ट्रम्पबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलम आवेदन दिन नपाउने कार्यकारी आदेश जारी


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् । पेरिस भ्रमणमा जानु अगाडि ट्रम्पले यस्तो घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने

ट्रम्पले नयाँ घोषणापत्रमा हस्ताक्षर गरेपछि अब अमेरिकाको पोर्ट अफ इन्ट्रीबाहेक अरु क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलमका लागि आवेदन दिन पाउनेछैनन् । एसाइलमका लागि आवेदन दिन चाहनेहरुले या त पोर्ट अफ इन्ट्रीमा आएर आत्मसर्मण गर्नुपर्नेछ या त कानुनी रुपमा अमेरिका प्रवेश गरेको हुनुपर्नेछ ।

ट्रम्पको घोषणापत्र शनिबार विहानदेखि लागु भएको छ । नयाँ घोषणासँगै अमेरिकी सिमाक्षेत्रबाट कम्तीमा अबको ९० दिनभित्र गैरकानुनी रुपमा प्रवेश गर्नेहरु एसाइलमका लागि आवेदन दिन योग्य हुनेछैनन् । तर यो नियम पोर्ट अफ इन्ट्रीमा आएर आफूलाई स्वदेश फर्कन खतरा रहेको तथ्य पेश गर्नेहरुका हकमा भने लागु हुनेछैन ।

दक्षिणी अमेरिकी देशहरुबाट अमेरिकी सिमाक्षेत्रतर्फ अगाडि बढेको लस्करलाई एसाइलम आवेदन दिनबाट प्रतिबन्ध लगाउन नयाँ नियमको घोषणा गरिएपनि यो नियमबाट कैयन नेपालीहरुसमेत प्रभावित हुने भएका छन् । यो नियम अनुशार दलाललाई लाखौं रुपमा बुझाएर गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीहरुले अब एसाइलम गर्न पाउने छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com