ममताले पाइन नागरिकता


प्रकाशित मिति : पुस ६, २०७३ बुधबार

पत्रकार स्वर्गीय कर्ण बोहराका धर्मपत्नी ममताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।  नेपाल पत्रकार महासंघको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको एक टोलीले उनी उपचाररत काठमाडौंको भेनस अस्पतालमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो । सो अवसरमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, कोषाध्यक्ष सूर्यमणि गौतमलगायतको उपस्थिति रहेको थियो ।

महासंघका अध्यक्ष डा. विष्टले श्रीमती ममता (बोहरा) ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेपछि अब उनको उपचारका लागि सरकारी सहुलियत तथा सुविधा पाउन सहज हुने विश्वास व्यक्त गरे ।

श्रीमती ममता दुवै मृर्गौला बिग्रेका कारण केही महिनादेखि डाइलोसिस गराइरहेकी छिन् । पत्रकार बोहराको गत (मंसिर) १० गते निधन भएको थियो । यसैबीच, महासंघले श्रीमती ममताको उपचारका लागि देशभित्र र बाहिरबाट सहयोग संकलन जारी रहेको जनाएको छ ।

महासंघको केन्द्रीय समिति तथा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले उनको उपचारमा सहयोगका लागि आह्वान गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग प्रदान भइरहेको छ ।

महासंघका सुदूरपश्चिम क्षेत्रीय संयोजक एवं केन्द्रीय सदस्य प्रकाशबिक्रम शाहका अनुसार हालसम्म संकलन भएको तीन लाख रुपैयाँ संकलन गरिसकेको छ । त्यस्तै, महासंघको कञ्चनपुर शाखाबाट डेढ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै क्यानडामा रहेका नेपालीहरूबाट एक लाख ६० हजार रुपैयाँ संकलन गरेर पठाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com