नेताहरुलाई उत्पादनको ज्ञान


प्रकाशित मिति : माघ ३, २०७३ सोमबार

नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगार एवं स्वरोजगारसम्बन्धी जानकारीमूलक अभिमुखीकरण तालीम दिएको छ । पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेण्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेको बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको हो ।

त्यस्तै देशको आर्थिक विकासमा टेवा पुग्ने गरी नयाँ शक्तिले देशका विभिन्न क्षेत्रहरुमा उत्पादन एवं निर्माणसम्बन्धी कार्यहरु गर्ने योजनासमेत बनाएको छ । पार्टीको उत्पादन तथा रोजगार/स्वरोजगार अभियान समन्वय समितिले सोमबार काठमाडौंमा गरेको एक अभिमुखीकरण कार्यक्रममा उत्पादन तथा रोजगारसम्बन्धी अवधारणा ल्याएको हो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले मूलतः विकास र समृद्धिलाई नै लक्ष्य बनाएकोले त्यो लक्ष्य हासिल गर्नका लागि आर्थिक विकास र समृद्धिको कार्ययोजनामा नमूनायोग्य काम गर्नुपर्ने बताए ।

उनले पार्टीले लिएको उत्पादन, निर्माण र रोजगारसम्बन्धी नीतिको मनशाय प्रट्याउँदै त्यसले पार्टीमा क्रियाशील नेता तथा कार्यकर्ताहरुलाई व्यवसायिक कामप्रति अभ्यस्त बनाउने र त्यसबाट आम जनतामा उत्पादनसम्बन्धी पार्टीको कार्यशैली प्रति थप विश्वास आर्जन गराउने रहेको बताए ।

उनले देशको आर्थिक विकासका लागि कृषिको आधुनिकीकरण एवं वैज्ञानिकीकरण, उद्योग कलकारखाना, पर्यटन, उर्जा क्षेत्रको विकास मुख्य आधार भएको बताए ।

उनले विकासका पूर्वाधारजन्य क्षेत्रहरुमा राज्यले लगानी अभिवृद्धि गर्ने र कृषि, पर्यटन, उद्योग, व्यापार आदि क्षेत्रहरुमा निजी क्षेत्र संलग्न भएर अर्थतन्त्रलाई गति प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ शक्तिको पहलमा संचालन गरिने उत्पादन, निर्माण तथा रोजगारकेन्द्रीत कार्यक्रमहरु देशको विकास र समृद्धिका लागि नमूनायोग्य हुने उहाँको भनाइ थियो ।

पार्टीका केन्द्रीयस्तरका नेताहरु सम्मिलित उक्त अभिमुखीकरण कार्यक्रममा केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा संचालन गरिने विभिन्न परियोजनाहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा उत्पादन तथा रोजगार समितिका संयोजक बामदेव क्षेत्रीले पार्टीको उत्पादनसम्बन्धी अवधारणा प्रस्तुत गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणका लागि निजी र सरकारी स्रोतसाधनको प्रयोग गर्दै उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिए ।

उनले विभिन्न किसिमका उत्पादनमुखी योजनाहरुले विदेशमा रहेका युवाहरुलाई अभिप्रेरणा जगाउने, पार्टीका अभियन्ता तथा जनतालाई क्रमशः आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले उत्पादन र रोजगारसम्बन्धी कार्ययोजना लागू गर्न लागिएको बताए ।

अभिमुखीकरण कार्यक्रममा डा. जनक शाहले उत्पादनको कार्ययोजना र वित्तीय व्यवस्थापनको बारेमा व्याख्या गरेका थिए ।

त्यस्तै पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन, उद्यमशीलतासम्बन्धी विषय, मदन राईले एकीकृत अर्गानिक कृषि व्यवसाय, डा. प्रदिपमान तुलाचनले पर्यटन, श्रम तथा रोजगारसम्बन्धी विषय, नाथु चौधरीले एकीकृत कृषि व्यवसायसम्बन्धी विषय र डा. लक्ष्मी देवकोटाले जलविद्युत तथा नवीकरणीय ऊर्जासम्बन्धी विषयमा बोलेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com