मध्य अमेरिकामा हिमतुफान, ४५ इन्च हिमपात, प्रतिघण्टा सय माइलको तुफान
प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

मध्य अमेरिकामा भयानक हिमतुफानका कारण जनजीवन प्रभावित भएको छ । थुप्रिएको हिउँ र भयानक वर्षासँगै आएको हावाहुरीले जनजीवन प्रभावित भएको हो ।
बिहिबार आँधीको केन्द्रबिन्दु नेब्रास्का र आयोवा रहेको थियो । खतरनाक मौषमका कारण अमेरिकामा झण्डै १० करोड भन्दा धेरै व्यक्ति प्रभावित भएका छन् । मध्य अमेरिकाबाट चक्रवातको अवस्था पूर्वतिर सरिरहेको मौषमविदहरुको भनाई छ ।
आयोवा र इलिनोयमा बाढी आएको छ । खासगरी मिसिसिपी नदीमा बाढी आएको जनाइएको छ । नेब्रास्कामा बाढी आएको छ भने एलकोर्न र मिजौरी नदीमा आएको बाढीले किनारासम्म समतुल्य भएको छ ।
सान अगस्तिन पास, न्यु मेक्सिको, टेक्सासको पाइन स्प्रींगमा एकसय माइल प्रतिघण्टाको दरले हावा चलेको जनाइएको छ । विहिबार कोलोराडो, टेक्सास, न्यु मेक्सिको र ओक्लोहोमाका बासिन्दाले ५० माइल प्रतिघण्टाको हावाहुरीको सामना गर्नेछन् । कतिपय स्थानमा ६५ माइल प्रतिघण्टाको दरले हावा चल्ने अनुमान गरिएको छ ।
अर्कान्सास, मिसिसिपी र टेनिसीमा आँधीको चेतावनी दिइएको छ । दक्षिणी कोलोराडोमा ४५ इन्चसम्म हिमपात भएको छ । कोलोराडो र टेक्सासमा झण्डै पौने २ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो ।
कोलोराडोमा बुधबार र बिहिबार कैयन विद्यालयहरु बन्द गरिएका छन् । मौषमको सबैभन्दा खराबमध्येको अवस्था डेनभरमा रहेको जनाइएको छ । न्यु मेक्सिकोनेरको उल्फ क्रिक पासमा ४५ इन्चसम्म हिमपात रेकर्ड गरिएको छ ।
डाकोटा र मिनासोटासम्म हिमपात जारी रहने र एकफुटसम्म हिमपात हुने अनुमान गरिएको छ । साउथ डाकोटाको कतिपय स्थानमा १५ इन्चसम्म हिमपात भएको छ ।
बिहिबार विहानसम्म मध्य कोलोराडोमा २५० गाडीहरु फसेका छन् । बुधबार रातीसम्म ११ सय गाडीमा सवारहरु त्यसक्षेत्रमा फसेका थिए ।
दुईदिनको अवधिमा झण्डै ३७ सय उडानहरु रद्द गरिएका छन् । बुधबारमात्र २ हजार उडानहरु रद्द गरिएका थिए । बिहिबार थप १७ सय उडानहरु रद्द भएका छन् ।