गृहमन्त्री थापाले भने ‘भाईहरुले ठीक गरे, निर्मलाहरुको हत्यारा पत्ता लाग्नै पर्छ’


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

एक कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) गुल्मीको सदरमुकाम तम्घास १३ गते पुगे । गृहमन्त्री थापाको कार्यक्रम स्थलमै पुगेर नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेका थिए ।

‘लाईन्स क्लब अफ लर्ड बुद्ध’ले आयोजना गरेको बृहत स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्न गुल्मी आईपुगेका गृहमन्त्री थापाविरुद्ध मञ्च अगाडि पुगेर नेविसंघका विद्यार्थीहरु विरोध प्रदर्शन गरेका हुन् ।

शरीर छामझुमसमेत गरिएको भनिएता पनि प्रदर्शनकारीले आ आफ्नो खल्तीबाट व्यानर निकालेर देखाएका थिए । ‘निर्मला पन्तको हत्यारालाई गिरफ्तार गर’, ‘बलात्कारी गृहमन्त्री राजीनामा दे..’ लगाएका नाराबाजी गर्न थालेपछि धेरै बेरसम्म प्रहरी र प्रदर्शनकारीबीच ठेला ठेल चलेको थियो ।

प्रदर्शनकारीहरलाई जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेत आफै अगाडि बढेर उनीहरुलाई गेट सम्म लखेटेका थिए । कार्यक्रम स्थल महेन्द्र नमुना माध्यामिक विद्यालयको गेड बाहिर निकाल्न लागिएको समयमा प्रदर्शनकारीहरुले विरोध नगर्ने सर्तमा छाडिएका थिए ।

त्यस लगत्तै गृह मन्त्री थापाको सम्बोधन सुरु भयो । उनले भनाई यस्तो थियो–‘अघि भर्खर केही उत्साहित भाईहरुले विरोध प्रदर्शन गर्नुभयो । म त्यसको स्वागत गर्छु । ठीक गर्नु भयो ।केही उत्साहित भाईहरुले यस्ता आवाज यहाँ उठाईराख्नु पर्छ । सदनमा पनि उठाईनु पर्छ । निर्मला पन्तहरुका हत्यारा पत्ता लाग्नै पर्छ । धेरै महिलाहरु बलात्कारको शिकार भइरहेका छन् ।
जसमध्ये मध्ये ९५ प्रतिशत अपराधीहरुलाई कानुनको कठघरामा उभ्याई सकिएको छ । अब छिट्टै निर्मलाका हत्याराहरुलाई पनि उभ्याईने छ ।’

उनले थपे, ‘अहिले विधिको शासन छ, यसअघि कुशासन थियो । जसले जे गरे पनि भएकै थियो । अहिले त्यही मनपरि गर्नेहरु, देशका हरेक क्षेत्रमा तस्करी गर्ने तस्करहरु, अपराधीहरु, राज्यलाई कर छलि गर्ने ठगहरु सलबलाएर सरकार माथी खनिएका छन । सरकार यस्ता विसंगती अन्त्य गर्न त्यस्ता ठग, हत्यारा र बलात्कारीहरुलाई तह लगाउनका लागिपरेको छ । आज विश्व मुटु दिवसको अवसरमा जुन बृहत स्वास्थ्य शिविर राखियो । आयोजकलाई म धन्यबाद दिन चाहन्छु ।’

गृहमन्त्री थापाको बाँकी भनाई यस्तो छः ‘मुटु सम्बन्धी रोग बढी मात्रमा गरिबलाई लाग्छ । यसर्थ गरिब जनतालाई समृद्धिको दिशा तर्फ लैजाने गरि सरकार अघि बढेको छ । मुलुकमा शान्ती नआई समृद्धि हुन सक्दैन । देशैभर बलात्कार गर्ने बलात्कारीहरु बढ्दै छन् । त्यस्ता बलात्कारीहरुलाई कडा भन्दा कडा सजाएँ हामी दिलाउने छौं । यहाँ पनि त्यस्ता बलात्कारी छन् भने भन्नुहोस् हामी कानुनी कठघरामा उभ्याएरै छाड्ने छौं ।’

उनले गुल्मीको स्वास्थ्य क्षेत्रमा केन्द्र सरकारले समधान गर्नु पर्ने केही समस्या भए समधान गरिने आश्वासन पनि दिए । उनिसँगै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि गृह जिल्ला आएका थिए । सशस्त्र प्रहरीका स्वास्थ्य विभागका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले पनि सहआयोजकका रुपमा शिविरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । त्यस अघि आफ्नो जन्म घर पुगेका गृहमन्त्री उक्त कार्यक्रममा सहभागी भई हतार हतार बुटवलको एक कार्यक्रममा सहभागी हुन त्यस तर्फ लागेका छन् ।

सोही कार्यक्रममा तत्कालीन नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर उनले मदन भण्डारी र जिवराज आश्रितको प्रतिमामा फुल माला अर्पण गरेका थिए । उनिहरुलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु बुद्धि जिसी, विरबहादुर कार्की, कृष्ण सुनार लगायतका नेता कार्यकर्ताहरुले आ आफ्नो भनाई राखेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com