विदेश नीति कमजोर भएको भन्दै सांसदद्धारा सरकारको कडा आलोचना
प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार
प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा बाेल्ने पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदूत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाउनु भयो । सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदूत नियुक्त गर्ने गरेको उहाँको आरोप छ ।
समितिकी अर्का सदस्य पुष्पा भुसालले देशको विदेश नीति कमजोर हुन पुगेकाे दावी गर्नुभयो । उहाँले देशको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदूत बनाउन नसक्दा विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाइमा सत्यता नभएको दावी गर्नुभयो । उहाँले देशको विदेश नीति सुदृढ हुँदै गएको पनि बताउनु भयो । मन्त्री ज्ञवालीले समृद्धिको अभियानलाई तीव्रता दिन र कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदूत नियुक्ति गरिएकाे दावी पनि गर्नुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदूत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ति प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराउनु भयो । गएकाे असार २४ गते बसेको मन्त्रिपरिषद बैठकबाट पारित गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा पद खाली हुनु ३ महिना अघि नै राजदूत नियुक्तिको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ ।






