कतारमा पक्राउ परेका एनआरएनए मध्यपूर्व संयोजकमाथि राजद्रोहको झुठो आरोपको तयारी


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

गत महानवमीको दिनमा कार्यालयबाट घर फर्कदै गर्दा कतारको दोहामा पक्राउ परेका एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्मामाथि कतार सरकारले राजद्रोहको झुठो आरोप लगाउने तयारी भइरहेको जानकारी खसोखासलाई प्राप्त भएको छ । कतारको दोहामा मञ्चन गरिएको एउटा नाटकमा कतारमा कामदारमाथि ज्यादती भएको दृश्य देखाइएको थियो जसमा आरके शर्मा विशेष अतिथिका रुपमा उपस्थीत रहेका थिए ।

उक्त नाटक देखाइदा कतारको सरकारबिरुद्ध गतिविधि भएको आरोप लगाउँदै शर्मा लगायत अन्य केही नेपालीहरुलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । नाटकमा ‘बोलमाया’ नामको गीतमा अभिनय गरेर देखाइएको थियो । उक्त कार्यक्रमलाई आरके शर्मा लगायतका केही व्यक्तिले स्पोन्सर गरेको आरोप लगाउँदै उक्त गतिविधि कतार सरकारबिरुद्ध रहेको आशंका गर्दै उनलाई नियन्त्रणमा लिइएको हो ।

यद्यपी आरके शर्मालाई त्यहाँ देखाइने नाटक र त्यसका दृश्यबारे पूर्व जानकारी नभएको तथा नेपाली समुदायको कार्यक्रम भएको आधारमा उनी कार्यक्रममा उपस्थीत भएको जनाइएको छ । अन्य देशहरुको योजनामा कतारबिरुद्ध गतिविधि गरिएको हो वा होइन भन्ने सन्दर्भमा कतार सरकारले उच्चस्तरीय छानविन गरिरहेको जनाइएको छ । त्यस्तै कतारमा हुने विश्वकपबिरुद्ध गतिविधि भइरहेको हो कि भन्ने सन्दर्भमा पनि आरकेमाथि छानविन भइरहेको उच्च श्रोतबाट जानकारी प्राप्त भएको छ ।

कतारमा रंगशाला निर्माणका क्रममा १२ सयभन्दा धेरै भारतीय नेपाली, बंगालादेशी कामदारहरुको ज्यान गइसकेको छ । रंगशाला निर्माणका क्रममा कामदारहरुमाथि ज्यादती भएकोभन्दै विश्वब्यापी विरोध भइरहँदा नाटकमा समेत कामदारमाथि ज्यादती भएको र कामदार पिटिएको दृश्य देखाइँदा कतार सरकारको ध्यानाकर्षण भएको हो ।

आरके शर्मा बिरुद्ध राजद्रोहको आरोप लगाइएका कारण उनबिरुद्धको मुद्दा कुनै अदालतमा नचलाइने जनाइएको छ । उनलाई राखिएको स्थानबारे पनि कतार सरकारले गोप्य राखेपनि उनलाई कन्फ्रेन्स सेन्टर स्ट्रीट नजिकैको सरकारी हिराशतमा राखिएको खसोखासले पत्ता लगाएको छ । जसको नजिकै कतारका श्रम मन्त्रालय, उर्जा र उद्योग मन्त्रालय, महानगर र वातावरण मन्त्रालय लगायतका भवन समेत रहेका छन् भने अल जजिरा टेलिभिजनको मुख्यालय पनि नजिकै रहेको छ ।

कतारी सरकारको उच्चस्तरीय छानविनबाट उनी निर्दोष रहेको प्रमाणित भएमामात्र उनलाई रिहा गरिनेछ । अन्यथा विश्वकपसम्म हिराशतमा राख्नसक्ने वा कतारबाट देशनिकाला गर्नसक्ने सम्भावना समेत रहेको छ । पक्राउ गरेयता उनलाई परिवारसँग दुईपटकमात्र फोनमा कुरा गर्न दिइएको छ । तर फोनमा सञ्चोबिसञ्चोबाहेक अरु कुराकानी गर्न अनुमति नदिइएको जनाइएको छ ।

कतारको दोहाको नेपाली कार्यक्रममा नाटक देखाइएपछि त्यो कार्यक्रममा सहभागी भएका आरके शर्मा नेपाल गएका थिए । तर नेपालबाट फर्के लगत्तै उनलाई कार्यालयबाट घर आउने क्रममा पार्किङ लटमा गाडी लिनजाँदा पक्राउ गरिएको थियो । सुरुमा सुरक्षाकर्मीहरु कार्यक्रम हलभएको स्थानमा पुगेर हलसंचालक र कामदारहरुसँग सोधपुछ गरेका थिए । उनीहरुले नेपाली समुदायको अगुवा एनआरएनका मध्यपूर्व संयोजक आरके शर्मा भएको बताएपछि सुरक्षाकर्मीहरुले शर्मालाई नियन्त्रणमा लिएका थिए ।

नाटक देखाउने कार्यक्रममा उपस्थीत भएको र सहयोग गरेको आरोपमा पक्राउ परेका भनिएका अन्य नेपालीहरुको अवस्था पनि अहिलेसम्म अज्ञात भएको छ । आरके शर्मालाई नियन्त्रणमा लिइएको १५ दिनभइसकेको छ । तर उनलाई कहिले रिहा गरिनेछ भन्नेबारे अनुमान गर्न गाह्रो छ ।

कतारको मानवअधिकारको अवस्थाबारे पनि पटकपटक विश्वब्यापी चर्चा हुने गर्छ । कतारको सरिया कानुन अनुशार कोर्रा हान्ने र ढुंगा हान्ने सजाय समेत वैध रहेको छ । कतारी सरकारको आलोचना गरेको अभियोगमा सन् २०१२ मा एकजना कतारी कविलाई समेत आजिवन कारावाशको सजाय सुनाइएको थियो । कतारमा सरकारबिरुद्ध गतिविधि गरेको, जासुसी गरेको, राष्ट्रिय सुरक्षाबिरुद्ध गतिविधि गरेको पाइएमा मृत्युदण्डको सजायको समेत व्यवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com