जुम्लामा तेस्रो पटक हिमपात, किसानहरू खुसीले झुमे - KHASOKHAS

जुम्लामा तेस्रो पटक हिमपात, किसानहरू खुसीले झुमे

जुम्लामा पहिलो पटक मंसिर अन्तिममा हिउँ पर्‍यो। त्यो हिउँले जमिन पनि भिजेन। किसानहरुले जमिन भिजिहाल्छकी भनी आश गरेका थिए। तर, प्रशस्त मात्रामा किसानको अनुहार उज्यालो हुन पाएन।

त्यो हिउँले केटाकेटी र मिडियाकर्मीलाई मात्र खुसी बनायो।

दोस्रो पटक जुम्लामा पुस महिनामा हिउँ पर्‍यो करिब ६ इन्च बराबर। दोस्रो पटकको हिउँले किसानलाई खुसी बनायो। चिसो निकै बढेकाले उमेर ढल्केका वृद्धलाई सकस भयो बाँकी सब खुसी भए।

मंगलबार बिहानैदेखि लगातार परेको भारि हिमपातले सबैभन्दा बढी खुसी किसानलाई बनायो। किसानहरुका अनुहार हिउँ परेपछि निख्रिएको आकाशजस्तै भएका छन्।

जति वातावरण अँध्यारो हुँदै फिल्का नाचेर हिउँ पर्छ, उति हर्सित हुँदैछ किसानहरुको मन।

यसरी बेलाबेलामा हिउँ पर्नुले हिउँदे बाली जौ, गहुँ, उवा राम्रो हुन्छ। सबैभन्दा राम्रो वर्षामा हुने फलफूल हुन्छन्।

हिउँदमा हिउँ बढी पर्‍यो भने आरू, ओखर, स्याउ, नास्पातीलगायत जुम्लीलाई धेरै लाभ दिने फलफूललाई आवश्यक पर्ने पानी पूर्ति हुन्छ।

फलस्वरूप फलफूल राम्रा हुन्छन् र किसानले मनग्ये आम्दानी लिन्छन्।

यसरी फलफूल र बालीनाली मात्र नभई वनमा हुने अत्यन्तै लाभदायक गुच्ची च्याउ पनि हिउँदमा बढी हिउँ परेपछि बढी पाइन्छ भने पाटनमा हुने महंगो जीवनबुटी यार्सागुम्बा बढी मात्रामा हुनु पनि हिउँसँगैको साइनो हो। त्यसैले हिउँको सामाजिक, सांस्कृतिक तथा कृषि उत्पादन प्रणालीमा ठूलो महिमा र महत्व छ।

यी सबै कारणले हिउँ र किसानको सम्बन्ध गज्जबको मान्न सकिन्छ। हिउँ साहित्य, संस्कृति र परम्परामा जुम्ला निकै धनी मानिन्छ। माघ महिनामा हिउँ परेको दिन, त्यसको एक दुई दिन पछिसम्म चिसो निकै बढे पनि त्यसपछिका दिनहरुमा भने तातो हुन्छ र हिउँद सकिएको मानिन्छ।

हिउँ आएको बेलाको साहित्य पनि गज्जबको हुन्छ। हिउँको देउडा साहित्य पनि मन लोभ्याउने हुन्छ भन्ने कुरा प्रस्तुत देउडा गीतबाट बुझ्न सकिन्छ।

हिउँ आयो हिउँचुलीबाट, मेघ आयो मालबाट।

म चिठी पठाउन्या छिँया, पछ्यैरी तालबाट।।

मङ्लबार, माघ ८, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com