सत्ता बाँडफाडमा दलहरुबीच कुरा मिले राजनीतिक गतिरोध अन्त्य हुने


प्रकाशित मिति : पुस २, २०७३ शनिबार

प्रमुख दलका सांसद एवं राजनीतिक विश्लेषकले सत्ता व्यवस्थापनमा दलहरुबीच कुरा मिले अहिलेको राजनीतिक गतिरोध अन्त्य हुने दाबी गरेका छन् ।

एबीसी टेलिभिजनसँग  कुराकानी गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष नेकपा एमालेका सांसदले सर्वदलिय सरकारको निर्माण गरेर निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् ।

माओवादी केन्द्रका नेता एवं सांसद अग्नी सापकोटाले सत्ता समिकरणमा सबैको हिस्सा हुनेगरि दलहरुबीच सहमति भए वर्तमान राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन् । संविधान संशोधन प्रस्ताव समस्या समाधानका लागि ल्याएको दाबी गर्दै संसदबाटै यसको समाधान खोज्नु पर्ने सापकोटाको भनाई छ । एमालेले संसद अवरुद्ध गरेर समस्या बल्झाएको पनि उहाँले आरोप लगाउनु भयो ।

यस्तै प्रमुख प्रतिपक्ष एमालेका नेता एवं सांसद प्रकाश ज्वालाले सत्ता बाँडफाँडमा कुरा मिले अहिलेको गतिरोध अन्त्य हुने दाबी गर्नुभएको छ ।  निर्वाचन गर्ने सर्तमा एमाले जुनसुकै विकल्प  मार्फत सहमति खोज्न तयार रहेको नेता ज्वालाको भनाई छ ।

संशोधन प्रस्तावले कसैको पनि माग सम्बोधन नगरेकोले यसलाई फिर्ता गर्न नेता ज्वालाले सरकारलाई आग्रह गर्नुभएको छ । राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले सत्ता व्यवस्थापनमा दलहरुबीच कुरा मिले अन्य सबै समस्या हल हुने दाबी गर्नु भएको छ ।

संविधान संशोधनको प्रस्ताव संसद मार्फत टुंग्याएर सत्ता बाँडफाँडमा कुरा मिलाउदैअघि बढ्नुनै उत्तम विकल्प भएको उहाँको दाबी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com