सर्वोच्चको परमादेश: एनसेलबाटै लाभकर असुल्नू
प्रकाशित मिति : माघ २३, २०७५ बुधबार
एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा सर्बोच्च अदालतले परमादेश दिएको छ । प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएपछि गत बिहीबारबाट सुनुवाई सुरु भएको थियो । बुधबार (आज) प्रधानन्यायाधीश राणालगाएत पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशबाट कर असुली गर्न परमादेश दिएको हो । दुवै पक्षको बहसपछि सर्बोच्चले बुधबार फैसला सुनाएको हो ।
गत मंगलबार अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायी र निवेदक द्वारिकानाथ ढुङ्गेलले बहस गरेका थिए । निवेदक र विपक्षी दुवै पक्षको बहस सकिएपछि दवै पक्षका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणासमेत राखेका थिए ।
यता एनसेल आफैले लाभकर तिर्नुपर्ने पक्षमा निवेदक द्वारिकानाथ ढुङ्गेलका कानुन व्यवसायी उभिएका छन्, भने अर्को एनसेल र रिटमार्फत अदालत पुगेका अधिवक्ता भावेष गौतमका कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर तिर्नुपर्ने पक्षमा उभिएका छन् ।
यो भन्दा अगाडि तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले हतारमा मुद्दा सक्ने प्रयत्नसमेत गरेका थिए । तर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिदामा बसेपछि सुनुवाई नै स्थगित हुनुपुगेको थियो । लाभकर विवादमा अन्तिम सुनुवाइ गत असोज १८ गतेदेखि सुरु भएको थियो ।






