पूर्वउपप्रधानमन्त्री भरतमाेहन अधिकारीकाे निधन


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । उनलाई अस्पतालले राती ९  : ३५  बजे मृत घोषित गरेको हो ।

१६ दिनदेखि भेन्टिलेटरमा राखेर ८२ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो  । नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए ।

उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए ।  त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।

०४७ को संविधानको मस्यौदाकार रहेका अधिकारीले ०५१ सालको तत्कालीन एमालेको ९ महिने अल्पमतको सरकारमा वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाको कार्यक्रम, गाउँमा बजेट केन्द्रीत गरिएको–‘आफ्नो गाउँ आफैँ बनाऊ’ कार्यक्रम लागू गरेर लोकप्रिय अर्थमन्त्रीको छवी बनाएका थिए । उनकै पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ ।

दुई पटक उपप्रधानमन्त्री, चार पटक अर्थमन्त्री, एक पटक यातायात तथा निर्माण मन्त्री, मोरङबाट चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक मामिलासहित विभिन्न विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन शेरबहादुर देउवा र झलनाथ खनाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।

पूर्व एमालेको छैठौंदेखि आठौं महाधिवेशनसम्म उनले महाधिवेशन आयोजक मूल व्यबस्थापन कमिटीको संयोजकको जिम्मेवारी पनि सम्हाले । पूर्व अर्थमन्त्री अधिकारीलाई तीन खम्बे अर्थ नीतिको बजेट लागू गर्ने योजनाकारका रुपमा पनि लिने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com