प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि सोमबार बिहान ११ बजे बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले थप समय मागेपछि बैठक यही मंसिर २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र कानून मन्त्री प्रधानमन्त्री कार्यालय पुगेका थिए । बैठकस्थलमै पुगेर देउवाले थप समय मागेका हुन् ।  बैठक स्थगित भएको परिषद् सदस्य एवम् राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउँदैछन् ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा १ महिना अगावै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा पठाइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com