‘जन्माएको छोरा, अस्पतालले दियो छोरी’…


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

अस्पतालले आफ्नो छोरा साटेर छोरी थमाएको भन्दै चौकुने गाउँपालिकाको मायाताल निवासी नवीन गहतराज र भावना आफ्नो छोरा खोज्दै वीरेन्द्रनगर आएका छन् ।नवीन भारतको पिथौरागढमा मजदुरी गर्थे । सोही क्रममा उनले घरमा रहेकी गर्भवती पत्नी भावनालाई चार महिनाअघि भारतमै लगे । त्यही क्रममा जनवरी ११ तारिख (पुस २७) गते भावना सुत्केरी भइन् । भावनाले छोरा जन्माएकी थिइन् । तर, भारतीय अस्पतालले साटेर छोरी थमाइदिएपछि यो जोडी यतिबेला छोरा फिर्ता गराइदिन माग गर्दै नेपालमा हारगुहार गरिरहेको छ ।

भारतको पिथौरागढस्थित जिल्ला महिला अस्पतालमा भावना सुत्केरी भएकी थिइन् । त्यही क्रममा आफूले छोरा जन्माएको र अस्पतालले छोरी थमाएर घर पठाएको भावनाको दाबी छ । भावनाका पति नवीन भन्छन्, ‘ श्रीमतीलाई व्यथा लाग्यो, मैले हतारमा ए म्बुलेन्समा राखेर अस्पताल दौडाएँ । बाटोमै छोरा जन्मियो, तैपनि बच्चा र आमाको स्वास्थ्यका लागि अस्पतालमा लगेर भर्ना गरेँ ।’ छोरा जन्माएको भन्दै एम्बुलेन्सका चालक र एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीले बधाई दिँदै लड्डु खुवाउन भनेकोसमेत नवीनले सुनाए ।तर, करिब पाँच घण्टापछि अस्पतालले आफूहरूलाई छोरी थमाएर निकालिदिएको यो जोडीको गुनासो छ ।‘म होसमै थिएँ, मैले छोरा नै जन्माएकी हुँ’ भावनाले काखमा रहेकी छोरी देखाउँदै भनिन्, ‘यो छोरी मैले जन्माएको होइन, अस्पतालले मेरो छोरा लगेर जबर्जस्ती यो बच्चा जिम्मा लगाइदियो ।’ छोरालाई आईसीयूमा राख्नुपर्छ भनेर नर्सहरूले लगेको उनले बताइन् । उनले भनिन्, ‘पाँच घण्टापछि यो छोरी ल्याएर जिम्मा लगाए ।’ छोरा साटिएको भन्दै यो जोडीले अस्पताल र प्रशासनमा हारगुहार गरेको छ । स्थानीय प्रहरीले उल्टै आफूहरूमाथि कुटपिट गरेर त्यहाँबाट बाहिर निकालिदिएको यो जोडीको दुखेसो छ ।

भारतमा न्याय पाउन नसकेपछि आफूहरू नजिकै रहेको नेपालको बैतडी प्रशासनमा पुगेको नवीनले बताए । तर, बैतडी प्रशासनले पनि गृहजिल्ला सुर्खेतमै गएर उजुरी दिन भन्यो । साटिएको छोरा फिर्ता पाउने आस बोकेर सुर्खेत आइपुगेको यो जोडीलाई स्थानीय प्रशासन र प्रहरीले भारतमा भएको घटनामा आफूहरुले केही गर्न नसक्ने जवाफ दिएर फिर्ता गरिदिएका छन् ।पीडित दम्पतीले भारतीय अस्पतालले थमाएको छोरी आफ्नो नभएको बताएको छ । छोरा साटिएको र अस्पतालले अर्केको छोरी हात लगाएको भन्दै यो जोडीले डीएनए परीक्षण गर्न माग गरेको छ ।भावनाले भनिन्, ‘यो साथमा रहेको छोरी मैले जन्माएको होइन, मेरो छोरा अस्पतालबाटै साटिएको छ । यो छोरीको डीएनए परीक्षण गरेर भए पनि छोरा फिर्ता गरिपाऊँ ।’नवीन भन्छन्, ‘म आफ्नो छोरालाई राम्रोसँग चिन्न सक्छु, गाडीमै जन्मिएपछि मैले नै काखमा राखेर अस्पतालसम्म लगेको हुँ । उसको दायाँ आँखा नजिक सानो कोठी छ, भारतमा कसैले सहयोग गरेनन् । अब नेपाल सरकारले नै हाम्रो छोरा फिर्ता गरिदेओस् ।’ न्यायका लागि नेपालसम्म आउँदा पनि राज्यले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com