नदीमा डुबेका किशोरलाई सकुशल उद्धार गरेका दुई युवकले पाए सुनको औंठी


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

धन्यवाद र स्याबासी दिने आ–आफ्नै तौरतरिका हुन्छन् । धेरैले मौखिक दिन्छन् । कुनै नौला काम गरे भने पुरस्कार दिइन्छ । यहाँ साहसिक काम गर्ने दाजुभाइले स्याबासीमा सुनको औंठी पाएका छन् ।

पौडी खेल्दै गर्दा मस्र्याङ्दीमा डुबेका एक किशोरलाई सकुशल उद्धार गरेका दुई युवकलाई स्याबासीस्वरूप सुनको औंठी दिइएको हो । गत साउन १९ मा पौडी खेल्ने क्रममा बेसीसहर ६, चण्डीस्थान मकैडाँडाका १५ वर्षीय प्रतीक रिमाल डुबेका थिए ।

उनलाई बेसीसहर ११, चितीबेंसी भोटेनी गाउँका पेम्बा र उनका भाइ फुर्वा तामाङले बचाएका थिए । यो खबर आज सोमबार प्रकाशित ‘कान्तिपुर’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

प्रतीककी आमा कल्पना रिमाल, मामाघरतर्फका हजुरबुवा तिलकबहादुर र हजुरआमा डिलमाया खडकाले टीका र खादा ओढाउँदै दुवै जनालाई जनही ३८ हजार रुपैयाँ पर्ने ५५ लालको सुनको बेरुवा औंठी र नगद ५ हजार १ सय ११ रुपैयाँ दिएका हुन् ।

प्रतीकले आफूलाई बचाएर नयाँ जीवन दिएकोमा खुसी हुँदै तामाङ दाजुभाइलाई शनिबार सुनको औंठी लगाइदिए । प्रतीक गाउँकै गंंगामिलन मावि कक्षा १० मा पढछन् ।

बेसीसहर २, भकुण्डे तालफाँटस्थित प्रतीकको मामाघरमा रिमाल परिवार र आफन्तजन साथै छिमेकीले तामाङ दाजुभाइलाई भेला आयोजना गरी आभार प्रकट गरेका थिए ।

‘मेरो नातिलाई बचाउनुभयो । गुन तिर्न त सकिँदैन, हाम्रा लागि देउता आउनुभो,’ हजुरआमा डिलमायाले भनिन् । तामाङ दाजुभाइले ठूलो गुन लगाएको आमा कल्पनाले बताइन् ।

‘सन्तानको माया कस्तो हुँदो रहेछ भन्ने कुरा मैले त्यही दिन थाहा पाएँ, भगवान्ले हात थापिदिनुभयो,’ उनले भनिन् । घटना थाहा पाएपछि दुबईमा रहेका पति फोनमा धेरैबेर रोएको उनले बताइन् ।

बेसीसहरबाट गाउँ जाँदै गर्दा मस्र्याङ्दी पुलछेउ सेना र प्रहरी साथै मानिसको भीड तामाङ दाजुभाइले देखेका थिए । एउटा मान्छे नदीमा बीचमा डुब्नै लागेको देखेपछि भाइ फुर्वा हत्तपत्त नदीमा हामफाले ।

भाइलाई डोरी दिएर त्यसैको सहायताले प्रतीकलाई किनारमा निकालेको पेम्बाले बताए । ‘मान्छेलाई बचाउनुपर्छ भन्ने लाग्यो, कसरी गएँ, आफैंलाई भन्न गाह्रो छ,’ फुर्वाले भने ।

त्यतिबेला बालकको अनुहार फुलेको, नीलो भइसकेको र अहिलेको अवस्था चिन्नै नसकिएको तामाङ दाजुभाइले बताए । मस्र्याङ्दी किनारमा बस्तुभाउ चराउने, माछा मार्ने, पौडी खेल्ने गर्दै आएका उनीहरूले ज्यान बचाउन सकेकोमा खुसी व्यक्त गरे ।

घटनाको दिन तीनजना साथीसहित प्रतीक बेंसीसहर १, उदीपुरमा फलिया साँघुस्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा पौडी खेल्न गएका थिए ।

पौडी खेल्दा बगेका प्रतीकलाई तामाङ दाजुभाइले बचाए भने अन्य दुई जनाको बेलैमा उद्धार हुन सकेन । बेंसीसहर ६, मकैडाँडाका १५ वर्षीय योगेन्द्र रिमालको शव एक सातापछि फेला परेको थियो ।

मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानी घर भई मामाघर मकैडाँडा बसेर पढ्दै आएका १६ वर्षीय अजित थापाको अवस्था अझै अज्ञात छ । सँगै गए पनि पौडी खेल्न नपसेका मकैडाँडाकै सुमन रिमाललाई घटनाको दिन सम्झँदा अझै नरमाइलो लाग्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com