चिकित्सकको लापरबाहीले काखको छोरो गुमाएपछि आक्रोशित अभिभावकद्वारा अस्पताल तोडफोड
प्रकाशित मिति : माघ २१, २०७५ सोमबार
दुई वर्षीय बालकको मृत्यु भएपछि मृतकका अभिभावक र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्। अस्पतालको लापरबाहीले २ वर्षीयका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको भन्दै बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका हुन् ।
मेचीनगर नगरपालिका–४ चारआलीका राजवंशीको मृत्यु भएसँगै स्थानीयवासीले आइतबार राति करिब १० बजे अस्पताल तोडफोड गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ वजे अस्पताल ल्याइएको थियो।
आक्रोशित आफन्त र स्थानीयवासी तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।
आकस्मिक कक्षमा राखिएको जेनितलाई नर्सले इन्जेक्शन दिएको केही समय पछि मृत्यु भएको आफन्तको दाबी छ। घटनाले उग्र रुप लिएपछि जनप्रतिनिधिले मृतकका आफन्त र गाउँवासीलाई सम्झाएर वार्ताको वातावरण निर्माण गरेका थिए।हाल बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ ।






