Follow @khasokhasmag

अमेरिकामा सामुदायिक पत्रकारिताको शैली बदल्न जरुरी


प्रकाशित मिति : मंसिर २५, २०७३ शनिबार

– खसोखास डेस्क

केहीदिन अगाडि मात्र न्युयोर्क क्षेत्रको एउटा सामुदायिक अनलाइन पोर्टल युएसनेपाल अनलाइनले आफ्नो नवौं बार्षिकोत्सव मनायो । न्युयोर्कको पूरानोमध्येको एउटा सामुदायिक संचारमाध्यमले मनाएको यो वार्षिकोत्सवसँगै अब सामुदायिक पत्रकारिताको शैली परिवर्तनको बहस पनि आवश्यक भएको छ ।

सामुदायिक पत्रकारिता गर्न खोज्ने कैयन नेपाली संचारमाध्यमहरु विगतमा बन्द भइसकेका छन् भने कैयन संचारमाध्यमहरु मुस्किलले चलिरहेका छन् ।
१९९९ मा सुरु गरिएको अमेरिका दर्पणको केहीसमय पछि नै मृत्यु भएको तितो अनुभव संगालेका न्युयोर्कका चर्चित नेपाली पत्रकार प्रदीप परियार थापा भन्छन् –‘अब सामुदायिक पत्रकारितामा शैली परिवर्तनको जरुरी छ ।’

प्रदीप परियार थापा अमेरिकामा अमेरिका दर्पणमार्फत सम्भवत पहिलो व्यववासयिक सामुदायिक पत्रकारिता सुरु गर्ने पत्रकारमध्येका एक हुन् । त्यो बेलाको क्षण सम्झदै प्रदीप भन्छन् –‘त्यतीबेला अमेरिकामा खासै नेपाली संचारमाध्यम नै थिएनन् । हामीले नेपाल दर्पण सुरु गर्दा ठूलै चर्चा भएको थियो । तर अहिले समय बदलिइसकेको छ । त्यो बेलामा हामीले कलाकार जोडी भनेर अन्तरवार्ता लिएका शैलेश श्रेष्ठ आफै संचारकर्ममा हुनुहुन्छ ।’

यद्यपी विभिन्न तथ्यहरु हेर्दा अमेरिकामा नेपाली पत्रकारिताको उल्लेख गर्न लायक विकाश सन् १९९० को दशकदेखि भएको पाइन्छ । अमेरिकामा पनि नेपाली पत्रकारिताको विकाश साहित्यिक पत्रकारितासँगै भएको पाइन्छ । सन् १९९१ मा होमनाथ सुवेदीको नेतृत्वमा अन्तर्दृष्टी नामको साहित्यिक पत्रिका प्रकाशन भएको थियो । ९० कै दशकमा अमेरिकाको न्युयोर्कमा अध्ययनरत विद्यार्थीहरुले पनि एउटा पत्रिका प्रकाशन गरेका थिए । सन् १९९० को दशकको मध्यतिर राजपाल सिंह लगायतले नेपाल डाइजेष्ट नामको इलेक्ट्रोनिक मिडिया संचालन गरेका थिए । त्यो त्यतीबेला निकै चर्चित रहेको पाइन्छ । तर अमेरिका दर्पण मासिकका नामबाट प्रदीप थापामगर, भीम कार्की लगायतको पहलमा केही अंक पत्रिका प्रकाशन भएयतामात्र अमेरिकामा नेपाली पत्रकारिताको विकाश अलिक व्यवस्थीत देखिन्छ । अमेरिका दर्पणका प्रकाशक जनक रानामगर थिए भने कार्यकारी सम्पादक प्रदीप थापामगर थिए ।

एबीसी टेलिजिभनमा कुरा गर्दै प्रदीप परियार थापा

सन् २००२ देखि सन् २०१२ सम्मको दशक त अमेरिकामा नेपाली पत्रकारिताको स्वर्णिम कालकै रुपमा विकाश भएको पाइन्छ । यो अवधिमा सन् २००१ को अगस्तमा वासिंटन डिसीबाट पत्रकार गिरिश पोखरेलले सुरु गरेको अनलाइन नै नेपाली भाषाको पहिलो समाचार अनलाइन हो । यद्यपी समाचार अनलाइन बाहेकका अन्य नेपाली भाषाका वेभसाइट भने यसअगाडि नै संचालनमा आएका थिए । त्यसपछि अमेरिकामा कैयन अनलाइन, पत्रपत्रिकाहरु , रेडियो हुँदै टेलिभिजनसम्म स्थापना भइसकेका छन् ।

यो दशकमा अमेरिकामा नेपाली पत्रकारितामा भएको विकाशका कारणले यसलाई स्वर्णिम कालका रुपमा लिन सकिन्छ । किनभने अनलाइन पत्रकारितादेखि छापा हुदै रेडियो र टेलिभिजनहरुको स्थापना पनि यही कालमा भएको हो । यही कालमा कैयन साप्ताहिक , पाक्षिक र मासिक पत्रिकाहरु संचालनमा आएर बन्द पनि भइसकेका छन् । सन् २००५ मा न्युयोर्कमा विश्व शाह, गगन विरही लगायतको पहलमा नेपाल खबर साप्ताहिक प्रकाशन भएको थियो । त्यो भन्दा अगाडि न्युयोर्कबाट नै चन्द्रप्रकाश शर्मा लगायतको पहलमा एउटा साप्ताहिक सुरु गरिएपनि विश्व शाह लगायतको पहलमा सुरु भएको पत्रिका लामो समय चलेको थियो । पछि पाक्षिकमा रुपान्तरण भएको यो पत्रिका २००८ मा बन्द भयो । यो पत्रिका बन्द हुँदै गर्दा अमेरिकामा नेपाली भाषाका अनलाइनहरु खुल्ने क्रम सुरु भइसकेको थियो ।

यसैक्रममा न्युयोर्कको चर्चित सामुदायिक न्युज पोर्टल युएसनेपाल अनलाईन सन् २००७ मा खुलेको हो । २००७ साल डिसेम्बर ३ मा सुरु गरेको युएनेपाल अनलाइनका सुरुवाती दिनबारे प्रदीप भन्छन् –‘त्यतीबेला समाज सानो थियो ।

विहे, ब्रतबन्ध, भोजभतेर, पिकनिकदेखी विदाई र स्वागतका समाचारहरु पनि कभर गरियो । त्यतीबेला न्युयोर्कमा २७ वटा संस्था थिए, अहिले ८७ वटा पुगिसकेका छन् । समय परिवर्तन भएसँगै सामुदायिक पत्रकारिताका नाममा अब बिहे ब्रतबन्धका समाचार कभर गर्ने अवस्था छैन ।’

अब समुदायको समस्या अगाडि ल्याउनुपर्ने र समुदायलाई चाहिने कुरा पस्किनुपर्ने सामुदायिक मिडियाको दायित्व रहेको प्रदीपको ठहर छ । उनी पहिले सबै नेपाली कार्यक्रम नछुटाई रिर्पोटिङ गर्थे तर अब त्यो अबस्था छैन । त्यसो गर्नुको कुनै अर्थ पनि नरहेको उनको ठम्याई छ । उनी भन्छन् –‘समाजलाई फाइदा पुग्ने र सांस्कृतिक हिसाबले समाजको प्रवद्र्धन गर्ने बाहेक नेता, सांसदको स्वागत विदाई, पिकनिक र ब्रतबन्धका समाचारले मिडिया भर्नुको अब कुनै अर्थ छैन ।’

उसो त सामुदायिक पत्रकारिता गरेरमात्र जिविकोपार्जन गर्ने अवस्था अमेरिकाको नेपाली समाजमा छैन । सामुदायिक पत्रकारिताबाट कमाउने सपना आफूले नदेखेको र समाजको आवाज समेट्ने प्लेटफर्मका रुपमा मिडिया सुरुवात गरेको बताउँछन् प्रदीप परियार थापा । तर अझै पनि सामुदायिक पत्रकारिताको औचित्य देख्छन् उनी । सामुदायिक संजालका गतिविधिलाई प्रोफाइल र रेफरेन्सका रुपमा प्रयोग गर्न नसकिने भएकाले विश्वसनियताका लागि पनि संचारको महत्व कम नहुने उनको ठम्याई छ । तर अमेरिकामा नै छ्यापछ्याप्ती खुलेका सेंपाली अनलाइनहरुको विश्वसनीयता भने सामाजिक सञ्जालको भन्दा पनि घट्दो क्रममा छ ।

उसो त सामाजिक संजालका कारण सामुदायिक संचारमाध्यमप्रति समुदायको आकर्षण पनि कम भएको छ । पहिले मिडियामा कसैको नाम र फोटो छुटेमा सम्पादकलाई नै फोन गरेर भन्ने चलन थियो । अहिले त्यो क्रेज कम भएको छ । समाचार आउनुभन्दा अगाडि नै आफ्नो सामाजिक संजालमा राखेर सन्तुष्टि हुने प्रचलन बढ्दै जाँदा त्यो क्रेज कम भएको प्रदीप परियार थापाको ठम्याई छ ।

अब त्यो क्रेज पूरा गर्नेतिर नभई समुदायमा रहेका बिकृतिबिरुद्ध र समुदायको हितमा समाचार लेख्नुपर्ने बेला आएको बताउँछन् उनी । उनी भन्छन् –‘समाजका राम्रा पक्षको समाचार भएजस्तै विकृतिको पनि समाचार लेखिनुपर्र्छ । अबका सामुदायिक संचारमाध्यमले समाजलाई राम्रो बनाउन खबरदारी गर्नुपर्छ ।’

न्युयोर्कबाट सुरु भएको विश्व सन्देश पाक्षिक पछि साप्ताहिकमा रुपान्तरण भएर चलिरहेको छ । जसका प्रधानसम्पादक विजय पौडेल रहेका छन् । त्यसको एकवर्षपछि सुरु भएको एभरेष्ट टाइम्स पाक्षिक पनि संचालनमा छ । जसका प्रधानसम्पादक आङछिरिङ शेर्पा रहेका छन् । सन् २००९ मा प्रशान एलुङ राईले सुरु गरेको प्रेसचौतारी डटकम न्युयोर्कमा युएसनेपाल अनलाईनपछि लामोसमय चलिरहेको सामुदायिक पोर्टल हो । प्रशान एलुङ राई लगायतले सन् २०१३ मा मेरो नेपाल नामको मासिक पत्रिका सुरु गरेर ६ अंक चलाए । तर यो पछि आर्थिक अभावमा बन्द भयो । त्यस्तै विष्णु पौडेल प्रधानसम्पादक रहेर नेपालय चलाउँछन् भने न्युयोर्क मिडिया इन्टरनेशनल इन्कले न्युयोर्क समाचार पाक्षिक संचालन गरिरहेको छ । यस्तै सन् २०१२ देखि ह्वाइटहिमाल साप्ताहिकका रुपमा किशोर पन्थीको सम्पादनमा सुरु भएको पत्रिका अहिले खसोखास साप्ताहिकका रुपमा संचालन भइरहेको छ । त्यस्तै न्युयोर्क बाहेक भर्जिनियाबाट गोबिन्द गिरी प्रेरणाको पहलमा अहिले पनि विश्वपरिक्रमा आवधिक रुपमा संचालन भइरहेको छ । तर कुनै पनि पत्रिकाको अवस्था उत्साहजनक भने छैन । न्युयोर्कबाट बोष्टनबाट पनि उत्तमबाबु श्रेष्ठ लगायतको पहलमा नेपाली खबर पाक्षिक प्रकाशनमा आएपनि केही बर्ष अगाडि नै यो पत्रिका बन्द भइसकेको छ । बरु अँगेजी भाषामा क्यालिफोर्नियाबाट पुरुषोत्तम ढकाल प्रधानसम्पादक रहेको हिमालयन भ्वाइसले प्रकाशन आरम्भ गरेको छ ।

अहिले अमेरिकामा नेपाली भाषाका समाचार अनलाइनहरु दर्जनबढी रहेका छन् । छापा माध्यमहरुपनि आधा दर्जनको हाराहारीमा छन् । रेडियो र टेलिभिजनको पनि विकाश भइरहेको छ । सन् १९९० को दशकको अन्त्यतिर अमेरिकामा नेपाली भाषाको टेलिभिजनका रुपमा कार्यक्रमहरु निर्माण गर्न सुरु गरिएको थियो । राम खरेलको नेतृत्वमा सगरमाथा टेलिभिजनका रुपमा नेपाली भाषाको कार्यक्रम सुरु गरिएको थियो । न्युयोर्कबाट ह्वाइटहिमाल टेलिभिजन संचालन गरियो । रमा सिंह लगायतको पहलमा वासिंटन डिसीबाट अमेरिका नेपाल टेलिभिजन संचालन गरियो । तर कुनै संचारमाध्यमको भविश्य उत्साहजनक हुन सकेन ।

खसोखास साप्ताहिकको विमोचन कार्यक्रम – फोटो : अशोक पन्त

न्युयोर्कबाटै सहदेव पौडेलले हिमाली स्वरहरु नामको रेडियो संचालन गरे । यही बीचमा रवि लामिछाने , कृष्ण शर्मा लगायतले मेरिल्याण्ड र भर्जिनिया क्षेत्रबाट टेलिभिजन शोहरु पनि संचालन गरे । यसबीचमा न्युयोर्कबाटै पनि स्थानीय च्यानलमा समय किनेर केही टेलिभिजन शोहरु संचालनमा आए । न्युयोर्कबाट किशोर पन्थीकोसाप्ताहिक टेलिभिजन शो ‘टक अफ द टाउन’ नेपालको एबीसी टेलिभिजनबाट प्रशारण भइरहेको छ । न्युयोर्कका संचारकर्मी शैलेश श्रेष्ठको ‘सम्प्रेषण’ पनि न्युयोर्कबाट संचालित ह्वाइटहिमाल टेलिभिजनबाट प्रशारण गरियो । तर प्राय संचारमाध्यमले समुदायबाट ताली कम र गाली बढी पाइरहेका छन् ।

अर्कातर्फ समाचार संकलन, समाचारको सम्प्रेषण लगायतका विषयमा पनि अमेरिकामा नेपाली पत्रकारिताले व्यवसायिकता अंगाल्न सकेको छैन । अमेरिकामा नेपाली पत्रकारहरु आफैले संचारमाध्यमको स्थापना गरेर आफ्नो खर्चमा आफै चलाउनुपर्ने बाध्यता रहेको छ । ब्यापारीहरुले संचारमाध्यममा लगानी गर्ने र नाफा कमाउने अवस्था अमेरिकामा रहेको नेपाली संचारमाध्यममा अहिलेसम्म छैन । अमेरिकामा नेपाली पत्रकारिता अहिलेसम्म बढी समाजसेवाका रुपमा वा सामुदायिक सेवाका रुपमा र कममात्र व्यवसायिक रुपमा रहेको छ । अमेरिकामा रहेका नेपाली संचारमाध्यमबाट पत्रकारले जिविकोपार्जन गर्न सक्ने अवस्था आइसकेको छैन भने आफूले अरु ठाउबाट कमाएको पैसा समेत संचारमाध्यममा खर्च गरेर सामुदायिक सेवाका लागि संचारमाध्यम चलाउने अवस्था विद्यमान रहेको छ ।

अमेरिकामा नेपाली ब्यापार व्यवसायहरुको बृद्धिसंगै पहिलेको तुलनामा अहिले संचारमाध्यम संचालन गर्न केही सजिलो भने पक्कै छ । नेपाली बाहेकका व्यवसाय वा कम्पनीका विज्ञापनहरु पनि नेपाली संचारमाध्यमले प्राप्त गर्न थालेका छन् । अमेरिकामा हुने जनगणनामा समेत अमेरिकामा रहेका नेपालीको वास्तविक संख्याभन्दा निकै कम नेपालीहरु देखिएकाले र नेपाली वाहेकका व्यवसाय वा कम्पनीले नेपाली भाषाको संचारमाध्यममा विज्ञापन दिदा जनगणनाकै तथ्यांकलाई आधार मान्ने भएकाले पनि नेपाली संचारमाध्यमहरुले त्यस्ता व्यवसायिक विज्ञापनहरु उल्लेख्यमात्रामा भने प्राप्त गर्न सकेका छैनन् ।

विद्यमान समस्याहरुसंग जुध्न नसक्दा र आर्थिक भार थेग्न नसक्दा कैयन राम्रा संचारमाध्यमहरुले समेत निरन्तरता पाउन सकेका छ्रैनन् । अमेरिकाका समाचार संकलन गरेर मात्र संचारमाध्यमहरु चलाउन नसक्ने अवस्था भएका कारण कैयन संचारमाध्यमहरुले नेपालका समाचारहरुलाई पनि प्राथमिकता दिने गरेका छन् । नेपालमा कर्मचारीहरु राखेर नेपालका समाचारहरु सम्प्रेषण गरिदै आएको छ । यसरी अमेरिकामा संचालित नेपाली संचारमाध्यमका कारण नेपालका दर्जनौं संचारकर्मीहरुले समेत रोजगार पाइरहेका छन् । विभिन्न समस्यासंग जुध्दै चुनौतीको सामना गरेर अमेरिकामा नेपाली संचारमाध्यम अगाडि बढिरहेको अवस्थामा चुनौतीलाई सामना गर्न सकेमा संभावनाहरु पनि छन् । तर ती सम्भावनाहरुसमक्ष पुग्न सजिलो भने छैन । समाचार सम्प्रेशणको शैली बदल्न नसके र व्यवसायिक बनाउन नसके यी संचारमाध्यमहरुको भविश्य धरापमा छ ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com