खसोखास एक्सक्लुसिभ : अमेरिकी अध्यागमन जेलमा २९२ नेपाली


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

अमेरिकाका अध्यागमन जेलमा २९२ जना नेपालीहरु रहेको विवरण खसोखासले प्राप्त गरेको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रवक्ता डिनेल बेनेटले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जानकारी अनुशार अमेरिकाका विभिन्न अध्यागमन जेलमा सन् २०१९ को जनवरी ३१ सम्म २ सय ९२ जना नेपालीहरु रहेका छन् ।

यसरी अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये अधिकांश मेक्सिकोको सिमाक्षेत्रहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका कागजपत्रविहिनहरु हुन् । उनीहरुमध्ये अधिकांशले अमेरिकामा एसाइलमको दावी गरिरहेका छन् ।

यसअघि खसोखासले प्राप्त गरेको जानकारी अनुशार सबैभन्दा धेरै नेपालीहरुलाई जर्जिया, एरिजोना र अलाबामाको अध्यागमन जेलमा राखिएको थियो । तर यी नेपालीहरुमध्ये कतिजना नेपालीहरुलाई कुन कुन अध्यागमन जेलमा राखिएको छ भन्नेबारे भने विवरण प्राप्त भएको छैन ।

दलाललाई लाखौं बुझाएर मेक्सिकोकोबाटो हुँदै अमेरिका छिर्ने क्रममा सिमानामा पक्राउ परेका नेपालीहरुलाई अध्यागमन जेलमा राखिदै आएको छ । कतिपय जेलमा परेका नेपालीहरु धरौटीमा रिहा हुने गरेपनि कैयनको भने धरौटी अस्वीकार समेत गरिदै आएको छ ।

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको माताहतमा ७१ वटा अध्यागमन जेलहरु रहेका छन् । कतिपय अध्यागमन जेलहरुमा हिन्दु नेपालीहरुलाई समेत धर्म विपरित गाईको मासु खान दिएका समाचारहरु यसअगाडि सार्वजनिक भएका थिए ।

अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये ६ जनाबिरुद्ध अपराधको मुद्दा चलाइएको छ । उनीहरुमध्ये ३ जना भर्जिनिया, १ जना न्युयोर्क , एकजना कोलोराडो र एकजना न्युयोर्कमा रहेका छन् ।

तस्वीरमा टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टर । फोटो : किशोर पन्थी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com