Follow @khasokhasmag

‘मान्छे’ हाम्रो कुरा बुझ्दैनन्


प्रकाशित मिति : पुस १३, २०७३ बुधबार

काठमाडौं /सामान्य मानिसहरूको भन्दा कम उचाई र  शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाको जस्तो कोमल र अपरिपक्व शारीरिक बनावट भएका मानिसलाई होचापुड्का भनेर चिन्ने गरिन्छ । होचापुड्का मानिसलाई राज्यले अपाङ्ग भनेर परिभाषित गरेको छ भने उनीहरुको छुट्टै पहिचान छैन् ।  अपाङ्गता सम्बन्धी परिमार्जित राष्ट्रिय नीति तथा कार्ययोजना अनुसार यस समूदायमा ७ प्रकारका मानिसहरू पर्छन् । शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवण–दृष्टिविहीन अपाङ्गता, स्वर तथा बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता र बहु अपाङ्गता ।

यस्तै नेत्रहीन, बहिरा, सुस्त मनःस्थिति (बौद्धिक अपाङ्गता), होचापुड्का, हात–खुट्टानभएका, ह्वीलचेयर प्रयोगकर्ता, लठ्ठी, सेतो छडी, वैशाखी टेक्ने र तीनपाङ्ग्रेको सहारामा गुड्ने तथा ‘हेयर–एड’को प्रयोग गर्नेहरूलाई ‘अपाङ्गता’ भएका मानिस मानिन्छ ।
‘अपाङ्गता’भएका मानिसले आ–आफ्नै खालका भौतिक, सामाजिक, आर्थिक शोषण लगायका समस्याहरु झेल्नु परेको छ । होचा पुड्का समूदायका मानिसहरु सबै हिसाबले सक्षम हुँदा पनि शारीरिक विकास राम्रोसंग नभएका कारण समाजमा हाँस्य व्याङ्ग्यको पात्र बनाइन्छ ।
उनीहरुलाई सहयोग र साथ दिनुको सट्टा अपाङ्ग हुनु ‘पूर्वजन्मको पापको फल हो’ भन्ने अत्यन्तै तुच्छ खालको सोचाइ नेपाली समाजमा कायम नै छ । जसको कारण उनीहरु सार्वजनिक ठाउँमा पटक–पटक मानसिक हिंसाको शिकार बन्न बाध्य छन् ।
काठमाडौंकी किरण केसीलाई घरबाट बाहिर निस्कनु भनेकै अपमानित हुनु हो भन्ने लाग्छ । केसीले गहभरी आँशु पार्दै भनिन् ‘होचो हुनु हाम्रो रहर होइन, घरबाट बाहिर निस्कँदा बाटोमा मानिसहरुले अनेकन शब्द प्रयोग गरेर जिस्क्याउँ छन्, त्यो बेला सारै पीडा हुन्छ । समाजमा हामीलाई बाँच्न धेरै गाह्रो छ ।’ समाजदेखि परिवारसम्म आउँदा होचा पुड्काले सहनु परेको पीडा आम मानिसको भन्दा चार गुणा बढी भएको केसी बताउँछिन  .

उनले जस्तै पीडा होचा पुड्का महिला संघका अध्यक्ष सुन्दरी मिश्रले धेरै भोगेकी छिन् । स्कुलदेखि कलेजसम्म मानिसले गर्ने अपहेलनाको गाथा धेरै भएको बताउँदै भनिन् ‘घरदेखि टाढाको स्कुल पढ्न जाँदा मानिसहरु घेरा बनाएर हाम्रो अघिपछि हेर्ने, हिड्ने, हाँस्ने र जिस्क्याउने गर्दथेँ, धेरै मान्छे देख्दा कहिले काँहि त हृदय घात होला जस्तो लाग्थ्यो ।’ ‘मानिसको कुरा छोडौं, कुकुरले समेत हामीलाई लेखेट्छ, त्यो बेला सोच्छु, मानिसले त हाम्रो कुरा बुझ्दैनन् भने जनावरले के बुझ्ला ? अनि आफै चित्त बुझाउँछु ।’

सुन्दरीले आफ्नो समस्या यसरी सुनाउँछिन् ‘कार्यक्रमको लागि भारतमा गएको थिए, शौचालय गएँ, ढोका लक भयो, चुक्कुल पुग्न सकिन चार घण्टा थुनिदा पानी खेलाएर बसे । अहिले त साथी नलिईकन शौचालयनै जाँदैन ।’
प्रायःजसो सार्वजनिक स्थान वा कार्यालयका शौचालयको ढोकाको छेस्किनी माथिल्लो भागमा हुन्छ । बिजुलीका ‘स्विचहरू’होचा पुड्काले भेट्न सक्दैनन् । उनीहरुलाई सहज हुने गरी भौतिक संरचना बनाइएको छैन । नेपाल सरकारले अपाङ्गमैत्री संरचना बनाउने त भनेको छ । तर, काम भने भएको छैन ।

होचा पुड्का मानिसलाई हिड्डुलमा कठिनाइ हुँदा अरूको सहयोग लिनुपर्ने, उचाइ कम हुँदा सवारी साधनमा यात्रा गर्दा, चढ्दा र ओर्लदा कठिन हुने, शौचालयका चुक्कुल ढोकाको माथिल्लो भागमा हुँदा लगाउन नसक्ने र कमोड पनि अग्ला हुँदा सहज तरिकाले प्रयोग गर्न कठिनाइ हुने उनीहरुले बताए ।
यसैगरी मालपोत, प्रमुख जिल्ला अधिकारीको कार्यालय, हुलाक, ब्याङ्क, दूरसञ्चार लगायतका अधिकांश ठाउँहरू अपाङ्ग मैत्री छैनन् । सिनेमा हल, डिपार्टमेन्ट सेन्टरहरू अपाङ्गता भएका नागरिकहरूका लागि उपयुक्त छैनन् । त्यसैले उनीहरू हलमा गएर सिनेमा हेर्दैनन् । डिपार्टमेन्ट सेन्टरहरूमा किनमेल गर्न जान पनि सक्दैनन्  ।

अहिलेसम्म होचा पुड्का व्यक्तिहरूको छुट्टै पहिचान र संख्याको यकीन हुनै सकेको छैन । नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परिभाषामा राखेको छ । नेपाल होचा पुड्का संघले भने धार्मिक मान्यता अनुसार ५२ इन्चसम्मलाई मानवको रूपमा लिएको छ । होचा पुड्का महिलासंघका सदस्य मीना पाठकका अनुसार  नेपालमा करिब ५ हजार होचा पुड्का मानिस छन् । तर, पूर्ण रुपमा अनुसन्धान नभएको उनको भनाइ छ ।

होचा पुड्का मानिसहरूले पनि समाजमा अरू व्यक्तिहरू सरह जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक एवं मानवअधिकार हो भन्ने चेतना समाजमा पटक्कै नभएको होचा पुड्का संघका अध्यक्ष ज्याक गुरुङ बताउँछन् । ‘हामीले पनि सजिलै अधिकार उपभोग गर्न पाउने अवस्था निर्माण गरिनु पर्छ । यस्तो अवस्था निर्माण गर्ने दायित्व घरपरिवार, समाज र राज्यको हो’ गुरुङले भने ।
होचा पुड्का संघका संस्थापक अध्यक्ष तथा कलाकार लोकनाथ ढकाल भन्छन् ‘ समाजमा मात्र होइन, परिवारबाट समेत विभेद हुन्छ । इज्जत जाने डरले होचा पुड्का मानिसलाई अभिभावकले घरबाट बाहिर निकाल्न हिच्किचाउँछन् । हिड्डुलमा समेत स्वतन्त्रता छैन । होचा पुड्का मानिसहरू पनि समाजका अङ्ग हुन् भन्ने समाजिक सचेतना फैलाउनु ज्यादै आवश्यक छ ।’
‘होचो हुनु कुनै अपराध होइन, उनीहरु पनि मानिस नै हुन भन्ने चेतनाको विकास समाजमा नहुँदासम्म यो समूदाय हाँस्य व्याङ्ग्यको पात्र बन्नुका साथै आफ्नो अधिकारबाट बंञ्चित हुनु पर्दछ । त्यसैले समाजमा आफ्नो अधिकार र पहिचान बनाउन होचा पुड्काहरुले  संगठिन आवाज बोल्नुपर्छ’ ढकालले भने ।

यता सरकरले पनि होचा पुड्काको लागि भनेर छुट्टै कार्यक्रम सञ्चालन गरेको छैन । उनीहरुलाई  जनचेतना र व्यावसायी सिपको लागि भन्दै केही अनुदान मात्र दिँदै आएको छ । जसको कारण उनीहरु शिक्षाबाट बञ्चित हुनु परेको छ ।
‘होचा पुड्काले के गर्न सक्छन्’ भन्ने सोच हुने परिवारमा उनीहरुलाई स्कुल पठाइदैन भने  स्कुलमा रहेका भौतिक संरचना अपांगमैत्री नहुँदा स्कुल जानेहरुले पनि स्कुल छोड्नु पर्ने बाध्यता भएको उनीहरुको गुनासो छ ।

विद्यालमा हुने कुर्ची र बेच्नको सहज रुपमा प्रयोग गर्न नसक्दा लक्ष्मी अछामीले आफ्नो पढाई पुरा गर्न पाइनन् ।  काठमाडौंको थानकोट घर भएकी उनले भौतिक संरचनाको साथै साथीहरुले आफ्नो कदलाई लिएर जिस्क्याउने, बाटो हिड्दा लुकेर हिड्नु पर्ने बाध्यता भएकाले पनि कलेज नगएको बताइन । १२ कक्षाको अध्यायन् पूरा गरेकी लक्ष्मीको इच्छा राम्रो विषयमा डिग्री गर्ने थियो । तर, समाज र भौतिक संरचनाको कारण उनको इच्छा अधुरो नै रह्यो ।

उनले आफ्नो पीडा यसरी सुनाइन ‘बाटो हिड्दा मान्छेहरु फर्कि–फर्कि हामीलाई हेर्छन् अनि गल्लल हाँस्छन्, त्यो बेला मन खिन्न हुन्छ । घरबाट बाहिर निस्कन मन लाग्दैन । हिड्नलाई समेत स्वतन्त्रता छैन । यो पनि हामीलाई सार्वजनिक ठाउँमा हुने हिंसा हो । कति जनासँग झगडा गर्ने ? समाजले हाम्रो पीडा कहिले बुझ्ला ?, र स्वतन्त्र रुपमा कसैको अपमान विना हिँड्न पाइन्छ होला भन्ने कल्पना गर्दछु ।’
यस्तै धन कला नेपालीले सबै भन्दा बढि समस्या सार्वजनिक यातायातमा भोग्नु परेको बताइ्न । ‘सुरुमा चढ्न गाह्रो,अपाङ्ग सिट छ ,तर छोड्दैनन । उभिनका लागि समाउने ठाउँ पुग्न सकिदैन । त्यसमाथि मानिसहरु एकोहोरो आँखा तानेर हेर्न लाग्छन् ।’

ब्याचलर दोस्रो वर्षमा अध्यायन गर्दै गरेका सागर ढकाल भने अरु भन्दा फरक सोच राख्छन् । उनी भन्छन् ‘हामी समाजमा अरु भन्दा फरक छौँ र हेर्छन, हाँस्छन् त्यो हाम्रो कुरा होइन त्यो चेतना भएका मानिसको संकोचित सोच हो, हामी दुःखी हुनु हुँदैन ।’ सागरले राज्यले होचा पुड्का मानिसहरूका लागि शिक्षा, स्वास्थ्यका साथै रोजगारीको ग्यारेन्टी गरिदिए आत्मनिर्भर बनेर  समाजमा उदाहरण प्रस्तुत गर्ने र समाजमा रहँदै आएका जति पनि नकारात्मक सोच छन्, ती कम हुँदै जाने दाबी गरे । उनले अगाडि थप्दै भने ‘हामीहरु आत्मनिर्भर हुँदा राज्यका लागि घाटा होइन फाइदा हुने कुरा हो । यसले मुलुकको विकासमा सकारात्मक प्रभाव पार्छ ।’

नर्वे स्थित सिन्टेफ नामक अन्तर्राष्ट्रिय अनुसन्धान संस्था र नेपालको भ्याली रिसर्च ग्रुप तथा राष्ट्रिय अपाङ्ग महासंघले गरेको अध्यायन अनुसार अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न आधारभूत सेवा सुविधामा हुने पहुँच ७० देखि ९० प्रतिशत सम्म फरक परेको देखिन्छ । अर्थात् नीतिगत रूपमा व्यवस्था भएपनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सेवा सुविधामा पहुँच पुग्न सकेको छैन । व्यावसायिक पुनःथापना र कानुनी सल्लाह जस्ता सेवा प्राप्त गर्ने कुरामा सबैभन्दा बढि फरक देखिन्छ ।
अपाङ्गता नभएका व्यक्तिहरूमा भन्दा भएका व्यक्तिहरूमा सामान्य स्वास्थ्य समस्या, सूचनामा कम पहुँच, बेरोजगारीको दर, निरक्षरताको दर, विद्यालय छोड्ने दर, घरमा हुने न्यूनतम सेवाहरूको कमी जस्ता कुरा बढीपाइएको अध्यायन प्रतिवेदनमा उल्लेख छ ।
लैङ्गिक दृष्टिकोणले हेर्दा अपाङ्गता भएका पुरूषभन्दा महिलानिकै कम विद्यालय जाने, कम साक्षरता दर, कामकाजी जीवनमा कम सहभागिता, सहयोगि सामाग्रिमा कम पहुँच, न्यून सामाजिक सहभागीता र बढि दीर्घ रोग लिइ बाँचिरहेको पाइयो छ भने केहिले सार्वजनिक सेवामा विभेद अनुभव गरेको अध्यायमा देखाएको छ ।

अध्ययनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन गर्न प्रयोग गरिएका प्रश्नावलीहरूले सामाजिक आर्थिक सूचकाङ्कहरू, आर्थिक क्रियाकलापहरू, आम्दानी, स्वामित्व एवम् भौतिक संरचना, प्रजनन स्वास्थ्यसंगै सामान्य स्वास्थ्य, स्वास्थ्य सम्बन्धी जानकारीमा पहुँच, सेवाहरूमा पहुँच, सूचनामा पहुँच, शिक्षा, सामाजिक सहभागीता र बिभेद एवम् दुव्र्यवहारबाट मुक्ति जस्ता जीवन स्तरका विभिन्न सूचकाङ्कहरूलाई समेटेको छ ।

यता नेपालबाट दुई जना होचा पुड्काको नाम गिनिज बुकमा लेखिएको छ । उनीहरुले राष्ट्रको नाम राखे तर, चन्द्र बहादुर डाँगीको लाश अमेरिकाबाट ल्याउन महिनौ लाग्यो । पहिलो गिजिन बुकमा नाम दर्ज गर्ने खगेन्द्र थापा मगर गुमनाम छन् । सामान्य मानिसले गिनिज बुकमा नाम दर्ज गरेको भए कति चर्चा हुने थियो, होचा पुड्का भएकै कारण सम्मान हुन नसकेको उनीहरुले गुनासो गरे ।
यता लामो समयदेखि अपाङ्गता अधिकारकर्मीले राज्यका हरेक संरचनामा आफूहरूको समान सहभागिता हुनुपर्ने, अपाङ्गतामैत्री भवन निर्माण गरिनु पर्ने र भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने लगायत माग राख्दै आएको भएपनि कार्यन्वयन भने हुन सकेको  छैन । अपाङ्गका लागि छुट्टाएको ५ प्रतिशत आरक्षणको अधिकार सबै समूहका अपाङ्गको पहुँचमा भएको देखिदैन ।

होचा पुड्का संघका अध्यक्ष ज्याक गुरुङले भने ‘अहिलेसम्म सरकारले ढुङ्गामुडा गर्नेको मात्र आवाज सुनेको छ । हामीले गरेको शान्तिपूर्ण आन्दोलनको वास्तै गर्दैन, सरकारले आफै भन्दै आएको कुरा विद्यालय, अस्पताल सरकारी भवन, सार्वजनिक यातायात र जनताका काम हुने अन्य गैरसरकारी निकायका भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउनु पर्छ भन्ने नीतिलाई छिटो भन्दा छिटो कार्यन्वयन गर्नु पर्यो ।’ अपाङ्ग मीना पाठक भन्छन् ‘हामीलाई विभेद घरबाटै सुरु भएको छ । घरमा भएका सामानहरु हाम्रो पहुँचभन्दा टाढा हुन्छन् । त्यसको परिवर्तन पहिला घरबाट नै सुरु हुनुपर्छ ।’ हरेक आमाबाबुले अरू सन्तान सरह होचा पुड्का सन्तानलाई पनि मायाममता र अन्य सुविधा उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । होचा पुड्काहरुको समूदाय आर्थिक र राजनीतिक अधिकारका लागि पनि संगठित भएर निरन्तर लडिरहेको भएपनि सुनुवाई हुन सकेको छैन ।

फरक मानिसको फरक क्षमता र आवश्यकता पनि फरक हुन्छ । त्यसैले सरकारी निकायबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिने कार्यक्रममा होचा पुड्का मानिसहरूका लागि पनि छुट्याइनुपर्छ ताकि उनीहरु कसैको सहारामा बाच्न नपरोस् । आत्मनिर्भर भएर बाँच्न सकुन् ।

श्रोत : सञ्चारिका समुह

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com