निर्मलाका लागि न्याय अभियान , देशमा न्याय हराएको भन्दै दिउँसै टर्च बालेर न्याय खोज्दै कन्चनपुरबासि


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको दोषी पत्ता नलागेपछि निर्मलाका न्यायका लागि दबाब दिँदै आएको नागरिक संघर्ष समितिले न्याय हराएको भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको छ । घटनाको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले बुधबार हराएको न्याय खोज्न भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको हो । अधिकारकर्मी सहितको संघर्ष समितिले बुधबार जिल्ला प्रशासनको हाताभित्र नाराजुस गर्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेका हुन् । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् ।

यसअघि, नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर विरोध जनाएका थिए । तर, बुधबार भने संघर्ष समितिले प्रशासनको मूल गेटमै बसेर टर्च बालेर विरोध प्रदर्शन गरेका छन् ।उनी हरुले निर्मला जस्ता छोरीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । संघर्ष समितिले दबाबमूलक आन्दोलनसँगै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा पनि ऐक्यबद्धता जनाउदै आएको छ । सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे पुनः छलफल गरी आन्दोलनका थप कार्यक्रम तय गरिने अधिकारकर्मी शारदा चन्दले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com