युट्युव हेरेर नक्कली रुपैयाँ छाप्ने दुई जना पक्राउ
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

नक्कली नेपाली रुपैयाँ छाप्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली मंगलवार मकवापुरको हेटौंडा ९ घर भएका ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। उनीहरुको साथबाट १९ हजार नक्कली नोट फेला परेको छ।
उनीहरुले माघ २२ गते पोखरा महानगरपालिका बडा १६ अर्मलास्थित गुरुङ किराना पसलमा १ सय रुपैयाँको रिचार्ज कार्डका लागि एक हजारको नोट दिएका थिए। पसलेले उनीहरुलाई ९ सय रुपैयाँ फिर्ता दिएका थिए। हजारको नोट चाहिँ नक्कली थियो र फिर्ता लिएको रकम सक्कली।
उनीहरु त्यसपछि ग १४ प २५४ नम्बरको मोटरसाइकल फर्केका थिए। पसलेले नोटमा शंका लागेर प्रहरीलाई खबर गरेपछि नक्कली धन्दाको पर्दाफास भएको थियो।
नोट नक्कली भएको थाहा पाएपछि हामीले अनुसन्धान शुरु गरेका थियौं। उनीहरुलाई नोट छापी रहेकै अवस्थामा नै नियन्त्रणमा लिएका हौं, डिएसपी गुरुङले भने।
युट्युवमा नक्कली नोट बनाउन सिकेर कारोबारमा लागेको देखिएको डिएसपी गुरुङले बताए। उनीहरुले नक्कली पैसा छाप्ने कलर प्रिन्टर भाटभटेनी सुपरमार्केटमा किनेको खुल्न आएको छ। ‘यो त एकदमै सजिलो रहेछ। युटुवमा हेरेर नै साधारण उपकरणको सहयोगले नोट छाप्दा रहेछन्,ु गुरुङले भने।
उनीहरुले छापेको नक्कली नोट महिला तथा केटाकेटी भएको पसलमा गएर रिचार्ज कार्ड तथा अन्य सामान किन्ने गरेको खुलेको छ। उनीहरुले दैनिक १० देखि १५ वटासम्म नोट साट्ने गरेको देखिएको छ।