श्रम मन्त्रालय भन्छ : ‘भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ आधारहीन हल्ला मात्रै !
प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार
‘भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार आधारहीन हल्ला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको जानकारीबिना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भयो भन्नेबारेमा मन्त्रालयले बुधबार स्पष्ट पार्ने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘यस सम्बन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने नै छौँ ’ प्रेस विज्ञप्तिमा लेखिएको छ|
आधारहीन हल्लाको पछि नलाग्न आग्रह गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘यहाँहरु एक जिम्मेवार नागरिकसमेत हुनुभएको हुँदा यसप्रकारको आधारहीन हल्लाको पछि लाग्नुहुने छैन भन्नेमा मन्त्रालय विश्वस्त रहेको व्यहोरासमेत अनुरोध गर्दछौँ ।’






