Follow @khasokhasmag

नाताले ओलीको साली पर्दैमा राजदूत हुन नपाउने ?


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

– शैलेश श्रेष्ठ

हार्दिक बधाई महामहिम अन्जान शाक्य  !

म निजिरुपमा उनलाई चिन्दिन तर उनको काम, पढाई, अध्ययनशिलता र समग्र सक्षमताका बारेमा मुलुकबाट टाढै बसेपनि थोरबहुत जानकार भने पक्कै छु ।

अक्सर नेपाल सरकारले गर्ने राजनैतिक नियुक्तिहरु निक्कै कमजोर जग अनि धरातलमा उभिएर गर्ने गरिएको हुन्छ त्यसैले आम मान्छेहरु “कागले कान लग्यो” भन्ने हौवा फैल्याउना साथ आफ्नो कान नछामी कागको पछि दगुर्ने गर्दछन ।

नाताबाद, कृपाबाद र भ्रष्टाचार निरन्तर मौलाएको नेपालमा हरेक निर्णयहरुलाई शंकाको घेरामा राख्ने गरिन्छ । माधब कुमार नेपालले आफ्ना भाईहरुलाई नियुक्त गरेको, शेर बहादुर देउबाले सत्ता सौदाबाजीमा आफ्नी सासुआमालाई राजदूत बनाएको घटना परिघटना हाम्रो मानसपटलबाट अझै धुमिल भएकै छैन त्यसैले अरु कुरो जे जस्तो भएपनि आम हाम्रा लागि बिद्या सुन्दर शाक्य के.पी. शर्मा ओलीको “सालो” अनि अन्जान शाक्य तिनै प्रधानमन्त्रीकि “साली” लाग्दछन । 


तर योग्यता, दक्षता र अनुभबका आधारमा ईजरायलका लागि नवनियुक्त राजदूत अन्जान शाक्य हरेक कोण अनि अर्थमा त्यो जेम्मेवारीको हकदार छिन । पढाईमा बिधावारिधी गरेकी, अनुभबमा परराष्ट्र मामला अध्ययन प्रतिष्ठानमा निमित्त प्रमुख र अन्तर्राष्ट्रिय सरोकार केन्द्रमा पनि अध्यक्ष भएर काम गरिसकेकी शाक्यसंग परराष्ट्र मामलाको लागि चाहिने आवश्यक ज्ञान अनि अनुभब छ ।


फराकिलो उदार अनि प्रगतिशील स्वभाब अनि विचारकि अन्जान शाक्य नेपालको औसत गायिका र एकताकाका नेपाल टेलिभिजनकि समाचार वाचिका पनि हुन । पुरातनवादी पुरुष प्रधान समाज र संस्थापनले सँधै प्रत्युत्पादक ठानेको र मानेको कलाकारिता क्षेत्रकि प्रतिनिधि पात्र एकजना कलाकारले यस्तो गरिमामय पदमा नियुक्ति पाउनु हामी सम्पूर्ण संचारकर्मी तथा कलाकारहरुको पनि सम्मान हो सायद त्यस अर्थमा पो हो कि उनको नियुक्तिमा म निक्कै खुसी मात्र भएको छैन दंग पनि परेको छु ।

उनी कहीं कतैबाट के.पी. शर्मा ओलीको साली पर्नु या पारिनु त्यो उनको अपराध होइन । हार्दिक बधाई महामहिम शाक्य !

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com