ममताको शव नेपाल पठाउन र सुमितको उपचारका लागि सहयोग संकलन


प्रकाशित मिति : पुस २, २०७३ शनिबार

अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा ज्यान गुमाउने २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेलको शव नेपाल पठाउन र दुर्घटनामा घाइतेहरुको उपचारका लागि सघाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ ।

दुर्घटनामा ममता कँडेलको ज्यान गएको थियो भने सुमित शाही, बासु काफ्ले र विकाश सिग्देल घाइते भएका थिए । घाइते सुमितको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुमितको भाँच्चिएको हड्डीको शल्यकृया गरिएको छ ।

बिहिबार सुमित शाही नेपाल फर्कन लागेकाले उनलाई विमानस्थलमा छाड्न ममता लगायतका साथीहरु जाँदै गर्दा बाटोमा दुर्घटना भएको थियो । दुर्घटनामा ममताको ज्यानै गयो भने सुमितको हड्डी भाँच्चिएर गम्भिर घाइते भए । बासुको पनि पिठ्युको हाड भाँचिएको छ भने विकाश सामान्य घाइते भएका छन् । सबैजना आइदाहोको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु हुन् ।

ममताको शव नेपाल पठाउन र सुमितको उपचारका लागि सहयोग गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

दुर्घटनामा ज्यान गुमाउने २१ बर्षकी ममता यही शनिबार नेपाल जाने तयारीमा थिइन् । उनी नेपालमा झण्डै साढे २ बर्षपछि आमा बुबा र बहिनीलाई भेट्न जाँदै थिइन् । मानव बेचबिखनमा परेका महिलाको सहयोगका क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी ममता मानब बेचबिखनमा परेका बालिकाहरुका लागि विद्यालय निर्माणको योजना लिएर नेपाल जाने तयारीमा थिइन् । अहिले उनको परिवारले ममताको अन्तिम विदाई नेपालबाटै गर्न चाहेकाले ममताको शव नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ ।

शव नेपाल पठाउन र घाइतेको उपचारका लागि आइदाहो विश्वविद्यालयका विद्यार्थीहरुको संस्था नेपलिज स्टुडेन्ट एसोसिएसनले क्राउडराइजमार्फत सहयोग संकलन अभियान चलाइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com