डा. केसीको मागमा प्रधानमन्त्री ओलीको जवाफ : लोकतन्त्रमा व्यक्ति सर्वोपरी हुँदैन


प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उहाँले लोकतन्त्रमा कुनै पनि व्यक्ति विशेष सर्वोपरी हुन नसक्ने भन्दै कानूनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको हो ।

सांसद गगन थापाले सरकारले डाक्टर केसीसंग गरेको सम्झौता विपरित हुने गरी संसदीय समितिले प्रतिवेदन पेस गरेको भन्दै प्रधानमन्त्रीले चाहाना राखे पुर्व सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास हुने थियो भन्ने जिशासामा प्रधानामन्त्रीले संसदको सर्वोच्चता र कानूनको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले संसद र संसदीय सर्वोच्चताको आफुले सम्मान गर्ने भन्दै सरकारले संसदलाई निर्देशन दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “ सम्पुर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने सार्वभौम संसद र यसको सार्वभौमिकता, संसदको अधिकार संसदको सर्वोच्चताप्रति,सार्वभौम जनताको अधिकारको सार्वभौम प्रयोकर्ताको हैसियतप्रति, संसदको विधि निर्माणमा स्वतन्त्र हैसियत प्रति म नतमस्तक छु र सम्मान गर्छु । ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले डाक्टर केसीको अनसन नै सर्वोपरि हुन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “एकजना अनसन बसेपछि देशै बन्धक हुने, तर्कले काम नगर्ने, तथ्यले काम नगर्ने, संविधानले काम नगर्ने, कानुनले काम नगर्ने ,राष्ट्रिय आवश्यकताले काम नगर्ने , आवश्यकताका औचित्यका मार्गहरु अवरुद्ध हुने व्यक्तिको अनसन सर्वोपरी हुने लोकतन्त्रमा हुन्छ ?”

उहाँले डाक्टर केसी संग सरकारले गरेको सम्झौता सत्य निरुपण नभई तात्कालिन परिस्थितिको उपज र आवश्यकताको सम्झौता मात्रै भएको र त्यसप्रति सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको बहुमत छ, को अर्थ संसदको सर्वोच्चता प्रति प्रधानमन्त्री वा सरकार, फेरी वहुमत छ भनेका भरमा संसदीय सर्वोच्चता , यस सर्वोच्च निकायको मर्यादा र गरिमालाई थिचोमिचो गर्न सक्दैन । मेरो आग्रह छ सरकारले गरेको सहमति संसदले कार्यान्वयन गरिदिओस् । तर म आदेश दिन सक्तिन । संसदको आदेश पालना गर्छु । ”

उहाँले डाक्टर केसी संग भएको सम्झौता अनुसार नै सरकारले संसदमा विधेयक पेश गरेको बताएपनि सरकारले गरेको सम्झौता अनुसार नै विधेयक पास गर्ने -नगर्ने सर्वोच्चता संसदसंग मात्रै रहेको र त्यसैलाई आफुले स्वीकार गर्ने बताउनुभयो ।

सरकारले जे ल्यायो त्यो पास गर्नु विधिसम्मत नहुने भन्दै विधि निर्माणको सवालमा संसदलाई बाध्यपार्न र गुमराहमा धकेल्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

कानूनी राजको सिद्धान्तलाई हरेकले मान्नुपर्ने भन्दै उहाँले कानून भन्दा माथि कोही पनि नहुने र सबै कुरा कानून अनुसार हुने स्पष्ट पार्नुभयो । कसैले पनि आफुलाई सर्वोपरी नसम्झिन पनि उहाँले चेतावनी दिनुभयो ।

सांसद थापाले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा संसदीय समितिले तयार पारेको प्रतिवेदनमा ९५ प्रतिशत माग पुरा भईसक्यो भन्ने कुतर्कमा नअलमलिई सरकारले डाक्टर केसीसंग गरेको सम्झौता हुबहु हुने गरि पारित गराउन प्रधानमन्त्रीले चाहना मात्रै राखे संसदले सजिलै त्यो काम गर्न सक्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वय गरि संस्था प्रतिको विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने ? भनी प्रश्न गर्नुभएको थियोे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com