२६ वर्ष अगाडिको चर्चित गीत‘आज हाम्रो भेट भाको दिन’रिमेक भर्सनमा सार्वजनिक
प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार
२६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म “ज्वाला” मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको चर्चित गीतमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनालीले कम्मर मर्काएका थिए । अझै पनि यो गीत उत्तिकै बजिरहेको सुन्न पाइन्छ । अब उक्त गीतको रिमेक भर्सन फिल्म ‘दि ब्रेकअप’ मा समावेश गरिएको छ ।
नेपालीहरुको दोश्रो महान चाड तिहार पर्व नजिकिँदै गर्दा निर्माण टिमले पहिलो कोशेली स्वरुप सो गीत सार्वजनिक गरेको छ । “न्यू भर्सन” को यो गीतमा स्वर विराज गौतम र मेलिना राईको रहेको छ । “ओर्जिनल भर्सन” मा बुद्धवीर लामाको शब्द, शिला बहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए ।
गीतको भिडियोमा अभिनेता खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् । कृष्टिको भने अभाव खड्किन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ुदि ब्रेकअपु का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर्ड छन् ।
हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।





