सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ ‘अयोग्य’ लडाकु, योग्य धाविका - KHASOKHAS

सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ ‘अयोग्य’ लडाकु, योग्य धाविका

सपना र विपनाबीच कति अन्तराल हुन्छ म भन्न सक्दिनँ । तर, अहिले म जहाँ छु, कुनै सपनाभन्दा कम छैन । जंगलको एउटा कुनाबाट आएर अहिले सबैमाझ चिनिएको मात्र छैन, देशको परिचयमा जोडिएकी छु । एउटा मान्छेको जीवनमा यस्तो पनि सम्भव हुँदोरहेछ, आफैं दंग पर्छु ।

गाउँमा मेलापात, घाँस दाउरा धेरै गरेँ । भारी बोकेर भीरपाखा चहारेँ । केही नयाँ हुन्छ कि, केही फेरिन्छ कि भनेर माओवादी जनयुद्धमा मिसिएँ । पछि ‘अयोग्य’ ठहर भएर शिविरबाट निकालिएँ । अहिले ट्रेल रनिङमा विश्व घुमिरहेकी छु । मेरा देखिने कथा यही हो । तर, यसभित्र नदेखिने पाटाहरु त कति छन् कति ।

गर्‍यो भने जे पनि गर्न सकिन्छ, हरेश खानु नहुँदोरहेछ । मेहनतले समय माग्छ र त्यसको फल पनि दिन्छ नै । हो साच्चै भनेको…। सोच्दा असम्भव लाग्छ तर मैले गरेँ ।

****

मेरो ट्रेल रनिङ जीवनको कुरा गर्दा पुरानो दिनहरुलाई ‘स्किप’ गरेर जान सकिँदैन । आज जे भइरहेको छ, त्यसमा हिजोको दिन जोडिएकै छ । त्यसैले पुराना दिन सम्झिएर अहिलेका कुरासम्म लैजान्छु ।

म भोजपुरको दुम्मा गाउँमा जन्मिएकी । मेरो घर भएको ठाउँलाई घोर्लेवन भन्छन् । त्यहाँ अहिलेसम्म विजुली पुगेको छैन ।आमा बुबालाई नभनि जनयुद्धमा गएकी थिएँ । केही समयको तालिम लिन्छु भन्ने सोच थियो तर गएपछि गएको गयै भइयो । आमाले धेरै सम्झिरहनु भएको होला लागेर नौ महिनापछि चिठी लेखेर त्यसमा सानो पासपोर्ट साइजको फोटो टालेर घरमा पठाएँ । मरी कि ज्यूँदैछे भन्ने उहाँको चिन्ता त्यो चिठी भेटेपछि मेटियो होला ।

७ जनाको परिवारमा म जेठी छोरी भएको कारणले पनि परिवारलाई धेरै सहयोग गर्नुपर्ने हुन्थ्यो । दाउरा-घाँस, गोठालो गर्दै हुर्किएँ । बिहान उठेदेखि बेलुकासम्म काम नै काम हुन्थ्यो । बाल्यकालमै गोठालो, खेतालोको अनुभव लिएँ ।

वर्षभरि काम गरेर उत्पादन गरेको अन्नले पनि खानै पुग्दैन थियो । त्यसैले भारी बोक्नुको विकल्प थिएन । धनकुटाको हिलेबाट सामानहरु बोकेर ल्याउँदै जिविकोपार्जन गरियो ।

७ कक्षासम्म त जसोतसो विद्यालय गइरहेकी थिएँ । स्कूल जाँदा पनि कुद्दै गइन्थ्यो । बिहान पानी बोक्न, घाँस काट्न जानुपथ्र्यो । घास काटेर आएपछि भारी बिसाएर हतार हतार भात खाएर किताब च्यापेर स्कूल कुद्थ्यौँ ।साथीहरु स्कूल जानको लागि बिहान ७ बजे नै हिँड्थे । म भने ९ बजे हिँड्दा पनि उनीहरुभन्दा पहिला पुग्थेँ । दिउँसो पनि ४ बजेपछि स्कूलबाट अरु निस्कन नभ्याउँदै कुदी हाल्थेँ । घर पुगेर खाजा छ भने खाइन्थ्यो, छैन रहेछ भने यत्तिकै जंगलमा घासको भारी हाल्न हिँडिहालिन्थ्यो ।

भारी बोकेर गरिरहेको जिविकोपार्जन पनि सडक पुगेपछि सकियो । गाडी चल्न थालेपछि भारी बोक्ने काम छुट्यो । त्यसपछि पनि गाउँघर, भीर पाखा सबै चहारेँ, नयाँ काम केही पाइनँ । के गर्ने भन्ने पनि थाहा भएन । केही नयाँ गर्न चाहन्थेँ । त्यही रहरले माओवादी तालिमतिर पुर्‍यायो । केही नयाँ गर्ने लक्ष्य र एक छाकको जोहो गर्नुपर्ने बाध्यताले नै माओवादी जनयुद्धमा होमिएँँ ।

****

माओवादीमा सामेल भएपछि नयाँ-नयाँ कुरा सिक्न पाएँ, केही कुरा पढ्न पाएँ । शारीरिक तालिम असाध्यै कठिन थियो । तर गाउँघरमा परिश्रम गरिरहेको शरीर भएर मैले सहज रुपमा नै लिन सकेँ ।

त्यो बेला ७ कक्षा पास गरेर ८ मा पुगेकी मात्र थिएँ । भर्खर १५ वर्षको हुँदो हुँ । त्यो समयमा जे जसरी लागेको भए पनि अहिले मेरो लागि त्यो एउटा अवसर नै थियो जस्तो लाग्छ ।शान्ति सम्झौतापछि शिविरमा बस्न पुग्यौं लामो समय । त्यहाँ बस्दा नै खेलकुदको बारेमा बुझेकी थिएँ । करातेदेखि अन्य विभिन्न खेलको प्रशिक्षण पनि लिन पाएँ । तर त्यसमा अवसरहरु भने पाइएन । किनकी समायोजनका बेला उमेर नपुगेका कारण अयोग्य बनेर निस्किनु पर्‍यो । त्यत्रो मेहनत गरेका थियौँ, कडा मेहनत गरेका थियौँ तर, त्यो सबै वेवास्ता गरियो । तर ठिकै छ … ।

आमा बुबालाई नभनि जनयुद्धमा गएकी थिएँ । केही समयको तालिम लिन्छु भन्ने सोच थियो तर गएपछि गएको गयै भइयो । घरबाट मलाई कता कता खोज्नुभएछ तर, भेट्नुभएन । आमाले धेरै सम्झिरहनु भएको होला लागेर नौ महिनापछि चिठी लेखेर त्यसमा सानो पासपोर्ट साइजको फोटो टालेर घरमा पठाएँ । मरी कि ज्यूँदैछे भन्ने उहाँको चिन्ता त्यो चिठी भेटेपछि मेटियो होला ।

त्यो समय मनमा साहस थियो । परेको व्यहोर्ने भनेर अरु साथीहरु पनि त हुनुहुन्थ्यो नि । किनकि मलाई अरु केही वास्ता नै हुँदैन थियो । गोठालो, खेतालोबाहेक भिन्न कुरा गर्न चाहन्थेँ त्यसैले साहस आयो । तर आमाबुबालाई धेरै दुःख दिएछु भन्ने बुझेर पछि भने दुःख लाग्यो ।बिहानदेखि बेलुकासम्म केही न केही तालिम भइरहेको हुन्थ्यो । पछि सिन्धुलीको बेल्चोकमा शिविरमा बस्ने बेला पनि सबै काम हामी आफैले गरेका थियौँ । चुरेबाट बाँस बोकेर ल्याएर आफैले घर बनाएका थियौं ।

पूर्वपश्चिम सबैतिरको साथीहरुको भोगाइ पनि मेरो जस्तो नै थियो । दुःख आफ्नो ठाउँमा छ, पकाउने, खाने, अभ्यास गर्ने सबै कुरा अहिले सम्झँदा छुट्टै सिकाइ थियो जस्तो लाग्छ । त्यो त एउटा इतिहास हो मेटेर पनि त मेटिँदैन ।अहिले पनि ती दिनहरु याद आइरहन्छन् । कहिलेकाहीँ त सपनामा पनि देखिन्छ । त्यो संघर्ष, त्यहाँका साथीहरु बिर्सन्छु भनेर पनि सकिने कुरा होइन ।

****

अहिले सम्झँदा पनि कुरै गर्न मन हुँदैन । त्यसरी मेहनत गरेको वेवास्ता गर्न सक्नु खै के भनौँ । सेना समायोजनमा ४ हजार ८ जना साथीहरुसँगै बाहिरिनुपर्‍यो । सम्झँदा पनि साह्रै दुःख लाग्छ । त्यो समयमा गाडी भाडा जसरीे १५ हजार रुपैयाँ दिएर ल जाउ घर भन्नु असाध्यै दुःखद अवस्था थियो ।उनीहरुले भनेजस्तो हामी कोही पनि अयोग्य त थिएनौं । त्यो तरिका असाध्यै नराम्रो लागेको थियो । अयोग्य भनेर निस्किएपछि पनि पाँच वर्षसम्म मैले घरमा भन्नै सकिनँ । क्याम्पमै छु भन्दै सिन्धुलीमा बसेर पढाइलाई अगाडि बढाएँ । दशैंमा मात्रै घर जान्थेँ ।

त्यहाँबाट निस्किएपछि कति केटाहरु विदेश गए । अरु विभिन्न काम गरेर बाँचिरहेका छन् । तर केटी साथीहरुको अवस्था असाध्यै दयनीय छ । अहिलेसम्म पनि सरकारले केही हेरिदिए हुने जस्तो हुन्छ ।

साथीहरुको जे सपना थियो त्यो पूरा भएको छैन । बेरोजगार हुनुभएको छ । अहिले त ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने हाम्रो पुरानो उखानको याद आउँछ ।साथीहरुसँग अहिले पनि कुराकानी भइराख्छ । ‘हामीले नसके पनि तिमीले राम्रो गर्‍यौँ’ भन्छन् । ‘पहिले नाकबाट सिँगान चुहाउँदै बन्दुक समाउन्थ्यौ, अहिले विश्व जित्यौँ,’ भन्छन् । त्यसले मलाई खुशी लाग्छ ।

आर्मीमा जानुभएका कोही कोही साथीहरुसँग पनि भेट हुन्छ । केही समयअघि क्याम्पमा गएको पनि थिएँ । लाइन मिलेर भात खाएका दिनहरु सम्झिएँ ।यो सबै कुरा किन भनिरहेको भने, यदि म माओवादीमा नगएको भए अहिले मैले ट्रेल रनिङमा जे जस्तो उपलब्धी पाएको छु त्यो केही पनि हुँदैनथ्यो । अहिले देश विदेशका भीर पाखामा दौडन सक्ने क्षमता र सम्भावना त्यहाँबाट नै विकास हुँदै गएको हो ।

****

अयोग्य भनेर शिविरबाट निस्किएपछि ०६८ सालमा एसएलसी पास गरेँ । त्यसपछि जेटीए पास गरेँ तर, केही काम गर्नै मिलिरहेको थिएन । परिवारलाई सहयोग हुन्छ भन्ने सोचेर विदेश जान लागेकी थिएँ ।

कराते गुरु ध्रुब बिक्रम मल्ल हामी क्याम्पमा हुँदा नै खेलाडी छनोटको लागि आउनुभएको थियो । त्यहाँ उहाँसँग चिनजान भएको थियो । म विदेश जान काठमाडौं आएको थाहा पाएपछि उहाँले नै विदेश नजान र खेलकुदमा नै लाग्न प्रोत्साहन गर्नुभयो ।भोजपुरबाट आएर काठमाडौंमा बस्ने मेरो क्षमता नै थिएन । हाम्रो त पैसा आउने स्रोत नै पो के थियो र ? कताततै पैसा जाने स्रोत मात्रै । त्यसैले गुरुले नै यहाँ बस्ने, खेलकुदमा लाग्ने अवसर दिनुभयो ।

दशरथ रंगशालामा एक महिनाजति दौड अभ्यास गरेँ । हरेक दिन रंगशाला जाने आउने गर्दा कति समय त गाडी भाडासम्म हुँदैनथ्यो ।

एक दिन सबै पैसा सकिएको भएर रंगशाला जान पनि पाएको थिइनँ । मुड्खुतिर सडकमा नै दौडिरहेको थिएँ । दौडिरहँदा आर्मीको भीम गुरुङ, कृष्ण गुरुङ दाइहरु जंगलतिर छिर्नुभयो । म पनि केही नसोची उहाँहरुकै पछिपछि दौडेर जंगलतिरै छिरेँ । उहाँहरुसँग चिनजान भयो । अर्को शनिबार ६ बजे यहाँ आउनु भन्नुभयो । अभ्यास नै होला भनेर त्यहाँ गएको त प्रतियोगिता पो रहेछ ।

२०७० चैत ७ गते (२०१४ मार्च २१) को दिन मेरो जीवनको पहिलो ट्रेल रनिङ प्रतियोगिता । ५० किलोमिटर दौड प्रतियोगिता रहेछ । त्यहाँ गएँ । त्यो हिमालय आउटडोर फेस्टिभलको दौड प्रतियोगिता थियो ।

उकालो, ओरालो दौडिँदै गइरहेको थिएँ, अन्तिममा मैले नै पो जितेछु । त्यहाँ दौडँदा गाउँमा भारी बोकेर दुई, तीन दिन सुइँसुइँ हिँडेको बाटो जस्तो लागिरहेको थियो । पहिलेका दिनहरु याद आइरहेको थियो । ओहो ! यस्तो पनि दौड प्रतियोगिता हुन्छ र जस्तो लागिरहेको थियो । दौडिरहँदा पुरानो अनुभव काम लाग्यो ।

जितेपछि ७ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र पाएँ । त्यतिखेर मैले ध्रुब गुरुलाई भनेको पनि थिइनँ । बिहान अभ्यासको लागि भनेर गएकी केटी बेलुका भइसक्दा पनि फर्किएन भनेर गुरुले त प्रहरीमा खबर गर्दै हुनुहुँदोरहेछ ।

दौड सकाएपछि त्यहाँको रेस डाइरेक्टर युकेका रिचर्ड बलले मेरो फोटो देखेर खोजी गर्नुभएको रहेछ । खोजी गर्दै मलाई भेट्नुभयो र लुगादेखि जुत्तासम्म सबै सामान किनिदिनु भयो । डाइट खानको लागि भनेर महिनाको ३५ सय रुपैयाँ पनि दिनुहुन्थ्यो । किनकि त्यो समय मसँग घर जाने पैसाम्म पनि थिएन । त्यो ३५ सय त्यतिखेर मेरो लागि धेरै नै ठूलो थियो ।

पहिलो प्रतियोगिता जितेर आएको ७ हजारले केही समय त पुग्ने भयो भनेर धेरै खुशी भएँ । त्यसपछि ४५ सय आयो ।अझै केही गर्छु भनेर कुदिरहेको त दुई वर्षमा नै विश्व नम्बर दुई भएछु, मलाई नै थाहा थिएन । अहिले त आश्चर्यजनक लाग्छ ।

****

हिमालय ट्रेल रेसमा दौडिएको केही समयपछि मुस्ताङ ट्रेल रेसमा गएँ । त्यहाँ पनि पहिलो भएँ । मुस्ताङमा विभिन्न देशका धावकहरु आउनुभएको थियो । उहाँहरुसँग दौडँदा थप कुराहरु सिक्न पाइरहेकी थिएँ । त्यो बेला मलाई अँग्रेजी बोल्न पनि आउँदैनथ्यो, त्यसैले उहाँहरुको अनुहारमा हेरेर केही बुझेको जस्तो गर्दै सँगै दौडिरहेको हुन्थेँ ।

त्यहाँ सहभागी हुने एकजना धावकले नै मलाई इटालीमा गएर प्रतियोगितामा भाग लिने अवसर मिलाइदिनुभयो । उहाँकै घरमा बस्ने खाने र प्रशिक्षणको वातावरण मिलादिइनुभएको थियो ।त्यतिखेर मेरो पासपोर्ट पहिले वैदेशिक रोजगारीमा मलेसिया जानका लागि दिएको म्यानपावरमा नै थियो । ध्रुब गुरुले नै १२ हजार कि कति पैसा दिएर पासपोर्ट झिकिदिनु भएको थियो ।

२०१४ मा ट्रेल रनिङ सुरु गरेको २०१५ मा विश्वकै दोस्रो स्थानमा पुगेँ । इटाली, फ्रान्स, हङकङ, अस्ट्रेलिया, स्पेन, नर्वे, बेलायत हुँदै विभिन्न देशमा प्रतियोगिताहरुमा भाग लिएँ । २०१४ मा मात्रै नौ वटा प्रतियोगिता भएछ । त्यसमा ७ वटामा त पहिलो नै भएँ । दुई वटामा दोस्रो भएँ ।

२०१५ मा ११ वटा प्रतियोगिता खेलेँ । त्यसमा ६ वटामा पहिलो भएँ । एउटामा दोस्रो र एउटामा तेस्रो भएँ । एउटामा चौथो भएँ । २०१६ मा दुईवटा प्रतियोगिता खेलेँ । एउटा बेलायतमा र एउटा स्पेनमा थियो । बेलायतको थ्री पिक्स रेसमा दोस्रो भएँ । स्पेनमा भने आठौँ भएँ । त्यो बेला मलाई चोटले सताउन थालिसकेको थियो । चोटकै बाबजुद पनि २०१७ मा बेलायतमा नै बेन नेभिस अल्ट्रा दौडमा १२० किलोमिटर कुद्दा पहिलो भएँ ।

२०१६ मा लिगामेन्टको इन्जुरी देखिएको थियो । त्यतिबेला बेलायतमा थ्री पिक्स रेसमा ४२ मिलोमिटर दौडिरहँदा खुट्टा खोँचियो । पहिले नै नशा चुडिएको रहेछ । थाहा नै भएन ।दुई वर्षअघिको त्यो रेस सकाएपछि इटालीमा लिगामेन्टको सर्जरी गरेँ । त्यसले पनि पूरा ठीक भएन । अहिले फेरि दोस्रोपटक फ्रान्समा सर्जरी गरेको छु । अब विस्तारै राम्रो हुँदै गएको छ ।

****

दुःख झेलेर छोटो समयमा ट्रेल रनिङमा नाम बनाउन सकेकी छु । नेपालको नाम चिनाएकी छु । सालामोन टिमको अन्तर्राष्ट्रिय खेलाडी बनेर नेपालको प्रतिनिधित्व देश विदेशमा गरिरहन पाएकी छु । विभिन्न देशमा धावकदेखि लिएर अरु विभिन्न व्यक्तिहरुले प्रशंसा गर्नुहुन्छ, चिन्नुहुन्छ ।

मलाई उपचारदेखि हरेक कुरामा सहयोग गरिरहेको सालोमन ट्रेल रनिङमै प्रयोग हुने सामान उत्पादन गर्ने कम्पनी हो । उसले विश्वका शीर्ष धावकहरुलाई सहयोग गरिरहेको छ । त्यसमा म पनि परेको छु ।

ट्रेल रनिङमा नाम जति धेरै दाम छैन । पुरस्कारमा दुई हजार युरोसम्म जितेको याद छ । अहिले मलाई सालोमन टिमबाट नै खर्चहरु दिइरहनुभएको हुन्छ । लुगाकपडा, जुत्तादेखि प्रतियोगितामा जाने खर्चसम्म दिनुहुन्छ । त्यसले गर्दा नै अवसरहरु थप पाइरहेको छु । मिरा राई बनिरहन सकेकी छु ।

म आफू भाग्यमानी मान्छु । नेपालको विकट डाँडामा जन्मिएर यहाँसम्म पुग्न सकेँ । किनभने कतैबाट सहयोग नआई त हामीले बाहिर गएर दौडिन सक्दैनौं । देशले केही गरिदेला भन्ने पनि छैन ।

विदेशमा खेलाडीका लागि धेरै सुविधा छ । सानो मेडल जित्दा पनि सरकारले धेरै सहयोग गर्छ । हाम्रोमा खेलाडीलाई सुविधा दियो भने बिग्रन्छ भन्ने सोच्छन् कि खै के हो ।

खेलाडी बिहान बेलुका खानकै लागि संघर्ष गर्नुपर्छ भने खेलमा कसरी लागिरहन सकिन्छ त । आश गरौं विस्तारै हुन्छ कि ? एकतर्फी त केही पनि हुनै सक्दैन । दुवैतर्फबाट हुनै पर्छ ।

यो सबै सम्भव नै थिएन, तर मैले गरेँ । अहिले साना भाइबहिनीहरु पनि मैले जस्तै दौडन चाहन्छन् । मेरो लागि मात्र होइन अरुका लागि पनि अवसरहरु आइरहेका छन् ।

मैले विभिन्न देशको डाँडाकाडामा जुन उपाधि पाएको छु त्यसो गर्न सक्ने नेपालमा धेरै छन् । ट्रेल रनिङको लागि नेपाल त उत्कृष्ट गन्तव्य नै हो । हाम्रा गाउँघरका भिरपाखामा कामकै लागि दौडधुप गर्नेहरुले त्यो अवसर पाउने हो भने राम्रो गर्ने छन् ।

ट्रेल रनिङलाई प्रोमोट गर्ने र मजस्तै दौडन चाहने अन्य भाइबहिनीलाई अवसर दिनका लागि पनि काम गरिरहेकी छु । मिरा राई इनिसियटिभ भन्ने फाउण्डेसन खोलेर साथै ट्रेल रनिङ नेपाल भन्ने कम्पनीमार्फत काम गरिरहेका छौं । अहिले ५/६ जना बहिनीहरुलाई सपोर्ट गरिरहेका छौं । अन्तर्राष्ट्रिय खेलहरुमा लैजाने काम भइरहेको छ ।

काठमाडौंका डाँडाकाडा गाउँका डाँडाकाडामा दौडेर मैले जसरी अवसरहरु पाएँ, त्यस्तै अवसर अरुले पनि पाउन् भन्नकै लागि लागिपरिरहेकी छु । मरेर लाने केही पनि छैन रहेछ त्यसैले आफूले सक्दो सहयोग सबैका लागि गर्नुपर्छ भन्ने लाग्छ ।

अहिले त म घाइते अवस्थामै छु । तीन महिनादेखि फिजियोमा ध्यान दिइरहेकी छु । हरेक दिन फिजियो टे्रनिङ हुन्छ । अब ६ महिनाजतिमा ट्रेल रनिङमा र्फकन सक्छु जस्तो लागेको छ ।

लक्ष्य नै बनाएर लागिरहेकी छु आश गरौं, राम्रो हुँदै जानेछ ।मानिसको जीवनमा समस्या त आउँछ नै, त्यसलाई समाधान गर्दै बढ्नुपर्छ । त्यो गाउँबाट काठमाडौं आउने सपना देख्न नसक्ने मैले २०१७ मा नेशनल जोग्राफीले विश्वभरका साहसी व्यक्ति छानेर दिइने ‘एड्भेन्चर अफ दि इयर’ को अवार्डसम्म लिन पाएँ । त्यसको एउटै कारण हार नमानिकन गरेको मेहनत नै हो ।

विदेशमा विभिन्न ठाउँमा जाँदा स्कूलहरुमा पनि जान्छु । अमेरिकाको एउटा विद्यालयमा साना विद्यार्थी भाइबहिनी भेट्दा दुई घण्टा त अटोग्राफ दिनुपरेको थियो । त्यो माया सम्झेर खुशी लाग्छ ।

अहिले विदेशमा गएर स्टार होटलमा बस्दा पनि गाउँघरकै सम्झना आउँछ । कसरी भइराखेको छ यो सबै जस्तो हुन्छ । पहिले आफूृ माओवादीमा गएँ भने भाइबहिनीलाई पढाउन केही सहयोग गर्न सक्छु कि जस्तो लागेको थियो । अहिले त्यही काम दौडेर गरिरहेकी छु ।

आमाबुबा अहिलेसम्म त्यहीँ घोर्लेवनमै हुनुहुन्छ । जसरी पहिले कडा मेहनत गरिन्थ्यो, अहिले पनि गाउँमा त्यसरी नै काम गरिरहनुभएको छ ।

म विस्तारै गर्नुस् न भन्छु तर, विस्तारै गरेर कहाँ हुनु ? तिनै गाईबस्तु पालिरहनु भएको छ, तिनै खेतबारीमा हलो जोतेर जिविका गरिरहनु भएको छ । फरक भनेको अहिले बिरामी पर्नुभयो भने उपचारसम्म गराउनसक्ने भएकी छु । भाइबहिनीलाई पढाउन सकेकी छु । त्यही नै हो ।

अहिले घाइते भएर बस्नुपरेकाले न उँभो जानु त उँधो जानु जस्तो भएको छ । पखेँटा भाँचिएको चरी जस्तो भएको छ । अब खुट्टा ठीक भएपछि फेरि नयाँ डाँडाकाडामा कुद्ने नै छु ।अब अगाडि पनि नदेखेका सपना आउलान् तिनलाई पनि पूरा गर्ने पर्छ । भोलि कसैले देखेको हुँदैन तर भोलि देखिँदैन भनेर मेहनत छाड्ने कुरा पनि भएन …. ।

आइतवार, फाल्गुन २६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com