श्रीमानको कुटाईबाट श्रीमती सख्त घाइते
प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार
ओखलढुंगामा श्रीमानको कुटपिटबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका -१ मोलीका भैमान रुम्दालीले श्रीमती निर्मला राईलाई निर्घात कुटपिट गरेका हुन् । श्रीमानको कुटाईबाट निर्मलाको अनुहारसहित शरीरभरि निलडाम छन् ।
उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ । श्रीमानले खुकुरी, मिख्चरको तारसहित अगाडि भेटिएका हातहतिहार प्रहार गरेका थिए । निर्मलालाई गाउँलेले अस्पताल पुर्याएका थिए ।
आइतबार साँझ बेलुकीको खाना खाने विषयमा उत्पन्न भएको विवादपछि निर्मलालाई श्रीमानले कुटेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।
‘भैमानले देवताका नाममा भएको पूजाको मासु ल्याएको र घरमा बस्ने अरु मान्छेले मासु नखाने भएकाले निर्मलाले पकाउँदिन भनेपछि विवाद भएको रहेछ’ प्रहरी प्रमुख मल्लले भने ‘श्रीमानलाई मासु खान मन लागेको श्रीमतीले पकाउन नमानेको निहुँमा भैमानले श्रीमती कुटेछन् ।’
भैमान अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई थप अनुसन्धानपछि कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । राई दम्पतीका २ छोरी छन् ।






