मानवअधिकार आयोगको प्रति वेदन भन्छ: निर्मलाको भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण
प्रकाशित मिति : माघ १४, २०७५ सोमबार
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट भजाइनल स्वाब संकलन त्रुटिपूर्ण भएको पाइएको छ ।
मानवअधिकार आयोगले बनाएको छानविन समितिकाअनुसार सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरेको भेटिएको छ, जुन त्रुटीपूर्ण भएको ठहर छ ।
यो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न नसकिने भन्दै प्रतिवेदनमा भनिएको छ, ‘यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुनसक्ने, परिणाम सही नआउने जस्ता समस्या पाइयो । मुलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटीपूर्ण रहेको पाइयो ।’
पूर्वमहान्यायाधीवक्ता नरेन्द्र पाठकको नेतृत्वमा रहेको समितिले संकलित स्वाबको परीक्षणमा समेत थुप्रै प्रश्न उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाको शवबाट संकलित लो, मिड र हाइ भजाइनल स्वाबको नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले वाई एसटीआर प्रविधिबाट डीएनए परीक्षण गरेको छ । यसले वंश पहिचान गर्न सघाए पनि व्यक्ति पहिचान गर्न सक्ने छैन ।
डीएनएबाट अभियुक्त पत्ता नलाग्ने निश्कर्ष
छानविन समितिले यो डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ । डीएनए प्रविधिको आकर्षक पक्ष नै वालित भन्दा व्यक्ति यकिन गर्नु भएको भन्दै समितिले भनेको छ, ‘यस केसमा भजाइनल स्वाम नमुनाबाट प्राप्त १६ वटा वाई एसटीआर नजिता आगामी दिनमा कुनै आरोपितसँग मिलेको अवस्थामा निज अपराधी भएको एकमात्र बलियो आधार हुन सक्दैन ।’
फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरुबीच १५ वटासम्म वाई एसटीआर मिलेको एक अध्ययनले देखाएको स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, संयोग नै हुनसक्छ सो अध्ययनमा परेका बडू थरका व्यक्ति र निर्मला पन्त केसमा आरोपित बडू थरका व्यक्तिबीच शतप्रतिशत वाई एसटीआर डीएनए मिलेको छ ।’
‘वाई एसटीआरबाट व्यक्ति मिटान सम्भव हुँदैन । शतप्रतिशत मिलेको अवस्थामा निजबाहेक सो डीएनए अन्य व्यक्तिमा भए नभएको, भए कति जनामा भएको डाटा चाहिन्छ ।’
निर्मला पन्तको केसमा पुरुष र महिलाको अलग गरिएको डीएनए नरहेको भन्दै छानविन समितिले बाँकी रहेको भजाइनल स्वाब मात्र थप परीक्षणको विकल्प भएको बताएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सुरुवाती परीक्षणमा मुख्य भजाइनल स्वाबको प्रयोग, सो समेतबाट न्यून पुरुष डीएनए प्राप्ति, लामो समयसम्म भजाइनल स्वाब यथास्थितिमा रहन नसक्नु जस्ता आधारमा बाँकी भजाइनल स्वाबबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्याधिक छ ।’
NepalNHRC_PressNote_Recommendation_Direction_NepalGovernment_on_NirmalaPant_Case_2075-10-13






