अमेरिकामा राष्ट्रपतिका लागि वास्तविक मतदान सोमबार हुने


प्रकाशित मिति : पुस १, २०७३ शुक्रबार

गत नोभेम्बर ८ मा भएको निर्वाचनमा मतदाताहरुले इलेक्टरहरु चुनेपछि अमेरिकामा राष्ट्रपतिका लागि वास्तविक मतदान भने सोमबार हुने भएको छ ।

नोभेम्बर ८ मा चुनिएका इलेक्टरहरुले अमेरिकाको संविधान र संघीय कानुन बमोजिम डिसेम्बर १९ अर्थात् सोमबार राष्ट्रपतिकालागि मतदान गर्नेछन् । इलेक्टरहरुले हालेको मत आगामी जनवरी ६ मा गणना गरिनेछ ।

५३८ जना इलेक्टरहरुमध्ये एकजनाले पहिले नै राजिनामा दिइसकेका छन् भने एकजनाले पहिले आफूले प्रतिबद्धता जनाएका व्यक्तिलाई मतदान नगर्ने घोषणा गरेका छन् । तीनवटा राज्यका इलेक्टरहरु आफूले चाहेको व्यक्तिलाई मतदान गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेका छन् ।

गत नोभेम्बरमा मतदान केन्द्रमा पुगेर मतदान गर्नेहरुले राष्ट्रपतिका लागि हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पलाई मतदान गरेको सोंचेपनि वास्तविक रुपमा उनीहरुले हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पका इलेक्टरहरुलाई मतदान गरेका थिए । इलेक्टरहरुले मतदान गरेपछि जनवरी ६ मा राष्ट्रपति पदका विजयी उम्मेदवारको औपचारिक घोषणा गरिनेछ ।

२७० वटा इलेक्टोरल मत ल्याउने व्यक्ति अमेरिकाको राष्ट्रपति हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com