ट्वाईलेटमा लडेपछि ऊर्जामन्त्री पुन अस्पताल भर्ना, अवस्था सामान्य
प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । आज अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरको रिंगटा लागेर ट्वाईलेटमा लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
नर्भिक अस्पतालका चिकित्सक डा.यादव भट्टसहितको टोलिले मन्त्री पुनको उपचार गरिरहेको छ । डा. भट्टका अनुसार मन्त्री पुनको ब्लड प्रेसर सामान्य छ । मुटुको धड्कन केही तलमाथि भएपनि अवस्था सामान्य रहेको उनले बताएका छन् ।
मन्त्री पुन हिडडुल तथा बोलचाल गर्न सक्ने सामान्य अवस्थामा भएपनि आज भने चिकित्सककै निगरानीमा राखिने बताईएको छ । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् ।
सभामुख कृष्णबहादुर महरा, कानूनी मन्त्री भानुभक्त ढकाल, पूर्व गृहमन्त्री जनार्दन शर्मा लगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेर मन्त्री पुनको अवस्थाको जानकारी लिएको मन्त्री पुनका नीजि सचिव सन्तोष पुनले जानकारी दिए ।