सिएनएन सुपरहिरो बनिन् पुष्पा बस्नेत


प्रकाशित मिति : मंसिर २७, २०७३ सोमबार

नेपाली चेली पुष्पा बस्नेत सिएनएन सुपरहिरो बन्न सफल भएकी छिन् । सिएनएन हिरो कार्यक्रमको १० बर्षको अवशरमा सिएनएनले विगतमा हिरो छानिएका पाँचजनाबाट सुपरहिरो घोषणा गरेको हो ।

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरो भएकी हुन् । उनी सन् २०१२ मा सिएनएन हिरो बन्न सफल भएकी थिइन् ।
कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गर्ने बस्नेतको केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि सन् २००८ की सिएनएन हिरो लिज म्याककार्ने, सन् २००९ का सिएनएन हिरो एफ्रेन पेनाफ्लोरिडा, सन् २०११ की सिएनएन हिरो रोविन लिम र सन् २०१३ का सिएनएन हिरो चाड प्रेग्य्राक समेत मनोनयन भएका थिए ।

सिएनएन सुपर हिरो  भइसकेपछि पुष्पा कसरी बच्चाजस्तै खुशीहुँदै स्टेजमा पुगिन्, भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

सुपरहिरो घोषणा भएसँगै पुष्पाले आफ्नो सामाजिक कार्यको निरन्तरताका लागि ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछिन् । आफ्नो सपना साकार पारिदिएकोमा पुष्पाले सबैलाई धन्यवाद दिएकी छिन् ।

यसैबीच सन् २०१६ का लागि जेइसन एरिष्टिजावेल सिएनएन हिरो घोषित भएका छन् । कोलम्बियामा अपांगता भएकाहरुलाई शैक्षिक र स्वास्थ्य क्षेत्रमा योगदान दिदै आएका उनले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com