अमेरिकाबाट बर्षमा अढाई करोडको स्याउ नेपालमा
प्रकाशित मिति : माघ २६, २०७५ शनिबार
जुम्ला र हुम्लाको स्याउले बजार नपाएको अवस्थामा एक बर्षमा अमेरिकाबाटमात्र अढाई करोडको स्याउ नेपालमा निर्यात भएको छ । नेपालको स्याउ भने एक रुपैयाको पनि विदेशमा निर्यात नभएको जनाइएको छ । नयाँ पत्रिकाले विशेष रिपोर्ट प्रकाशित गरेको छ ।
नेपालमा स्याउ चीन, भारत, इटली, थाइल्यान्ड, नामिबिया र अमेरिकाबाट आयात हुन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ करोड, भारतबाट १ अर्ब २५ करोड, नामिबियाबाट ६९ हजार र इटलीबाट २ लाख ३९ हजार रुपैयाँको स्याउ आयात गरेको छ ।
अघिल्लो आवमा चीनबाट ४ अर्ब ६६ करोड, भारतबाट ९३ करोड ७६ लाख, अमेरिकाबाट २ करोड ६१ लाख, इटलीबाट ४ लाख ९६ हजार र थाइल्यान्डबाट २ लाख ५१ हजार रुपैयाँको स्याउ आयात भएको छ । मुलुकमा उत्पादित स्याउले कुल मागको ५ प्रतिशत पनि धान्न सकेको छैन ।
अहिले स्याउ उत्पादनमा सरकारले विशेष कार्यक्रम ल्याएको छ । १ वर्षमै उत्पादन दिने १ लाख स्याउका बिरुवा आयात गरी किसानलाई वितरण गर्ने सरकारी योजना छ ।






