Follow @khasokhasmag

महिला नेतृत्व : अझै अमान्य


प्रकाशित मिति : पुस १३, २०७३ बुधबार

व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख पदमा महिलालाई देशले स्वीकार गरे पनि अझै पनि नेपाली समाजका विभिन्न क्षेत्रमा महिलाको नेतृत्व सहजै स्वीकार गरिँदैन ।

विराट अनुपम

सुनसरी । तेह्रथुम पिप्लेकी नर्वदा सिग्देल सुवेदीले आफ्नो घरको रेखदेख र आमाको समेत स्याहारसुसार गर्नुपर्छ । तेह्रथुम सदरमुकाममुनिको उराठे गाउँमा एक्लै बस्ने आमाका एक मात्र छोरा नर्वदाका दाइ वैदेशिक रोजगारमा गएकाले उनले आमालाई माइतीमा रेखदेखसमेत गर्नुपरेको हो । आमाको पाठेघरमा समस्या र मिर्गौलामा ऐंजेरु पलाएपछि उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिरहनुपर्छ ।
नर्वदाले आमालाई गएको दशैँ अगाडि एक महिना अस्पतालमा राखेर उपचार गराइन् । आमाको पाठेघरमा पलाएको ऐंजेरु निकाल्नुपर्ने भयो । तर, अप्रेसन गर्न डाक्टर हच्किए । डाक्टरले ‘आइमाई, केटाकेटीको भरमा हुन्न, यस्तो अप्रेसन गर्न घरको मूल अभिभावक चाहिन्छ’ भनेपछि उनी खिन्न भइन् । डाक्टरको भनाइ स्मरण गर्दै सुवेदीले भनिन्, ‘आमालाई पाल्न, स्याहार्न र अस्पताल लान मैले हुने, तर अप्रेसन गर्नचाहिँ पुरुष अभिभावक चाहिने । कस्तो नियम ?’
इटहरी– २२ बिसनपुरकी शर्मिला दनुवार एक वर्षदेखि इटहरी आसपासमा विद्युतीय रिक्सा चलाउँछिन् । लामो समय रिक्सा चलाएपछि उनले सिटी सफारीे चलाउनेको सङ्गठनमा अध्यक्ष हुने इच्छा देखाइन् । तर, पुरुषबाहुल्य सङ्गठनले उनलाई अध्यक्षमा पत्याएन । उनी भन्छिन्, ‘तैँले रिक्सा कुदाउँदिनस् भन्दैनन्, तैँले क्षमता राख्दिनस् पनि भन्दैनन् । तर, अध्यक्षचाहिँ किन हुनुप¥यो मात्रै भन्छन् ।’ विदेशमा रहेका श्रीमान्ले खर्च नपठाएपछि दुई सन्तान र एक हजुरआमा पालेर व्यवसाय गर्दै आएकी शर्मिला भन्छिन्, ‘म आइमाई भएकाले अध्यक्ष हुन दिएनन् ।’
व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख पदमा महिलालाई देशले स्वीकार गरेको भए पनि समाजका विभिन्न क्षेत्रमा महिलाको नेतृत्व अझै पनि स्वीकार गरिँदैन भन्ने यी केही दृष्टान्त हुन् । यस्ता उदाहरण धेरै छन् ।
इटहरी– ४ लालीगुराँस टोलकी दुर्गा गौतम अर्को उदाहरण हुन् । केही हप्ता पहिले लालीगुराँस टोलले बाटो पिच गर्नेबारेमा छलफल गर्न मिटिङ बोलायो । मिटिङमा दुर्गा पनि सहभागी थिइन् । मिटिङमा आएका पुरुष अगुवाले ‘घरमा बुबा वा दाइ छैनन् ? कसैलाई पठाइदिए हुन्छ नि’ भने । दुर्गाको घर उनी आफैँले चलाएकी छन् । उनका बुबा बाहिर छन् । घरखर्च उनले आफैँ जुटाउनुपर्छ । तर, टोलको विकास गर्ने छलफलमा उनलाई पुरुषले हेपेर बोले । दुर्गा भन्छिन्, ‘मैले टेलरिङ गरेर घरको पानी, बिजुली, ग्यास र अन्य खर्च जुटाउँछु । तर, मलाई घरमूली ठानिँदैन ।’
नेपाली समाजमा महिला सशक्तीकरण र नेतृत्वका विषयमा ठूला–ठूला बहस र विवेचना भए पनि महिलालाई नेतृत्व दिन र नेतृत्व स्वीकार गर्न समाजलाई सकस परिरहेको छ । समाजशास्त्रअन्तर्गत ‘लघु वित्त र महिला सशक्तीकरण’ विषयमा एमफिल गरेकी सम्झना वाग्ले भट्टराई भन्छिन्, ‘निर्वाचन गरेर महिलालाई स्वीकार गर्नु त परै जाओस् उनीहरूले पाएको पदमा पनि हेपिन्छ ।’ पुरुषले गरेको गल्तीचाहिँ प्राविधिक हुने, तर महिलाले गरेको सामान्य गल्तीलाई लैङ्गिक अपव्याख्या गर्ने नेपालको पितृसत्तात्मक समाजको चरित्र भएको भट्टराईको तर्क छ ।

नेपालको जनसङ्ख्या र वैदेशिक रोजगारका आँकडाहरू हेर्ने हो भने पनि नेपालमा महिला क्षमता र बाध्यता दुवै कारण नेतृत्वदायी अवस्थामा पुगेको देखिन्छ । नेपालको जनगणना २०६८ अनुसार मात्रै १९ लाख २१ हजार चार सय ९४ नेपाली नेपालबाहिर छन् । यसमा ठूलो सङ्ख्यामा पुरुष छन् । तिनका घरको नेतृत्व महिलाले गरिरहेका छन् ।
अनुपस्थित पुरुष जनसङ्ख्याको कारण नेपाली समाजमा महिला नेतृत्वको आर्थिक र सामाजिक भूमिका बढेको अधिकारकर्मीहरू बताउँछन् । महिलाको पक्षमा कलम चलाउने कवि सीमा आभास भन्छिन्, ‘अझै पनि सामाजिक र राजनीतिक क्षेत्रमा महिलाको हस्तक्षेपकारी उपस्थिति छैन । तर, समाजचाहिँ यति पुरुषवादी छ कि अझै पनि महिलाले कोटाका आधारमा मात्रै पदहरू पाएको तर्क गर्छ ।’  सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महिला कोटाका आधारमा मात्रै उक्त पदमा पुगेको सामाजिक बुझाइ छ, । हालै ‘म स्त्री अर्थात् आइमाई’ नामको कविताको सङ्ग्रह सार्वजनिक गरेकी आभास भन्छिन्, ‘समाजले घर्तीले युद्ध लडेको, कार्कीले कानुन पढेको र भण्डारीले काठमाडौंबाट प्रत्यक्ष निर्वाचन जितेको देख्दैन ।’  क्षमताले पदमा पुगेकालाई कोटाको उम्मेदवारजस्तो देख्नु महिलाको क्षमतालाई अवमूल्यन गर्नु हो भन्छिन् कवि आभास । संविधानमा

व्यवस्था भएबमोजिम पाएको कोटा पनि नपाएका महिलाले समाजका विभिन्न क्षेत्रहरूमा नेतृत्व दाबी गर्दा नपाउनु पुरुष सत्ताको सङ्कीर्ण मानसिकता भएको समाजशास्त्री सम्झना भट्टराईको तर्क छ । ‘एक त महिलालाई स्वीकार्नसमेत समाजलाई अपच छ । तर, जब काम देखाएर एउटी महिला नेतृत्वमा आउँछे उसलाई रोक्न समाज तयार हुन्छ,’ भट्टराई भन्छिन्, ‘महिलाले पुरुषजत्तिकै क्षमता राख्छन्, यही कुरा बुझेर महिलालाई घरमा र घरबाट समाजको नेतृत्वमा सहर्ष स्वीकार गर्नुको साटो अनेक समस्या तेस्र्याइन्छन् ।’
महिला सशक्त भए मात्रै मुलुक सशक्त हुन्छ भन्ने बताउने आभास महिलालाई आर्थिक र सामाजिक रूपमा जिम्मेवार र नेतृत्वदायी बनाउन आवश्यक ठान्छिन् । सर्वप्रथम ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्न समाजका हरेक क्षेत्रमा महिलाको नेतृत्वकारी भूमिका स्वीकार्नुपर्ने भट्टराईको तर्क छ ।

सुरुमा महिला नेतृत्वलाई घरले स्वीकार गर्नुप¥यो र घरबाट निस्किएको नेतृत्वलाई समाजले पत्याउनुप¥यो । तर, यो अभियानले सफलता पाउन सजिलो छैन । नत्र नर्वदा सिग्देल सुवेदीको सहमतिमा आमाको अप्रेसन हुन्थ्यो । शर्मिला दनुवारले दाबी गरेको विद्युतीय रिक्सा सङ्घ अध्यक्ष स्वीकार्य हुन्थ्यो, अनि दुर्गा गौतमलाई टोल विकास समितिले प्रतिनिधि स्वीकार गथ्र्यो होला । त्यो अझै हुन सकेको छैन ।  (सञ्चारिका फिचर सेवा) (विराट, इटहरीका पत्रकार हुन् ।)

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com