चारहप्ताको नेपाल बसाईमा गीत संगीत र साहित्यमा खनालको धमाका


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, वरिष्ठ लोक दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनाल गत वर्ष जस्तै यो वर्ष पनि कर्म थलोबाट जन्म थलो नेपाल आए र यहाँ उनले दसैँ तिहार मात्र मनाएनन् चार हप्तामा धेरै महत्त्वपूर्ण कामहरू समेत गरेर कर्म थलो अमेरीका फर्के ।

यस पटक मात्र चार वटा सदाबहार गीत गाएका खनालले आफ्ना गीति एल्बमहरुको सङ्ख्या यस पटक बढाएर ४७ मा पुर्‍याए । उनले आफ्ना सदाबहार गीतहरूको डिभिडी मात्र प्रकाशन गरेनन्, सत्रौँ पुस्तकका रूपमा आफ्नो एउटा अर्को कविता सङ्ग्रह “मुर्दाहरूको बस्ती” पनि प्रकाशित गरेर बजारमा पुर्‍याए ।

खनालले यस पटक पञ्चेबाजाको गीत ‘दुलही रानी कति राम्री हुन’ लगायत चार वटा गीतहरू गाए, एलबम पनि तयार गरे । उनलाई पञ्चेबाजाको गीतमा स्वरमा साथ दिएकी छिन पछिल्लो पिँढीकी चर्चित गायिका पूर्ण कला बिसी र सङ्गीतमा साथ दिएका छन् चर्चित सङ्गीतकार एवम् गायक थानेस्वर गौतमले ।

खनालले यस पटक हरेक हरेक परिवारका लागि मन मुटु छुने लोक आधुनिक गीत पनि रेकर्ड गरेका छन् । बाबु आमा, दाजुभाइ, दिदी बहिनी देखी श्रीमती र छोराछोरीसम्म सबैलाई छुने गीत, सबैका लागि हुने गीत गाएको उनी बताउँछन् ।

उनले यस पटक अत्यन्त रमाइलो झ्याउरे गीत च्यान्टी नानी पनि रेकर्ड गराएका छन् । त्यसै गरी उनले गीत सङ्गीतको क्षेत्रमा आफूलाई पथ प्रदर्शन गर्ने गुरु नारद गौतमको अनुरोधमा वहाँकै शब्द सङ्गीतमा ‘हेर हेर सगरमाथा’ बोलको स्वदेश गान गाएनन् मात्र, एलबम निस्कियो र भिडियो पनि रिलिज भैसकेको छ उनकै बहु प्रतिभाशाली छोरी सुस्मा खनालको निर्माण तथा अभिनयमा ।

खनालले आफ्ना सदाबहार गीतहरूको सँगालो रामप्रसाद खनालका सदाबहार गीतहरू नामक डिभिडी पनि प्रकाशित गरेर बजारमा ल्याए । सबै गीतहरू अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका मार्फत बजारमा ल्याइएको छ भने उनको सत्रौँ पुस्तक कविता कृति  ‘मुर्दाहरूको बस्ती ‘  ऐरावती प्रकाशन काठमाडौँ ले प्रकाशन गरी नेपाल भर बजारमा उपलब्ध गराएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com