जोरपाटीको प्रहरी विटमा आक्रमण


प्रकाशित मिति : मंसिर २६, २०७३ आईतबार

काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । बिटमा रहेको बा.२.ब. ३७८३, बा.८०.प. ८६८३ र बा.९.प १२०५ नं.को मोटरसाइकल जलाइदिएका हुन् ।

यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् ।

३०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।

सो क्रममा दुई पक्षीय झडप समेत भएको र असई सञ्जिव नापितसहित ५ प्रहरी घाइते भएका छन् । बिटमा सई विद्याधर चौधरीको कमाण्डमा प्रहरीहरु कार्यरत थिए ।

यसरी भयो जोरपाटीको प्रहरी विटमा आक्रमण

प्रहरीका अनुसार शनिबार राती नयाँबस्तीकै एक रेष्टुरेन्टमा भएको दुई पक्षीय झडपका क्रममा दोलखा चरिकोटका राजकुमार लामाको मृत्यु भएको थियो । झडपमा ट्याक्सी चालक लामा गम्भीर घाइते भएको र उनको नेपाल मेडिकल कजेल उपचारको क्रममा मृत्यु भएको थियो ।

उनकै आफन्त दोषीलाई कारबाहीको माग गर्दै बिटमा पुगेको र एकाएक तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले अराजक गतिविधि गर्न संलग्न १८ जनालाई नियन्त्रणमा लिइएको बताए । यस्तै उनले रेष्टुरेन्ट सञ्चालिका र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको बताए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

रातोपाटीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com