एटलान्टामा कागजपत्रविहिन नेपालीलाई ५० हजार डलरसम्म धरौटी, कुन अदालतमा कति ?


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

– किशोर पन्थी

एटलान्टाको अध्यागमन अदालतले मेक्सिकोहुँदै गैर कानुनी रुपमा सिमा पार गरेर अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका नेपालीलाई औषतमा ५० हजारसम्मको धरौटी रकम तोक्ने गरेको छ । एटलान्टाको अध्यममन जेलमा राखेर चलाइने मुद्दाका सन्दर्भमा धरौटीमा रिहा हुनका लागि कागजपत्रविहिन नेपालीहरुले औषतमा उक्त रकम धरौटी राख्नु परेको हो ।

ईओआईआरको तथ्यांक अनुशार यो रकम औषत रकम भएकाले कतिपय नेपालीहरुले ५० हजार डलर भन्दा पनि धेरै धरौटी रकम राख्नु परेको छ । यद्यपी कतिपयले कम धरौटी रकम राखेर समेत रिहा हुने अवशर पाएका छन् ।

दलाललाई पचासदेखि साठीलाख रुपैयासम्म बुझाएर मेक्सिकोको बाटोहुँदै अमेरिका प्रवेश गरेका नेपालीहरु पक्राउ परेर एटलान्टाको अध्यागमन जेलमा राखिएको खण्डमा थप पचास साठी लाख रुपैया धरौटीका रुपमा राख्नुपर्दा र कानुन व्यवसायीको शुल्क समेत जोड्दा अमेरिका आउनका लागि एककरोड देखि सबाकरोड रुपैयासम्म खर्च हुने गरेको छ ।

मुद्दाको टुंगो लागिसकेपछि धरौटी रकम फिर्ता हुने भएपनि मुद्दाको टुंगो लाग्न बर्षौ लाग्ने गरेको सन्दर्भमा ऋण खोजेर रकम जम्मा गर्नुपर्ने बाध्यताले उक्त रकमको ब्याज बढेर तिर्नुपर्ने रकम झण्डै दोब्बर बन्ने अवस्थासमेत आउने गरेको छ । अर्कोतर्फ धरौटी रकम जम्मा गर्नका लागि दोश्रो व्यक्तिको सहयोग लिनुपर्ने भएकाले आफै रकम खोजेर दोश्रो व्यक्तिलाई दिई उसको नाममा जम्मा गराउँदा ठगिने खतरा समेत उत्तिकै रहेको छ ।

यो पनि पढ्नुहोस्

बोण्डको बोझ – १ : अमेरिकी जेलबाट छुट्दा औषतमा १५ हजार डलर धरौटी राख्छन् नेपाली

खसोखास एक्सक्लुसिभ : अमेरिकी अध्यागमन जेलमा २९२ नेपाली

हाल अमेरिकाको अध्यागमन जेलहरुमा झण्डै ३ सय नेपालीहरु रहेका छन् । उनीहरुमध्ये अधिकांशले अध्यागमन अदालतमा एसाइलमको मुद्दा चलाउँदै धरौटीमा रिहा हुने आशा गरिरहेका छन् । एटलान्टाको जेल सबैभन्दा धेरै नेपालीहरु राखिनेमध्येको जेल हो ।

आर्थिक बर्ष सन् २०१९ को तथ्यांक हेर्दा एटलान्टाको अदालतले नेपालीलाई औषतमा ५० हजार डलर धरौटी तोक्ने गरेको देखिएको हो । सन् २०१९ को तथ्यांक अनुशार सान डिएगोको ओटे मेशामा रहेको अध्यागमन अदालतमा नेपालीहरुलाई औषतमा २५ हजार अमेरिकी डलर धरौटी तोक्ने गरिएको छ । त्यस्तै जर्जियाको लम्पकिनमा औषतमा नेपालीहरुलाई २५ हजार अमेरिकी डलर धरौटी तोक्ने गरिएको छ ।

त्यस्तै टकोमाको अध्यागमन अदालतले औषतमा नेपालीका लागि २२ हजार ५ सय, बटाभियामा १७ हजार, एडेलान्टोमा १७ हजार, लस एन्जलसमा १५ हजार, ओकाडेलमा १५ हजार, क्लीभल्याण्डमा १२ हजार ५ सय, सान फ्रान्सिस्कोमा १० हजार, कोन्द्रमा ९ हजार ७ सय ५०, एल पासोमा ८ हजार ५ सय र अरोरामा ५ हजार डलर औषतमा धरौटी रकम तोक्ने गरिएको छ । यो औषत रकम भएकाले केस अनुशार कम वा यो भन्दा बढी समेत हुनसक्छ ।

आर्थिक बर्ष २०१९ मा नेपालीका लागि अमेरिकाभरको हिसाब गर्दा औषतमा १५ हजार डलर धरौटी रकम तोक्ने गरिएको छ । चालु आर्थिक बर्ष २०१९ मा पछिल्लो तथ्यांक अनुशार झण्डै १ सय जना नेपालीहरुलाई धरौटी रकम तोकेर रिहा गरिएको छ ।

सन् २०१९ को तथ्यांक हेर्दा नेपाली, बंगालादेशी र भारतीयलाई तोकिएको धरौटी रकम सबैभन्दा उच्च रहेको छ । नेपालीलाई औषतमा सबैभन्दा बढी एटलान्टामा ५० हजार डलर तोकिएकोमा भारतीयलाई लम्पकिनमा ३५ हजार डलर औषत धरौटी तोकिएको छ । बंगालादेशीलाई टकोमामा सबैभन्दा धेरै औषतमा ३० हजार अमेरिकी डलर धरौटी तोकिएको छ ।

सन् २०१९ मा विश्वका सबै देशका नागरिकको तुलना गर्दा औषतमा सबैभन्दा धेरै धरौटी रकम नेपालीहरुका लागि तोकिएको छ । जबकी छिमेकी राष्ट्र चीनका नागरिकका लागि बढीमा औषत धरौटी ३२ हजार ५ सय डलर र भारतका नागरिकका लागि बढीमा औषत धरौटी रकम ३५ हजारडलरमात्र तोकिएको छ । अमेरिकी सरकारकै तथ्यांक हेर्दा दक्षिण एसियालीहरुलाई अध्यागमन अदालतले सबैभन्दा धेरै धरौटी रकम तोक्ने गरेको पाइएको छ ।

हामीले नेपालीले बुझाउने बोण्ड रकमका बारेमा श्रृंखलाबद्ध समाचार प्रकाशित गर्दैछौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com