अस्थायी रुपमा सरकार खुलाउने प्रस्ताव ट्रम्पबाट अस्वीकार


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनको अवस्था अस्थायीरुपमा अन्त्य गर्ने सिनेटर लिण्ड्से ग्राहमको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । साउथ क्यारोलिनाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर ग्राहमको प्रस्ताव आफूले अस्वीकार गरेको ट्रम्पले बताएका हुन् ।

ग्राहमले अमेरिकी सरकार अस्थायी रुपमा खुलाउन, सहमतिका लागि छलफल जारी राख्न र पर्खाल बनाउने विषयमा सहमति नभए मुलुकमा संकटकालको घोषणा गर्न ट्रम्पलाई सुझाव दिएका थिए । ग्राहमले कम्तीमा तीनसाताका लागि सरकार खुलाउनका लागि विधयेक पारित गर्ने विषयमा सहमति जनाउन ट्रम्पलाई सुझाव दिएका थिए ।

तीनसाताको अवधिमा सहमतिका लागि प्रयास गर्ने र सहमति नभए संकटकालको घोषणा गर्ने प्रस्तावमा असहमति जनाउँदै ट्रम्पले आफूले संकटकाल लगाउन नचाहेको बताएका छन् । वासिंटन पोष्ट र एबीसी न्युजको एक सवेक्षण अनुशार ५३ प्रतिशत अमेरिकनहरुले अमेरिकी सरकार शटडाउन हुनुमा राष्ट्रपति ट्रम्प दोषी रहेको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com