अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

के अध्ययन भिसा पाउने सम्भावना बलियो बनाउनका लागि कन्सल्टेन्सीकहाँ जानुपर्छ ?

तथ्य : विश्‍वविद्यालय रोज्दा वा अध्ययन भिसा (“F1”) का लागि आवेदन पेश गर्दा आवेदकहरूलाई कन्सल्टेन्सीको सेवा प्रयोग नगर्न सल्लाह दिइन्छ । कन्सल्टेन्सीको चासो तपाईँबाट रकम असुल्नेप्रति बढी हुने भएकोले तिनीहरूले तपाईँलाई आफ्नो लागि उत्कृष्ट विश्‍वविद्यालय कुन हो वा अध्ययन भिसाका लागि कसरी आवेदन पेश गर्ने भन्ने विषयमा राम्रो सल्लाह दिँदैनन् । अमेरिकी विश्‍वविद्यालयमा आवेदन गर्ने विषयमा जानकारी हासिल गर्नका लागि हामी विद्यार्थीहरूलाई युनाइटेड स्टेट्स एजुकेशन फाउन्डेशन (USEF) मा जाने सल्लाह दिन्छौँ ।

के  भिसा पाउने कुरा आफ्नो भाग्य र कन्सुलर अफिसरको मुड (मुद्रा) मा भरपर्छ ?

तथ्य : अमेरिकी भिसासम्बन्धी निर्णयहरू अमेरिकी कानुनमा आधारित हुन्छन् । त्यस कारण यो कुरा कन्सुलर अफिसरको मुद्रामा भरपर्छ वा अमेरिकी भिसा प्रक्रियासम्बन्धी जति पनि अफवाह छन् त्यसमा आधारित छ भन्ने कुरा सरासर गलत हो । हाम्रा सबै कन्सुलर अफिसरहरू तालिमप्राप्‍त छन् र भिसासम्बन्धी निर्णय गर्दा उनीहरूले एउटै कानुनी मापदण्ड प्रयोग गर्दछन् ।

 के दूतावासका कुनैकुनै अन्तर्वार्ता दिने झ्‍यालहरू अशुभ छन् ? खास गरी झ्‍याल नं. ९ ?

तथ्य : अमेरिकी भिसासम्बन्धी निर्णयहरू अमेरिकी कानुनमा आधारित हुन्छन् । त्यस कारण यो कुरा तपाईँले दूतावासमा कहाँ, कहिले वा कोसँग अन्तर्वार्ता दिनुहुन्छ भन्ने कुरामा भर पर्दैन । कन्सुलर अफिसरहरू झ्‍यालझ्‍यालमा अदलबदल भइरहन्छन् र भिसा आवेदनमाथि विचारपात गर्दा उनीहरू सबैले एउटै कानुनी मापदण्ड प्रयोग गर्दछन् । त्यस कारण तपाईँको अन्तर्वार्ता जसले लिए पनि तपाईँले एउटै स्तरको सेवा र महत्त्व पाउनुहुनेछ भन्ने कुरामा ढुक्‍क हुनुहोस् ।

के अमेरिकामा विश्‍वविद्यालयमा अध्ययन गर्दै गर्दा काम पनि गर्न सकिन्छ ?

तथ्य : अमेरिकामा F1 भिसामा विश्‍वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलो शैक्षिक वर्षमा आफ्नो विश्‍वविद्यालयको परिसर बाहिर काम गर्न पाउँदैनन् । तर उनीहरूले निश्‍चित शर्त तथा सीमाहरूको अधीनमा रही परिसरभित्रै रोजगारीको अवसर भने स्वीकार्न सक्नेछन् । पहिलो शैक्षिक वर्षपछि F1 भिसामा अध्ययनरत विद्यार्थीहरू तीन प्रकारका परिसर बाहिरका रोजगारीमा संलग्न हुन सक्नेछन् :

पाठ्यक्रमसम्बन्धी व्यावाहारिक तालिम (CPT)
ऐच्छिक व्यावाहारिक तालिम (OPT) (पूर्व-समापन वा पश्‍च-समापन)
विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) ऐच्छिक व्यावाहारिक तालिम विस्तार (OPT)
अन्य प्रकारको रोजगारी अवैध हो र त्यस्ता रोजगारी स्वीकारेमा तपाईँको अध्ययन भिसाका शर्तहरूको उल्लङ्‍घन हुनेछ ।

के अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदन शुल्कबाट मुनाफा कमाउँछ ?

तथ्य : अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदन शुल्कबाट मुनाफा कमाउँदैन । हाम्रा सम्पूर्ण कन्सुलर गतिविधिहरू, जस्तै तपाईँको आवेदनको प्रशोधन, अन्तर्वार्ता र कन्सुलर अफिसरको समयका लागि आवश्यक भुक्तानी तपाईँले तिरेको शुल्कबाट गरिन्छ । आवेदन प्रशोधन खर्चका आधारमा यस्ता शुल्कमा समय-समयमा फेरबदल हुन्छ । (नोट : अमेरिकी विदेश मन्त्रालयले SEVIS शुल्क सङ्कलन गर्दैन र उक्त शुल्क भिसा आवेदनसँग पनि सम्बन्धित छैन । उक्त शुल्कबाट SEVIS प्रणालीलाई नै भुक्तानी गरिन्छ, जसलाई अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्दछ ।)

के निश्‍चित विश्‍वविद्यालय वा विषय रोजेमा अध्ययन भिसा पाउन सजिलो हुन्छ ?

तथ्य : अमेरिकामा अध्ययन गर्न अध्ययन भिसा पाउनका लागि कुनै जादुमय सुत्र वा विशेष विषय छैन । सबै विषय, रुचि, विश्‍वविद्यालय तथा शैक्षिक तह (स्नातक, स्नातकोत्तर, विद्यावारिधि, आदि) का लागि अध्ययन भिसामा लागु हुने मापदण्ड एउटै छ । अध्ययन भिसाका लागि योग्य हुन तपाईँले तीन ओटा कुरा मात्र प्रदर्शन गर्नु पर्दछ : (१) तपाईँको आसय अध्ययन मात्र हो र अन्य प्रयोजन (काम, आदि) का लागि तपाईँले आफ्नो भिसा प्रयोग गर्नु हुने छैन; (२) तपाईँले आफ्नो अध्ययन पुरा भएपछि अमेरिकाबाट फर्कने आसय लिनुभएको छ; र (३) तपाईँ आफ्नो पढाइको खर्च बेहोर्न सक्नुहुन्छ ।

के एक पटक अध्ययन भिसाका लागि अस्वीकृत भइसकेपछि भविष्यमा फेरि भिसा पाउने सम्भावन बलियो बनाउनका लागि आफ्नो विश्‍वविद्यालय परिवर्तन गर्नुपर्छ ?

तथ्य : नेपालमा अध्ययन भिसा नपाउने सबै आवेदकहरूलाई एक पहेँलो पत्र दिइन्छ, जसमा F1 भिसाका लागि अमेरिकी कानुनी आवश्यकताहरूसम्बन्धी व्याख्या समावेश गरिएको हुन्छ । उक्त पत्रमा कन्सुलर अफिसरले आवेदकको आवेदन अस्वीकृत हुनुको कारणमा घेरा लगाएका हुन्छन् । पुन: आवेदन गर्दै हुनुहुन्छ भने तपाईँले खास गरी कन्सुलर अफिसरले घेरा लगाएको कारणलाई सम्बोधन गर्नसक्नुपर्छ र अब चाहिँ तपाईँ कसरी अमेरिकी अध्ययन भिसाका लागि योग्य बन्नुभयो भन्ने कुरा प्रदर्शन गर्नुपर्छ । रोजाइको विषय वा विश्‍वविद्यालय परिवर्तन गर्न पाउनुहुन्छ । तर त्यो आवश्यक छैन र त्यति मात्रैले पहिला भिसा नपाएको कुरालाई बदल्न पर्याप्‍त नहुन पनि सक्छ ।

के  पर्यटक B1B2 भिसामा अमेरिका गइयो भने त्यहाँ काम गर्न वा वस्तु विक्री गर्न सकिन्छ ?

तथ्य : पर्यटक B1B2 भिसामा अमेरिका जानुभएको छ भने कानुनी रूपमा तपाईँलाई आंशिक वा पूर्णकालीक कुनै पनि पेशा अपनाउने वा वस्तु विक्री गर्ने अनुमति छैन ।

के मेरा परिवारका सदस्य अमेरिकामा छन् भने म कहिले पनि भिसाका लागि योग्य हुँदिनँ ?

तथ्य : परिवारका सदस्य अमेरिकामा भए पनि भिसाका लागि योग्य हुन चाहिँ अवश्य सम्भव छ । तर आफ्नो अन्तर्वार्तामा तपाईँले कन्सुलर अफिसरलाई के कुरामा विश्‍वस्त पार्नुपर्छ भने तपाईँले विद्यार्थी मात्र बन्ने आसय लिनुभएको छ र अमेरिकामा रहेको आफ्नो परिवारसँग स्थायी बसोबास गर्नका लागि अध्ययन भिसा प्राप्‍त गर्नु तपाईँको आसय होइन ।

श्रोत : अमेरिकी दूतावास काठमाडौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com