अब अविवाहित महिलालाई पनि भत्ता


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ। ’यो समाचार आजको नागरिक दैनिकमा छ ।

‘संघीय सरकारले अविवाहित र सम्बन्धविच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउन योग्य मानेको छ। यस्तै लामो अवधिसम्म पति बेपत्ता भएका महिलाको हकमा केही व्यवस्था छैन’, नगर प्रमुख भीम न्यौपानेले भने, ‘हामीले संघीय सरकारको मापदण्डमा नपरको महिलालाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याएर लाभग्राही सूचीमा राख्ने भएका छौं। यस योजनाबाट उनीहरूलाई लोक कल्याणकारी स्थानीय सरकारको अनुभूति हुनेछ।

तेस्रो नगरसभाबाट नीतिगत निर्णय भएको विशेष सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि नगर कार्यपालिकाले कार्यविधि बनाइसकेको छ। ‘स्थानीय राजपत्रमा कार्यविधि, २०७५ प्रकाशित गरिसकेका छौं। चौंथो नगरसभाका सदस्यलेसमेत यो योजनालाई अत्यन्तै उत्कृष्ट योजनाका रुपमा स्वागत गर्नुभएको छ,’ वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले भने।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com