प्रहरी प्रमुखको बर्खास्तीको मागबाट गृहमन्त्रीकै हुर्मत लिन खोजेको प्रष्ट


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

– राधाकृष्ण देउजा

नेपाल प्रहरी नेपाली जनताको ज्युधनको रक्षार्थ दिन रात विदा र बार केहि नभनिकन खटिनेहरुको सँस्था हो । गर्नु पर्ने काम र जोखिमको तुलनामा अत्यन्त न्यून तलव सुविधामा काम गर्ने प्रहरी कर्मचारीहरु वास्तवमै सम्मानका लायक छन ।

जनताको शान्ती सुरक्षामा दत्तचित्त भएर खटिने आम परिचय बोकेको नेपाल प्रहरीमा केहि थान भ्रष्टहरु छन, केहि थान नालायकहरु छन अनि केहि थान निकृष्टहरु छन तर समग्र प्रहरी संगठन गौरव गर्न लायक छ । समाजमा रहेका अपराधी प्रवृतिका पात्रहरु अनि अपराधिक माध्यमबाट भएपनि सुख, सन्तुष्टि र सफलता हासिल गर्नु पर्छ भन्ने चिन्तन कायम भएसम्म अपराधिक घटनाहरु भै रहन्छन ।

अपराध समग्रतामा रोकिन समाजमा आमुल परिवर्तन आउनु पर्छ , समाजका प्रत्यक सदस्यहरुले अपराध गर्दिन , गर्न दिन्न अनि गर्नेलाई बचाउने वा प्रोत्साहन गर्न दिन्न भन्ने प्रण गर्नु अनिवार्य हुन्छ । तर अहिले त्यस्तो अवस्था छ त ? बिल्कुल छैन ! यहाँ त बाबुले छोरीको वलात्कार गरेको सुनिन्छ , छोराले बाउलाइ मारेको सुनिन्छ अनि साथिले अर्को साथिलाइ आक्रमण गरेको गराएको सुनिन्छ अनि सुनिन्छ जनताको सुख र सम्वृद्धिको निम्ति लाग्नु पर्ने माननीयहरु अपराधी छुटाउन प्रहरी कार्यलय पुगेको ।

यस्तो अवस्थामा अपराध निर्मुलिकरण सिमित स्रोत साधन र न्यून सुविधाको भरमा काम गरिरहेको नेपाल प्रहरीले मात्रै हैन भगवाननै धर्तीमा आएपनि सक्दैनन् । तर अपराध निर्मुल गर्न नसक्ने सत्यको विचमा पनि प्रहरीले अपराध नियन्त्रण गर्ने अनि अपराधीलाइ कानुनको कठघरामा ल्याउने आफ्नो काम निरन्तर गरिरहन्छ र नेपाल प्रहरी त्यही गर्दै आएको छ र गरिरहेको छ ।

कतिपय घटनामा २४ घण्टामा अपराधी पक्रन सफल प्रहरीलाइ कतिपय घटनामा अपराधीसम्म पुग्न केहि लामो समय लागेको हुनसक्छ र त्यो स्वाभाविक पनि छ किनकि कतिपय अनुसन्धानले तुरुन्त सुराक पाउने र कतिपयले सुराक पाउन ढिला हुने नियमित र स्वाभाविक हो । तर अपराधको कारण र संलग्नहरुको पहिचान ढिला भयो भन्दैमा प्रहरीले आफ्नो काम छोडने गरेको छ र ? छैन ।

त्यसैले त कोहि अपराधी १५ बर्ष पछि पक्राउ परेका छन त कोहि १३ बर्ष पछि । अहिले कंचनपुरमा वलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुको पहिचान गर्न र उनिहरुलाइ पक्राउ गर्न केहि ढिला भएको विषयलाइ लिएर ठुलो कोकोहोलो मच्चाइएको छ । हो जरुर यो घटनाको समयमा तत स्थानमा खटिएका प्रहरीहरुको नालायकी अनि शंकास्पद मनसायले घटनाको गुत्थी सुल्झिन समय लागेको देखियो तर त्यस्ता प्रवृति र पात्रहरुलाइ प्रहरी संगठनले बचाउने काम गरेको छैन बरु तत्काल आवश्यक कदम चाल्दै कारवाही अगाडी बढाइएको छ , अझै प्रहरी प्रमुखले त भनिसके – “ घटनामा संलग्नता वा सहयोग गरेको पाइएमा जेल सजायँ गर्नेछु” यसले के देखाउंछ भने प्रहरीमा नालायक र भ्रष्टहरुको निम्ती स्थान छैन ।

भ्रष्टहरुलाइ प्रहरीमा स्थान छैन भन्ने कुराको प्रमाण खोज्न नेपाल प्रहरीबाट पाउनु पर्ने सेवा पाउनको निम्ती कसैले पैसा खुवाउनु परेको गुनासो नआएको तथ्य मात्रै नभएर कहीं कतै त्यस्तो कार्यमा संलग्न भएको तथ्य वाहिर आउनासाथ तत्काल कारवाही गरिएको सत्यहरु पनि काफी छन । समग्रमा भन्नु पर्दा अहिले प्रहरी संगठनमा खराव गर्यो भने संकट आइलाग्छ भन्ने डर व्याप्त छ र त्यो प्रहरीहरुलाई त्यो डर कुनै राजनीतिक नेताबाट वा अरु कोहिबाट नभएर आफ्नै नेतृत्वबाट छ किनकि उनीहरुले बुझेका छन कि भ्रष्टचार र नालायकी सहन हुनेछैन ।

सहि गरुन्जेल संरक्षित हुने विश्वास अनि गलत गर्दा दण्डित भइने डरनै नेपाल प्रहरीको वर्तमान नेतृत्वको सफलता हो ।नेपाल प्रहरीको नेतृत्व प्रतिको त्यो विश्वास अन्तरसंगठनमा मात्रै नभएर वाह्य समाजमा पनि उत्तिकै देखिन्छ , त्यसैले त यत्रो आक्रोश र उत्तेजनाको विचमा पनि उनि निर्मला पन्तको परिवारलाइ भेटन सहजता साथ पुगेको मात्रै पाइएन बरु पीडितका बुवा आमाले “आइजीपी साव, आशा तपाईंबाट मात्रै बाँकी छ ।”

अनि जसले जे भने पनि वर्तमान प्रहरी प्रमुख प्रतिको विश्वास कम्जोर भएको छैन , आशा डगमगाएको छैन । अहिलेसम्मको निम्ती सत्य यही नै हो तर सत्यको नजरअन्दाज गर्दै , प्रहरी प्रमुख भनेको सरकारको एउटा कारिन्दा मात्रै हो जसले ऐन, नियम र कानुनको दायरामा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेको तथ्य भुल्दै प्रहरी प्रमुखलाइ वर्खास्त गरियोस भन्दै प्रहरीको हरेक कामको जिम्मेवारी बोक्नु पर्ने गृहमन्त्रीलाई ज्ञापनपत्र दिएर घुमाउरो ढङ्गले गृहमन्त्रीकै हुर्मत लिन खोजेको पनि देखियो।

सवै खालको सिन्डिकेट, अपराधकर्म र नकारात्मकतालाइ अन्त्य गर्ने दृढता राख्दै आएका गृहमन्त्री रामबाहादुर थापाको प्रमुख सारथी वर्खास्त गरियोस भन्ने माग राखेर के वाहाँका आफ्नै कार्यकर्ताहरु वहाँलाइ असफल बनाउन खोज्दै छन ? यो गम्भीर सवाल हो , मन्त्रीज्यु उत्तर खोज्नु होला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com