सरकारका कुनमन्त्रीको सम्पत्ति कति ?


प्रकाशित मिति : मंसिर ३०, २०७३ बिहीबार

सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल,उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि,अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा,सहरी विकासमन्त्री अर्जुन नरसिंह केसी,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक,ऊर्जामन्त्री जनार्दन शर्मा,परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसहित २७ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

त्यसैगरी १४ जना राज्यमन्त्रीको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कस्को सम्पत्ति कति ?

प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख छ । यो पनि स्वआर्जन नभएर पैतृक भनिएको छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधि निकै धनी रहेको देखिएको छ । उनको नाममा सुन ६० तोला र चाँदी १५० तोला रहेको छ ।

सुन र चाँदी दाइजोबाट प्राप्त भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र नीधिबाट हस्ताक्षर भएर जारी भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै उनीसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ । उपप्रधान तथा गृहमन्त्री निधीले सबै आम्दानीको स्रोतको रुपमा पारिश्रमिक, भ्रमण भत्ता र कृषि आयलाई देखाएका छन् ।

यस्तै उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेको उल्लेख छ । उनले भक्तपुरको कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । उक्त जमीन किन्ने पैसा पारिश्रमिक भत्ता, भ्रमण भत्ता, कृषि आदिबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

सोही स्थानमा निधिका नाममा थप ३ आना जग्गा छ । त्यसको खरिद मूल्य ३ लाख ८० हजार रहेको विवरणमा उल्लेख छ । यस्तै भक्तपुरकै कटुञ्जेमा उनको नाममा रहेको थप ४ आना जमीनको भने खरिद मूल्य उल्लेख गरिएको छैन ।

उपप्रधान तथा गृहमन्त्री नीधिको नाममा धनुषा जिल्लामा मात्र विभिन्न कित्तामा १९ विघा जमीन छ । धनुषा जिल्लाको नगराई गाविसका विभिन्न वडामा ती जमीन रहेको विवरणमा उल्लेख छ ।

निधिको नाममा विभिन्न बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ । हिमालय बैंकमा १४ लाख ३७ हजार ५ सय ९३ रहेको छ । उक्त पैसाको आम्दानीको स्रोतको रुपमा जग्गा बिक्री, पारिश्रमिक भत्ता, भ्रमण भत्ता आदि रहेको उल्लेख गरेका छन् । यस्तै हिमालय बैंकमै थप १४ लाख छ । उक्त रकम निधिको पत्नीको नाममा रहेको छ ।

कुन मन्त्रीको सम्पत्ति विवरण कति ? सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोला । 

यस्तै अनकल निधीका नाममा कृषि विकास बैंकमा २९ हजार रहेको छ ।

गृहमन्त्री निधिको नाममा करिब १३ लाख ५० हजार रुपैयाँ विभिन्न व्यक्तिबाट उठाउन बाँकी छ । ऋण तथा सापटी मागेर लगेका र कृषि व्यवसायबाट पाउनु पर्ने उक्त पैसा उठाउन नसकेकोसम्पत्ति विवरणमा उल्लेख छ ।

निधिका नाममा २०५४ सालमा ७ लाख रुपैयाँमा खरिद भएको एउटा निशान भ्यान समेत छ ।

यस्तै उपप्रधानमन्त्री निधिसँग २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ । हाल उक्त घर स्थानीय सहकारी संस्थाले प्रयोग गरेको महराको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । उक्त जमिन पनि उत्पादनमा प्रयोग नभएको उल्लेख छ ।

तस्विर : नयाँ पत्रिका

यस्तै उनको नाममा कत्ति पनि सुन चाँदी नरहेको उल्लेख छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ ।

स्वास्थ्यमन्त्री गगन थापाले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गरेका छन् ।

नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उनको सम्पत्ति विवरणमा लेखेका छन् ।

श्रीमती अन्जनाको नाममा भने २० लाख बढी नगद छ । गगनले श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना रहेको उल्लेख गरेका छन् ।

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नामा रहेका छन् ।

भूमिसुधार मन्त्री विक्रम पाण्डेले  मन्त्रिपरिषद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा अमेरिकामा रहेको सम्पत्ति देखाइएको छैन । मन्त्री पाण्डेले करीव ४३ करोड रुपैयाँ ऋण रहेको देखाएका छन् । उनले काठमाडौं, चितवन र नवलपरासीका महँगा स्थानमा करोडौं मूल्यका जग्गा रहेको विवरण देखाएका छन् ।

काठमाडौंमा पाण्डेका नाममा ११ रोपनी भन्दा बढी जग्गा छ भने चितवन र नवलपरासीमा करीव ३० बिघा जमिन देखिएको छ । पाण्डेले खरिद गरेको मूल्यका आधारमा उक्त जग्गा करीव १० करोड बराबरका छन् ।

मन्त्री पाण्डेका नाममा सवारी साधन देखाइएको छैन । सुन भने एक सय तोला पैतृक सम्पत्तिमा आएको उनले जनाएका छन् ।

त्यस्तै प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी छ ।

कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोड रुपैयाँको शेयर देखाइएको छ ।

राप्रपाका अर्का मन्त्री दीपक बोहोरा दम्पत्तीका बैंक खातामा डेढ करोडभन्दा बढी नगद देखिएको छ भने हातमै १५ लाख रुपैयाँ छ ।

नाममा काठमाडौं काभ्रे लगायतका ठाउँमा करीव ४ करोडको जग्गा जमिन छ । त्यस्तै सुनका गहना १ सय २० तोला र हिराका गहना तीन सेट देखाइएको छ ।

बैंक अफ काठमाडौंमा मेजर शेयरसहित विभिन्न बैंक तथा वित्तीय र व्यवसायिक संस्थामा बोहोराको ६ करोड भन्दा बढीको शेयर रहेको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलसँग चितवन माडीमा २ विघा जमिन छ । यो उनले वि.स. ०५५ सालमा पैत्रिक सम्पत्तिबाट खरिद गरेका हुन् । उनीसँग ५ तोला सुन छ । त्यो सुन उनकी श्रीमती, आमा र भाइबुहारीले प्रयोग गदै आएका छन् ।

यस्तै उनका नाममा विभिन्न बैंकमा करिब ४ लाख बचत छ । सांसदको तलब भत्ता र क्रमिक बचतबाट उक्त पैसा बचत भएको उनले उल्लेख गरेका छन् ।

यस्तै श्रीमती र उनका नाममा ५ लाख बराबरको २८ सय कित्ता शेयर रहेको छ ।

मन्त्री धनीरामसँग धनमात्र छैन, थप १ लाख ५० हजार ऋण समेत छ । यस्तै उनीसँग २ वटा भैंसी र २ वटा बाख्रा छन् ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेसँग विभिन्न बैंकमा १३ लाख रुपैँया बचत छ । शिक्षकको पेन्सन, शहिद परिवारका लागि राज्यले दिएको पैसासहित गरेर उक्त पैसा बचत भएको हो ।

यस्तै उनका नाममा १६ सय १४ कित्ता शेयर रहेको छ । उनले कुलमान गिरीलाई पसल चलाउन १० लाख ऋण सापटी समेत उपलब्ध गराएका छन् । यस्तै गोरखा पालुङटारमा १० हजारमा खरिद गरेको १ रोपनी ३ आना जमीन छ भने गाउँमा १६ रोपनी पैत्रिक पाखो जमीन छ । पाण्डेसँग ९ तोला सुन छ ।

सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसँग १२ लाख बैंक बचत छ । उनका छोराका नाममा ८ लाख बचत छ । भने १० तोला सुन छ । यस्तै श्रीमतीका नाममा सिक्किम र दार्जीलिङ्गमा घर जग्गा रहेको उनले उल्लेख गरेका छन् ।

उर्जामन्त्री जनार्दन शर्माकी श्रीमतीका नाममा १३ लाख लाख ६० हजार बैंक बचत छ । यस्तै श्रीमतीकै नाममा ५ हजार कित्ता शेयर छ । उनका तीन दाजुभाइका नाममा ६० लाख रुपैँया बराबरको सम्पत्ति छ ।

रुकुममा रहेको ४८ रोपनी पैत्रिक सम्पत्ती ६० लाखमा बिक्री गरेको र त्यो सगोलमा रहेको विवरणमा उल्लेख छ ।

कानुन मन्त्री अजय शंकर नायकसँग आफ्नै नाममा कत्तिपनि सम्पत्ति नभएको विवरणमा उल्लेख छ । सिराहा वडमरामाल गाविस वडा नम्बर ६ मा सगोलमा ५ विघा ८ कट्ठा जमिन रहेको छ । उक्त जमिन उनको पैतृक सम्पत्ति हो । यस्तै सिराहा, धनुषा र उदयपुरमा गरेर थप ९ विघा पैत्रिक जमिन रहेको छ ।

यस बाहेक उनीसँग व्यक्तिगत रुपमा कुनै सम्पत्ति नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

शिक्षा राज्यमन्त्री धनमाया वि.क.ले पेश गरेको सम्पत्ति विवरणमा विभिन्न बैंकमा करिब ५८ लाख रुपैँया बचत देखाइएको छ । योसँगै उनीसँग धनकुटामा ४५ रोपनी पाखो जमीन छ । उक्त जमिन उनका बुवाको नाममा छ ।

यस्तै धनमायाले धनकुटा नगरपालिकामा ५ आना घडेरी किनेकी छिन् । यो उनले पारिश्रमिकबाट आर्जन गरेको उल्लेख गरेकी छिन् । यस्तै इटहरी नगरपालिकामा अर्को ६ आना घडेरी किनेकी छिन ।

सम्पत्ति विवरणमा जनाइए अनुसार धनमायासँग १० तोला सुन छ । विभिन्न बैंकमा गरेर उनीसँग ५८ लाख रुपैँया बचत छ । उक्त रकम शहिद परिवारलाई राज्यबाट दिएको पैसा र तलबभत्ताबाट जम्मा भएको विवरणमा उल्लेख गरेकी छिन् ।

यस्तै उनी विलासिताको सामानमा बढी खर्च गर्ने माओवादी नेतृमा दरिएकी छिन् । उनी करिब डेढलाख पर्ने महंगो पलङमा सुत्ने गरेकी उनैले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले एक थान आइफोन खरिदका लागि एक लाख ५० हजार खर्च गरेकी छिन् ।  यस्तै एक थान कम्प्युटरलाई ६५ हजार तिरेको उल्लेख गरेकी छिन् । उनले हरेक बस्तु खरिदमा तिरेको मूल्य र उपभोग गरेको सामानको मूल्य अस्वाभाविक देखिन्छ । यतिमात्रै होइन, धनमायाले २ थान ल्यापटपका लागि २ लाख ४० हजार तिरेको देखाएकी छिन् भने २ थान टिभीलाई १ लाख ५० हजार तिरेकी छिन् । चार थान दराजका लागि २ लाख ५० हजार तिरेको उल्लेख गरेकी छिन् ।

उनले एक थान सोफा सेटका लागिमात्रै १ लाख ५५ हजार खर्च गरेकी छिन् ।

कृषि राज्यमन्त्री राधिका तामाङ्गसँग ९ लाख ऋण छ । उनले काठमाडौं तारकेश्वरमा चार आना जग्गा खरिद र टहरा निर्माण गर्दा ऋण लागेको हो । त्यहाँ उनले कृषि फार्म रहेको बताएकी छिन् । उनले उक्त घडेरी १२ लाखमा खरिद गरेकी थिइन् । यस्तै उनीसँग पाँच तोला सुन छ ।

युवा तथा खेलकुद मन्त्री दलजीत विश्वकर्माका नाममा रुकुमको महत गाविसमा पुख्र्यौली घरबारी रहेको छ । यस्तै उनले जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाशबाट प्राप्त रकमले दाङ घोराही नगरपालिकास्थित सुकुम्बासी बस्तीमा १५ कठ्ठा जमीन खरिद गरेको देखाएका छन् ।

यस्तै उनकी श्रीमती सुनकुमारी वि.क.ले माइतीबाट विवाहमा पाएको २ तोला सुन रहेको छ । उनले आफ्ना नाममा कृषि विकास बैंक र एभरेष्ट बैंकमा गरी करिब ११ हजार रुपैयाँ बचत देखाएका छन् । यस्तै वि.क.ले विभिन्न व्यक्तिसँग १० लाख ऋण सापटी समेत लिएका छन् । उनले आफ्नी श्रीमतीको उपचारका लागि उक्त रकम ऋणमा लिएका हुन् ।

उनीसँग ५ हजार ५ सय पर्ने एक थान मोबाइल छ भने ८ हजारको एउटा घडी छ । यस्तै १२ हजार ५ सयको एउटा टीभी खरिद गरेका छन् । यो सबै उनले ०७२ सालमा खरिद गरेका हुन् ।

कृषि मन्त्री गौरीशंकर चौधरीका नाममा कैलालीको बसौटीमा ४ वटा कच्ची घर छन् । धनगढीमा २ वटा पक्की घर छन् भने थप २ अर्को कच्ची घर रहेको छ ।

मन्त्री चौधरीसँग कैलालीमा पुख्र्यौली सम्पत्तिका रुपमा ४ विघा ६७ धुर जमीन छ । उनीसँग पाँच तोला सुन छ भने १० लाख रुपैँया बचत छ । सवारी साधनमा २ थान मोटरसाइकल रहेको छ ।

स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुसँग पाँचथरमा करिब २२ लाख पर्ने ५३ रोपनी पाखो जमीन छ । यस्तै इलाममा २० लाख बराबरको ४ आनाको घडेरी छ ।

राज्यमन्त्री करोडपति मन्त्री हुन् । उनका नाममा पाँचथर फिदिममा थप करिब ५ करोड बराबरको जमीन र घडेरी रहेको उल्लेख छ । त्यसमध्ये बुवाका नाममा तीन करोडको जमीन छ । बाँकी श्रीमतीका नाममा रहेको छ ।  यस्तै उनीसँग थप १५ तोला सुन छ । विभिन्न बैंकमा ५ लाख ४० हजार बचत छ ।

जबेगुले करिब ५ लाख बराबरका मार्क्सवादी दर्शनशास्त्र र राजनीतिक विषयवस्तुका किताब खरिद गरेका छन् । त्यो उनले आफैँ खरिद गरेको बताएका छन् । मन्त्री जबेगुसँग १० वटा सुँगुर पनि छन् ।

स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुसँग पाँचथरमा करिब २२ लाख पर्ने ५३ रोपनी पाखो जमीन छ । यस्तै इलाममा २० लाख बराबरको ४ आनाको घडेरी छ ।

राज्यमन्त्री करोडपति मन्त्री हुन् । उनका नाममा पाँचथर फिदिममा थप करिब ५ करोड बराबरको जमीन र घडेरी रहेको उल्लेख छ । त्यसमध्ये बुवाका नाममा तीन करोडको जमीन छ । बाँकी श्रीमतीका नाममा रहेको छ ।  यस्तै उनीसँग थप १५ तोला सुन छ । विभिन्न बैंकमा ५ लाख ४० हजार बचत छ ।

जबेगुले करिब ५ लाख बराबरका मार्क्सवादी दर्शनशास्त्र र राजनीतिक विषयवस्तुका किताब खरिद गरेका छन् । त्यो उनले आफैँ खरिद गरेको बताएका छन् । मन्त्री जबेगुसँग १० वटा सुँगुर पनि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com