नेपालीसहितका एसाइलम सुनुवाई सोमबारदेखि, शटडाउनका बेला सुनुवाई परेकाले के गर्ने ?


प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार

सरकार शटडाउन अन्त्यसँगै सोमबारदेखि अमेरिकी अध्यागमन अदालतमा मुद्दाको सुनुवाई सुचारु हुने भएको छ । सरकार शटडाउनका कारण नेपालीका झण्डै डेढसय एसाइलमका मुद्दाहरु स्थगित भएको सन्दर्भमा सोमबारदेखि भने सुनुवाई सुचारु हुने भएको छ ।

सोमबारदेखि अदालतमा अध्यागमन मुद्दाको सुनुवाई तय भएका सबै आवेदकहरु तोकिएको समयमा नै अदालतमा उपस्थीत हुनुपर्ने अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सरकार शटडाउन अन्त्य भएपछि सोमबारदेखि पहिले तोकिएको सबै अध्यागमन मुद्दाको सुनुवाई सुचारु हुनेछ । आवेदकहरु तोकिएकै समयमा अदालतमा उपस्थीत हुन जरुरी छ ।’

तर डिसेम्बर २२ देखि जनवरी २५ सम्म सुनुवाई स्थगित भएका एसाइलमका मुद्दाका लागि भने अदालतले नयाँ सुनुवाईको मिति तय गर्नेछ । उक्त मिति कम्तीमा पनि दुईतीनबर्ष पछाडिकोमात्र पाउन सकिने सम्भावना रहेको श्रेष्ठले खसोखासलाई जानकारी दिनुभयो ।

आफ्नो मुद्दामा वकिलले प्रतिनिधित्व गरेका आवेदकले वकिललाई सम्पर्क गर्न र वकिल नहुनेहरुले आफ्ना ठेगानामा पत्रहरु नियमित चेक गर्न श्रेष्ठले सुझाव दिनुभयो । सुनुवाईको नयाँ मिति सहित अदालतले पत्र पठाउने भएकाले अदालतमा सम्पर्क गर्न खासै आवश्यक नहुने श्रेष्ठको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार देखि अध्यागमन मुद्दाको सुनुवाई सुचारु हुने भएपनि सरकारका तर्फबाट राख्ने अनुवादकका सन्दर्भमा समस्या भएमा भने सोमबारदेखि तय कतिपय मुद्दाको सुनुवाई समेत पछि सर्न सक्ने श्रेष्ठले जानकारी दिनुभएको छ । मुद्दाका लागि तय भएका अनुवादकलाई कम्तीमा एकसाता अगाडि नै जानकारी दिने प्रचलन रहेको सन्दर्भमा सरकार शटडाउनका कारण कतिपय अनुवादकहरुले सुनुवाईका लागि सुचना पाएका छैनन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com