आफ्नै पार्टीका नेता कार्यकर्ताले पत्याउँदैनन् प्रचण्डको सम्पत्ति विवरण


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका ३९ औँ प्रधानमन्त्रीका रुपमा शासन गरिरहेका छन् । उनी अहिले दोस्रो पटक प्रधानमन्त्री भएका हुन । २०६५ साल साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने मौका उनैले पाएका थिए । उनको परिचय यति मात्र होइन, उनी नेपालमा चलेको शसस्त्र युद्धको नेतृत्व गर्ने कमाण्डर पनि हुन ।

उनले नेतृत्व गरेको पार्टीको अध्यक्ष पदमा कब्जा जमाएको २५ वर्षभयो । अहिले पनि प्रचण्ड माओवादी केन्द्रका अध्यक्षनै हुन । अब प्रश्न उठ्छ ‘यस्तो व्यत्तित्वको सम्पत्ति जम्मा एक कठ्ठा जमीन र तीन तोला सुन, त्यो पनि श्रीमती सीताको नाममा !!′ विवरणमा त्यो पनि आफूले कमाएको सम्पत्ति होइन, पैतृक भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको वभेसाइटबाट यहीँ बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण भन्दै चितवनको भरतपुरमा एक कठ्ठा जमीन र तीन तोला सुन रहेको सार्वजनिक भएसँगै धेरै मानिसहरु आश्चर्यचकित परेको कुरा सामाजिक सञ्जालमा अभिव्यत्त गरेका छन् । धेरै समाजिक सञ्जाल प्रयोग कर्ताहरुले प्रधानमन्त्री प्रचण्डको खाली फारम र अन्य मन्त्रीको फारममा अटि नअटि लेखेको सम्पत्ति विवरण देखेपछि प्रचण्डमाथि गालीको वर्षानै भैरहेको छ । यहीँ मौका छोपेर प्रतिपक्षमा रहेका दलका नेता कार्यकर्ताले उनलाई आपत्ति जनक शब्द प्रयोग गर्दै कडा आलोचना समेत गरेका छन् ।

मानौ; उनीहरुको लागि प्रचण्डले बुझाएको सम्पत्ति विवरणको खाली फारम विरोध र सत्ता प्राप्तिको लागि ठूलै एजेण्डा हो ।

सम्पत्ति विवरको खाली फारम बुझाएलगत्तै सबैतिर टिकाटिप्पणी भैइरहेको छ । समान्य मानिसहरुले सँच्चै प्रचण्डसँग सम्पत्ति नभएकै हो त भन्नेमा बहस चलाएका छन् भने प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेता/कार्यकर्ता र पत्रकारहरुको कुरा हेर्दा खासै तर्कसंगत देखिदैन् । उनीहरु बिना प्रमाण प्रचण्डको बदनाम गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ता र पत्रकारहरु बचाउमा लागेका छन् ।

माओवादी केन्द्रभित्रका एकथरी नेता/कार्यकताको विश्लेषण छ ‘युद्धकालमा पनि प्रचण्डको ज्वाईकै नाममा भारतको बैकमा पैसा जम्मा गरिनथ्यो । ज्वाईको नाममा जम्मा भएको पैसालाई लिएर पार्टीभित्र धेरैपटक बहस भएका थिए, त्यसैले उनको नाममा सम्पत्ति नराखिएको हुनसक्छ तर,उनीसँग सम्पत्ति कत्ति हो वास्तविकता हामीलाई पनि थाहा छैन ।’ ‘सार्वजनिक गरिएको जस्तो हो भन्न मिल्दैन, उनका आफ्त र इष्टमित्रको पनि सम्पत्तिको जाँच गरिनुपर्छ । यदि होइन रहेछ भने प्रचण्डलाई नै राम्रै हुन्छ । तर उनीको जीवनशैली सार्वजनिक गरिएको सम्पत्तिसँग पटकै मेल खाँदैन ।’

माओवादी केन्द्रका एक जना नेताले नाम उल्लेख नगरिदिने सर्तमा भने ‘हामी आफै अचम्ममा परेका छौँ । दुई पटक प्रधानमन्त्री, २५ वर्ष पार्टी अध्यक्ष र जनयुद्धका नायिकेसँग त्यत्तिनै हो त सम्पत्ति ! उनको शाहीखान्दानी शैली हामीले देखेका छौँ । त्यसैले शंक्का अरुलाई मात्र होइन हामीलाई पनि छ ।’

खाली फारम बुझाउनुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्डको ‘नौटंकी’ भन्दै कटाक्ष गरेका छन् । अचम्मको कुरा, उनीसँगै युद्धमा लागेका नेता तथा सरकारका मन्त्रीहरु त्यसमा पनि देखिने कमाई नभएकाहरुले बुझाएको सम्पत्ति विवरणलाई आधार मान्ने हो भने प्रचण्डले सरासर झुट लेखेका हुन । होइन भने अब उनीले आफ्नै पार्टीका नेताको सम्पत्तिको श्रोत के हो भनेर खोज्न जरुरी देखिएको छ ।

प्रचण्डको बचाउमा लागेका समाजिक सञ्जाल प्रयोगकर्ता समर्थकहरुको आरोप प्रत्यारोप चलिरहेकै छ । एमाले निकट पत्रकार टिक बस्नेत समाजिक सञ्जालमा लेख्छन् ‘गरीब भए पनि कोही मान्छे प्रधानमन्त्री पुष्पकमल दाहाल जस्तो दरिद्र हुन नपरोस् ।′ यता माओवादी केन्द्र निकटका पत्रकार निर्मल ज्ञवाली समाजिक सञ्जालमा लेख्छन्‘यस्तो कुतर्क मात्रै गर्नेलाई अब ईईई…. भनेर बाँकी सम्पत्ति पनि देखाई देऊ प्रचण्ड ! किन लु्काउने र !!!??? होईन भने उनले आफ्नो सम्पत्तिको घोषणा जति गरे त्यो बाहेक अरु केही छ भने देख्ने माईकालालले देखाए भैगोनी अनि राज्यले त्यो सम्पत्ति जफत गरे हुन्न र ? ! बिरोधका नाममा हदै गर्न त हुन्ननी यार !’

यस्तै पmेसबुकमा लक्ष्मी सापकोटा ब्यांङ्गगर्दै लेख्छिन् ‘तेत्रो जनयुद्ध १७ हजारको वली दिने हाम्रा नेता प्रचण्डको सम्पति विवरण देखेर किन कोलाहल छ । बिनोद चौधरी धनपतिमा दर्ज हुँदा नेपालीको सान नेपालीको मान गौरब भन्ने यी जनता प्रचण्डले सम्पती कमाएकोमा चाहिँ कति दुःखी बनेका, तेत्रो टाउको को मोल तोकेको बेलामा कुनैले तिन्को टाउको झुन्डाएर दाखिल गर्न सकेको भए त्यो अबसर सबैलाई छँदै थियो अहिले केको चित्त दुखाई ? बेर्थैको ।’

प्रतिपक्षमा रहेका राजनीतिक पार्टी नजिकका मानिसहरु प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विवरण जनताको आँखामा छारो हाल्न गरिएको तर्क गर्दछन् । ‘श्रीमतीको नाममा एक कठ्ठा जमीन र तीन तोला सुन देखाउनु निकै लज्जाजनक कुरा हो’ ‘प्रचण्डले छोरा, बुहारी, भाई, ज्वाई र इष्टमित्रको नाममा सपत्ति जम्मा गरेका छन्’ एमालेका केन्द्रिय सदस्यले भने ।

एमालेका युवा नेता योगेस भट्टराई सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री प्रचण्डमाथि प्रहारगर्दै लेख्छन्‘ प्रचण्ड कमरेडको सिद्धान्त जति मिथ्या छ, उहाँले सार्वजतिक गरेको आफ्नो सम्पत्ति विवरण पनि त्यत्तिकै मिथ्या छ । ढांटलाई क्षमा हुँदैन ।’

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले साहित्य पारामा लेखेका छन् ‘माओवादी द्धन्दकालीन पीडितहरु पेरिसडाँडामा आएर करायो, प्र.म. प्रचण्डको आफ्नो अकुत सम्पत्ति सार्वजतिक गर्न डरायो ।’

यसैगरी पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिन्ता व्यक्तगर्दै भनेका छन् ‘नेताहरुको सम्पत्ति विवरणमा ठूलो अंश सुनको देखिनु विडम्बनापूर्ण ! यस्तो अनुत्पादक धन थुपार्नु भन्दा उद्योगलगायत उत्पादनशील क्षेत्रमा लगानी गरौँन !’

युद्धमा सबै गुमायौँ भन्दै हिड्ने नेताहरुसँग सम्पत्ति कहाँबाट आयो ? उनीहरुको सम्पत्तिको हिसाब किताब प्रचण्डले आफ्नै कार्यकर्ता र उनीलाई माया गर्ने जनता तथा शहिद परिवारलाई देखाउनुनै पर्दछ ।

सम्पत्ति सार्वजनिकसँगै प्रचण्डका लुगादेखि टाउकोमा लगाउने जेलको पनि चर्चा चलेको छ । उनले लगाउने महंगा लुगा, गाडी चढ्न र दैनिकी चलाउनको लागि पैसा कहाँबाट आउँछ ? यो धेरैको प्रश्न रहेको छ ।

अर्काथरी मानिसहरु प्रचण्डको जीवनशैलीलाई हेरेर अनुमान लगाउँदै भनेका छन् ‘युद्धको बेलादेखि अहिलेसम्म जम्मा गरेको सम्पत्ति रसरङ्गमै सिध्याएको पनि हुनसक्छ ।’

उनीको मन्त्रिपरिषद्मा रहेका ४१ जना मध्ये सबैभन्दा गरिव उनी नै देखिएका छन् । उनीमाथि आजसम्म पनि फेसबुक र ट्वीटरमा प्रचण्डको ‘नौटंकी’ भन्दै लेखिएको पढ्न पाइन्छ । चारैतिरबाट टिकाटिप्पणी भएपछि उनको निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डसँग अरु सम्पत्ति छ भनेर थाहा पाएको कोही भए देखाउन समेत चुनौति दिएको छ ।

तर, प्रधानमन्त्रीसँग तीन तोला सुन र एक कठ्ठा जमिन मात्रै छ भन्ने कुरामा आम जनताले विश्वास गरेको पाइदैन । अरु मन्त्रीहरुले आफूसँग भएको मोबाइल, ल्यापटप, कम्प्युटरको विवरण समेत सार्वजनिक गरेका छन् भने प्रधानमन्त्रीले झारा टार्ने हिसाबले फारम भरेको आरोप सबैतिरबाट लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com