उपल्लो मुस्ताङमा हिउँदमै बाढी, ८ काठेपुल र ४ पानी घट्ट बगायो


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

हिमाली क्षेत्र माथिल्लो मुस्ताङको ढाकमार खोलामा हिउँदमै बाढी आउँदा ८ काठेपुल र ४ पानी घट्ट बगाएको छ ।

आइतबार बिहान ९ बजे सबैलाई चकित पार्नेगरी बाढी आएको हो । घनी गाविसमा पर्ने यो क्षेत्रका अधिकांश बासिन्दा चिसो सुरु भएसँगै जाडो छल्न बेंसी झरिसकेको जनाइएको छ । त्यहाँको प्रहरी चौकी पनि नजिकैको चौकीमा सारिएएकाले र स्कुल पनि बन्द भएको त्यसक्षेत्रमा सम्पर्क गर्न कठिन भइरहेको छ । छानविनका लागि जिल्लाबाट त्यसतर्फ टोली परिचालन गरिएको छ ।

जोमसोमबाट डेढ दिनको पैदल दुरीमा पर्ने ढाकमारमा पुसको चिसो हिउँदमा पनि बाढी आउनुको कारण खुल्न नसकेपनि हिमताल फुटेर बाढी आएको अनुमान गरिएको छ । डोल्पाको सीमानातिर कुनै हिमताल फुटेको स्थानीयको अनुमान छ ।

ढाकमारभन्दा माथि रहेका दुईवटा हिमताल मध्ये कुनै तालमा माथिबाट पहिरो आएर बाढी आएको हुनसक्ने अनुमान छ ।

पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो विश्व तापमानका कारण हिमाली क्षेत्रमा नयाँ नयाँ हिमताल बन्ने र भएका हिमताल विष्फोट हुने खतरा बढ्दै गएको छ। नेपालमा रहेका तीन हजार हिमतालमध्ये २१ वटा ठूला हिमताल फुट्न सक्ने उच्च जोखिममा छन्।

ढाकमारको बाढीबाट कालीगण्डकी तल्लो तटमा भने खासै असर नपर्ने बताइएको छ ।

तर, हिमतालहरु विष्फोट हुने र त्यसमा पहिरो आएर बाढी जाने खतरा बढ्दै गएकाले दीर्घकालीन समाधान खोज्नुपर्नेमा विज्ञहरुले जोड दिएका छ्न् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com