Follow @khasokhasmag

तिहार सकियो, छठको रौनक सुरू


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेस तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।

बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । ‘हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ,’ स्थानीयवासी रीता लामाले भनिन् । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै सुरु भइसक्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com