममा एउटा फेसबुक पेज बन्यो, तब पाकिस्तान सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाउने निर्णय ग-यो । खासमा यो प्रतिबन्धचाहिँ त्यो पेज बनेकाले मात्रै लागेको पनि थिएन । त्यो पेजले पैगम्बरको कार्टुन र तस्बिर मागेर एउटा प्रतियोगिता सञ्चालन गरेपछि पाकिस्तान सरकारले यो कदम लिएको थियो । दुई साता लागेको प्रतिबन्ध पाकिस्तानले फुकुवा त गर्‍यो, तर अहिले पनि धार्मिक पेज वा तस्बिर केही पाकिस्तानबाट सञ्चालन गरेको पाइयो भने त्यो तुरुन्त ब्लक गरिन्छ ।

त्यस्तै, उत्तर कोरियाले पनि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । यसमाथि प्रतिबन्ध लगाउनुको कारणबारे उत्तर कोरियाले भनेको छ– देशको गोप्यता बाहिर नजाओस् भनेर यस्तो निर्णय गरिएको छ ।

उता, इरानमा पनि सन् २००९ मा फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यहाँ भएको निर्वाचनलगत्तै लागेको यो प्रतिबन्ध ४ वर्षपछि हटाइयो । तर, इरान सरकारले फेसबुकमाथिको प्रतिबन्ध हटाउँदा कुनै सूचना दिएन । अर्को देश भियतनाममा पनि फेसबुकविरुद्ध प्रतिबन्ध लागेको थियो । सन् २०१६ मा देशमा भएको विरोध र त्यसबारे फेसबुकमा भएको प्रचारका कारण यो प्रतिबन्ध लगाइएको थियो । तर, दुई साता नबित्दै फुकुवा गरिएको थियो । इजिप्टमा पनि राष्ट्रपति मुबारकविरुद्धको आन्दोलनमा फेसबुक प्रयोगकर्ता निकै बढेपछि प्रतिबन्ध लगाइएको थियो ।

राष्ट्रपतिबारे कसैले पनि गलत कुरा वा व्यंग्य नगरोस् भन्ने उद्देश्यले सन् २०१२ को नोभेम्बरमा ताजिकिस्तानले फेसबुकमाथि लगाएको प्रतिबन्ध त निकै लामो समय पनि कायम रहेको थियो । सरकारबारे बारम्बार विरोधका कुरा पोस्ट हुन थालेपछि नेपालको छिमेकी चीनले पनि फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । अहिले चीनमा पर्यटकले मात्र फेसबुक प्रयोग गर्न पाउँछन् ।

क्युबामा चाहिँ फेसबुकमाथि पूर्ण रूपमा प्रतिबन्ध त लगाइएको छैन, तर फेसबुक चलाउन चाहनेले त्यहाँ साइबर क्याफेमै पुग्नुपर्छ । बंगलादेशले पनि केही समयका लागि फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो ।नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com