एउटीलाई रोज्‍नै सकिनँ - KHASOKHAS

एउटीलाई रोज्‍नै सकिनँ

बिहे किन नगरेको ? तुलसी दिवसले जीवनमा सबैभन्दा बढी सामना गर्नुपरेको प्रश्न संभवतः यही हो । अहिलेसम्म उनले यसको खास उत्तर भेटेका छैनन् । यसमा उनलाई न पछुतो छ न गर्व । बिहे गरेरमात्र जीवन अर्थपूर्ण हुन्छ भन्ने भ्रम उनमा पटक्कै छैन ।

बिहेको कुरा गर्दा  तन्नेरी  ‘फ्ल्यास ब्याक’ ले तुलसीलाई रोमाञ्चित गर्छ। प्रेमका ती अनेक कथा र कान्डहरु उनको दिमागमा फनीफनी घुम्न थाल्छन्। तुलसी आफै भन्छन्न् ‘मलाई मन पराउनेहरू धेरै थिए। कतिले प्रपोज गरे । तर एकजनालाई मैले रोज्नै सकिनँ।’

एकजनालाई रोज्न नसक्दा उनी अहिलेसम्म एक्लो छन्। तर उनी दंग छन्। भ्यालेन्टाइनको पूर्वसन्ध्यामा वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी आफ्नो प्रेम र जीवनबारे नेपाल समयसँग निकै खुलेर गफिए। उनी आफै भन्छन् ‘मलाई माया गर्ने कोही नभएर एक्लो भएको होइन। धेरै भएर एक्लो हुनुपरेको हो।’ बिहे नगरे पनि तुलसीलाई तन्नेरीमा माया गर्नेहरुले अहिले  पनि उत्तिकै वास्ता गर्छन्। उनी भन्छन्। म सिंगल भए पनि मायाको अभाव छैन मलाई।

तुलसी सानैदेखि साहित्यमा रुचि राख्थे । उनी कविता, नाटक र गायनमा रमाउँथे । यसक्रममा उनको थुप्रै केटीहरुसँग संगत भयो । धेरैले उनलाई वास्ता गर्थे । एकजनालाई रोज्न नसक्दा उनी अहिलेसम्म एक्लै छन् । उनी आफै भन्छन्, ‘मलाई माया गर्ने कोही नभएर एक्लो भएको होइन । धेरै भएर एक्लो हुनुपरेको हो ।’ त्यसो त दिवसलाई तन्नेरीमा माया गर्नेहरूले अहिले पनि वास्ता गर्छन् । उनी भन्छन्, ‘त्यसैले सिंगल भए पनि मलाई मायाको अभाव महसुस हुँदैन ।’

तुलसी भन्छन्, ‘म विवाह गर्दिनँ भनेर बसेको होइन । मैले विवाह गर्छु भनेर मरिहत्ते गरेर हिँडेको पनि होइन । जिन्दगीलाई सायद न्याचुरल कोर्समा बढी स्वीकार गरें ।’ अहिले आएर उनलाई विवाहका सम्बन्धमा बढी गम्भीर नभएको हो कि जस्तो लाग्छ । उनले भने, ‘महिला मित्रहरूबाट धेरै आग्रह भएका कारण पनि म सिंगल भएँ जस्तो लागिरहन्छ ।’

प्रेमबारे तुलसीको आफ्नै बुझाइ छ । उनी भन्छन्, ‘प्रेम एउटा भावनात्मक मिलन हो । त्यहाँ विश्वास र समर्पण हुन्छ । प्रेमलाई जोडीको रोमान्स र सम्बन्धका रूपमा बुझ्नु गलत हुन्छ ।’ उनका अनुसार प्रेम आफंैलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ ।

प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन । अर्को शब्दमा एकअर्कासँग सम्पर्कमा रहनु माया हो । आँखा मनको कोठाको झ्याल हो । मनभित्र के छ थाहा पाउन झ्यालको ढोका खोल्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘सच्चा प्रेमका लागि भ्यालेन्टाइन कुर्नु पर्दैन । पलपलमा हुनुपर्छ प्रेम ।’ उनका अनुसार एकअर्कालाई चोट नपुर्‍याउँदा र इगो हर्ट नगर्दा प्रेमसम्बन्ध प्रगाढ हुन्छ । दिवस भन्छन्, ‘प्रेम भएकै व्यक्तिसँग विवाह गर्नुपर्छ भन्ने छैन ।’

कतिपय व्यक्तिका प्रेम हार्दिकताभन्दा लोभलालच, बासना, धनसम्पत्तिसँग सम्बन्धित हुन्छ । आफ्नो इच्छा पूर्तिसँगै त्यस खालको प्रेममा परिवर्तन आउँछ । प्रेम महिला र पुरुषबीच मात्र नभई सहयोग र सद्भावका रूपमा पनि विकसित हुन थालेको दिवसको बुझाइ छ ।

दिवसका अनुसार भेटेजति सबै व्यक्तिसँग मन खोलेर कुरा गर्न सकिन्न । जब नजिक भइन्छ, अनि निकटता बढ्छ र मनमा प्रेमको फूल फुल्न थाल्छ । मायाले धर्म, संस्कृति, वर्ण, रूप र उमेर हेर्दैन । उनी भन्छन्, ‘प्रेम व्यक्त गर्नुपर्छ र प्रेम गर्नेसँग सम्पर्कमा पनि रहनुपर्छ ।’ उनको बुझाइमा प्रेम शारीरिक सम्बन्धका लागि होइन, मानसिक र हार्दिक सम्बन्धका लागि हो ।

उनी तन्नेरी हुँदा टेलिफोन सुविधा त थियो । प्रेम व्यक्त गर्नका लागि अहिलेजस्तो मोबाइल र सञ्चारका साधन थिएनन् । उनले भने, ‘सम्पर्कमा रहेर प्रेम गरेको छु । प्रेम गर्न साधन नै प्रयोग गर्नुपर्छ भन्ने छैन । यस्ता केही प्रविधि नहुँदा पनि प्रेम भएको छ ।’ जीवनमा सधैं आफूले भनेजस्तै हुनुपर्छ भन्ने छैन । आफूले सोचेभन्दा विपरीत पनि हुन सक्छ । दिवसले भने, ‘छुट्टिनु, सँगै हुनु र नहुनु भौतिक नियमभित्र पर्दैनन् । मानव सम्बन्धको भावनालाई वैज्ञानिक नियमले निर्देशित गरेर बुझ्नुपर्छ ।’

प्रेमलाई कविता लेखनमा उतार्नुभयो कि भन्ने जिज्ञासामा दिवसले भने, ‘सबै भोगेका पात्रहरुलाई साहित्यमा जस्ताको तस्तै उतार्न सम्भव हँुदैन । कविता लेख्नु र जिन्दगी भोग्नु धेरै फरक विषय हो ।’ कल्पनामा भन्दा जीवनको अनुभवमा आधारित भएर साहित्य सिर्जना गरेको उनले बताए । सामाजिक विविधता र फरक सांस्कृतिक मूल्यमान्यताले प्रेम सम्बन्ध पनि भिन्न हुन सक्छ । विश्वका धेरै मुलुक भ्रमण गरिसकेका दिवस पश्चिमा र एसियालीको प्रेम गर्ने शैली परक रहेको अनुभव सुनाउँछन् ।

प्रेम शब्दमा व्यक्त गर्नुपर्ने मानिस धेरै भेटेका छन् उनले । तर पहिलो पटक प्रेममा परेको व्यक्तिले शब्दको प्रयोग नगर्ने उनको बुझाइ छ । उनका अनुसार मानिस प्रेम भावनामा जोडिन सुरु भएसँगै भ्यालेनटाइन डे लोकप्रिय बनेको हो । एक दिन एकअर्कालाई प्रेम भावना अभिव्यक्त गर्ने र उपहार लेनदेन गर्ने माध्यम बनेको छ । प्रेमीलाई मन पर्ने उपहार, फूल, क्यान्डी दिने मनका भावना साट्ने अवसर हो भ्यालेन्टाइन डे । विगत सम्झँदै दिवस भन्छन्, ‘उपहार दिनु प्रेमको संकेत हो । उपहार र फूल पाउन मैले कहिल्यै पनि भ्यालेन्टाइन डे कुर्नु परेन । प्रेम भएपछि भ्यालेन्टाइन डे नै कुर्नपर्छ भन्ने धारणा गलत हो ।’

उनले विवाह निषेध गरेको भने होइनन् । दिवसले भने, ‘विवाह गर्छु भनेर  मन फुलाएर बसेको पनि छैन ।’ विवाहअघि प्रेम र विवाहपछि प्रेम भएका व्यक्ति समाजमा धेरै छन् । कोही प्रेममा परेर विवाहसम्म नपुग्ने पनि छन् । प्रेममा रहेका व्यक्तिबीच विवाह हुँदा सुखी जीवन बिताएको देखिन्छ । तन्नेरी बेलामा जस्तो दिवस अहिले महिला मित्रहरूसँग सम्पर्कमा  छैनन् । तर उनको मनमा विगतको सम्झना भने निकै दह्रो गरी अडिएको छ । उनी भन्छन्, ‘कति भेटिए–भेटिए कसलाई मात्र सम्झेर बस्नु ? सबैलाई सम्झिनँ पनि सकिन्न । यस्ता केही व्यक्ति पनि छन्, जसलाई म नसम्झी बस्नै सक्दिनँ ।’

विवाह नगरेकोमा पश्चात्ताप लाग्दैन ? ‘मैले यो गरिनँ, गर्नुपथ्र्याे, गलत गरें भन्ने सोच मनमा आउँछ नै’, उनी भन्छन् । तर जे भयो सकियो, के भएन भन्ने कुरामा उनी धेरै महत्त्व दिँदैनन् । उनले भने, जिन्दगी जे भयो, भयो, जिन्दगी जे भएन, त्यो भएन । भएकोलाई नभएको बनाउन सकिन्न, नभएकोलाई भएको बनाउन सकिन्न । सोचेको जस्तो हुँदैन जिन्दगी…।’नेपाल समयमाबाट

बिहिबार, फाल्गुन २, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com