दक्षिण अफ्रिकाका प्रख्यात पूर्व क्रिकेटर जोन्टी रोड्स धनगढीमा , डिपिएल भोली देखि सुरु
प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार
यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताउनुभयो । त्यसमा विजेताले रु ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।
आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न समितिले पनि आआफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्”, उहाँले भन्नुभयो ।






